काठमाडौं । भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा हालसम्म पाँच सय ३४ जनाले उपयोग गरेका छन् । बस्नयोग्य आवासीय घर नै नभएकालाई मात्र उपलब्ध गराउने यस कर्जा हालसम्म २२ वटा बैंक तथा वित्तीय संस्था मार्फत पाँच सय ३४ जनाले उपयोग गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । राष्ट्र बैंकका प्रवक्ता पौडेलका अनुसार पाँच सय ३४ जना भूकम्पपीडितले ९४ करोड २६ लाख रुपैयाँ उपयोग गरिरहेका छन् । राष्ट्र बैंकले भूकम्पपीडितलाई व्यक्तिगत आवास निर्मााणको लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि २०७२ को बुँदा नम्बर दुुर्ई र आठलाई संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको थियो । व्यवस्थाअनुुसार भूकम्पले क्षतिग्रस्त आवासीय घर साविकको गाउँ विकास समितिमा भए सोही गाविसभित्रै, नगरपालिका भए सम्बन्धित वडाभित्रै आवास निर्माण गर्नको लागि मात्र पुनर्कर्जा उपलब्ध हुने जनाएको छ । तर क्षतिग्रस्त स्थान बस्नयोग्य नभएको प्रमाण सरकारको आधिकारिक निकायबाट प्राप्त भएको खण्डमा भने अर्को स्थान वा अर्को जिल्लामा आवासीय घर निर्माणको लागि समेत कार्यविधिअनुसार पुनर्कर्जा दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यसको लागि भूकम्पपीडित भई कुनै पनि आवासीय घर नभएको भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रमाण पेस गर्नुुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कति रुपैयाँसम्म पाइन्छ सहुलियत कर्जा ?
राष्ट्र बैंकले अघिल्लो वर्षको वैशाख १२ गतेको भूकम्पमा घरवारविहीन भएका जनताको पुनर्वासको लागि काठमाडौं उपत्यकाभित्र २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो । यसको लागि पुनर्कर्जा माग गर्ने सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंकले शून्य ब्याजदरमा पुनर्कर्जा दिने र त्यसलाई बैंकहरुले दुुई प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्ने व्यवस्था रहेको छ ।
कुन–कुन बैंकले दिन्छन् यो कर्जा ?
भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा १९ वटा वाणिज्य बैंक र ३ वटा फाइनान्स कम्पनीहरुले उपलब्ध गराउँदै आएको राष्ट्र बैंकको प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार निम्न वाणिज्य बैंकहरुले यो कर्जा उपलब्ध गराउँछन् ।
१. नेपाल बैंक लिमिटेड २. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ३. कृषि विकास बैंक ४. नविल बैंक ५. एभरेष्ट बैंक ६. नेपाल बंगलादेश बैंक ७. बैंक अफ काठमाण्डू ८. एनसीसी बैंक ९. माछापुच्छ«े बैंक १०. एनआईसी एशिया बैंक ११. कुमारी बैंक १२. सिद्धार्थ बैंक १३. सिटिजन्स बैंक इन्टरनेसनल १४. प्राइम कमर्शीयल बैंक १५. एनएमबी बैंक १६. प्रभु बैंक १७. मेगा बैंक १८. सिभिल बैंक १९. सानिमा बैंक
पुनर्कर्जा दिने फाइनान्स कम्पनीहरु १. सेन्ट्रल फाइनान्स २. गुडविल फाइनान्स ३. भक्तपुर फाइनान्स
कर्जा लिन के–के चाहिन्छ ?
भूकम्पपीडित परिचय पत्र, भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएको व्यहोरा खुल्ने प्रमाणिकरण, भूकम्पपीडित भएको कारण पास शुल्कमा छुट पाएको खुल्नेगरी नगरपालिकाको छाप लगाइएको पास भएको नक्सा वा सो छुट प्राप्त गरेको सम्बन्धी अन्य कागजात, कर्जा सुविधा उपयोग गर्न चाहने व्यक्तिको पारिवारिक विवरण, भूकम्पपीडित वा निजको घरपरिवारको नाममा सम्बन्धीत गाउपालिका वा नगरपालिका भित्र घर नभएको सम्बन्धमा गाउपालिका/नगरपालिकाको प्रमाणिकरण,नेपाल अधिराज्यभित्रमा आफ्नो र परिवारको नाममा घर नभएको सम्बन्धमा भूकम्पपीडितको स्वघोषणा, आदि ।
प्रतिक्रिया