राजधानीको भृकुटीमण्डपमा माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०५:४३

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो हुने भएको छ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो।

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेसनलले मेलाको आयोजना गर्न लागेको हो।

सो अवसरमा बैंकिङ एक्स्पो कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ चेतना जगाउनका लागि एक्स्पोको आयोजना गर्न लागिएको बताए।म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थी तथा व्यवसाय बढाउन चाहने उद्यमीलाई एक्स्पो लक्षित रहेको उनले बताए।

सो अवसरमा नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत शम्भुनाथ ढुंगानाले वित्तीय साक्षरता, वित्तीय पहुँच र बीमा पहुँचमा मुलुक पछाडि परिरहेको अवस्थामा हुन लागेको एक्स्पोलेसूचना प्रवाहमा ठूलो मद्दत पुग्ने बताए।

नेपाल राष्ट्र बैंकले नोटको जतन गर्नुपर्ने, हुण्डीको प्रयोग गर्न नहुने, बचत गर्ने बानी बसाल्नुपर्ने, बचत गरेको रकम बैंकिङ च्यानलमा राख्नुपर्ने लगायतका नाराहरु उठाउँदै आएको जानकारी दिँदै ढुंगानाले राष्ट्र बैंकको प्रयासलाई बैंकिङ एक्स्पोले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

त्यस्तै बीमा समितिका निर्देशक राजु रमण पौडेलले बीमाको ८ प्रतिशतको दायरालाई फराकिलो बनाउन बीमा चेतनाको आवश्यकता रहेको भन्दै सो आवश्यकता पूरा गर्न बैंकिङ एक्स्पोले मद्दत पुर्याउने बताए। बीमालाई विक्री वस्तु नभई खरिद वस्तु बनाउनुपर्ने बताउँदै उनले बीमाको महत्व र आवश्यकताबारे सर्वसाधारणलाई बुझाउन एक्स्पो महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य एवम् प्रभु बैंकका सीईओ अशोक शेरचनले अर्थतन्त्रलाई चलायमान बनाइराख्न कुनै एक संस्थाले मात्र नभएर बैंक, निजी क्षेत्र एवम् सरकारले समेत यस्तो जागरणमूलक कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने धारणा राखे। बैंकिङ एक्स्पोले उद्यमी कसरी बन्ने, गाउँगाउँमा पुगेका बैंकहरुको उपयोग कसरी गर्ने लगायतका अत्यावश्यकीय जानकारी दिने उनले बताए।

डेभलपमेन्ट बैैंकर्स संघका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका सीईओ भरतराज ढकालले बैंकहरु धनीहरुका लागि मात्रै हो भन्ने विद्यमान मानसिकतालाई परिवर्तन गर्न एक्स्पो सहयोगी सावित हुने उनले बताए।

ढकालले एक्स्पोबाट कर्जा, व्याजदर लगायतका विषयमा सूचना लिएर उद्यमी बन्न सकिने भएकाले अवसर नगुमाउन आग्रह गरे।

माइक्रोफाइनान्स बैंकर्स संघका कार्यसमिति सदस्य एवम् फस्ट माइक्रोफाइनान्सका सिईओ भेषराज पन्थीले माइक्रोफाइनान्सहरु दुर्गम भेगसम्म पुगेको बताउँदै ग्रामीण क्षेत्रको जनस्तर विकासमा माइक्रोफाइनान्सले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

मर्चेन्ट बैंकर्स एसोसिएसनका निवर्तमान अध्यक्ष एवम् रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ प्रविणरमण पराजुलीले बीमा शिक्षा र वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि बैंकिङ एक्स्पो अपरिहार्य रहेको बताए।

माघ १९ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले एक्स्पोको उद्घाटन गर्ने बताइएको छ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतको सूचनामूलक स्टलहरु रहने छन् भने दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी संचालन हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१