कतै तपाईको बच्चामा कब्जियत त छैन ? (लक्षण, कारण र उपचारसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७४, मंगलवार ०९:४४

के हो कब्जियत ?

मानिसलाई दैनिक जीबनमा समयमै दिसा नभएर गाह्रो हुने  वा कडा प्रकारको दिसा आएर गार्हो हुने  अवस्थालाई कब्जियत वा दिसा गोटा पर्नु भन्न सकिन्छ । यसरी आउने कडा दिसामा साधारणतया भन्दा पानीको मात्रा धेरै कम हुन्छ । कब्जियतको कारणले दैनिक कार्य नै चौपट पार्दछ। कब्जियतले धेरै दुख दिएपछि वा उपचार समयमै नगरिएमा बच्चाले कट्टुमा दिसा चुहाउन थाल्दछ।

प्रत्येक मानिसको बिन्नाभिन्नै पाचन शैली हुन्छ। दिनको २-३ पटक देखि केहि दिनमा बिराएर मानिसले दिसा गर्ने गर्दछन। यदि कुनै मानिसले सामान्यता भईराखेको भन्दा कम मात्रामा दिसा गर्न थाल्यो भने, कब्जियत भएको भन्ने बुझ्नु पर्दछ।  कब्जियत केहि दिन, हप्ता देखि केहि महिना सम्म रहन्छ। प्राय बच्चालाई कब्जियत दिसा गर्ने तालिम दिने बेला, बिद्यालय जान सुरु गर्दा, घुम्न निस्कदा, खाना परिबर्तन गर्दा वा परिवारमा नया सदस्यको जन्म भएको खण्डमा हुने गर्दछ।

बच्चामा देखिने कब्जियतको लक्षण के के हुन् ?

  • दिसा साह्रो र गोटा परेको हुन्छ
  • ३ दिनदेखि बढी समय दिसा हुदैन
  • दिसा गर्दा बच्चालाई पिडा हुन्छ
  • बच्चाले लामो समय शौचालयमा बिताउछ
  • कडा दिसाले गर्दा मलद्वारमा च्यातिएर रगत आउन सक्छ
  • पेट नराम्ररी दुख्छ, दिसा गरेपछि पेटको दुखाई सन्चो हुन्छ
  • बच्चाले कट्टुमा थाहा नपाई  दिसा चुहाउछ

सामान्यता बच्चाले कति पटक दिसा गर्नु पर्दछ ?

  • दिनको ३ पटक देखि २ दिनमा १ पटक सामान्य बच्चाले दिसा गर्नु पर्दछ।
  • दुध बाहेक सामान्य खाना खान थालेपछि बयस्क जस्तै दिसाको तालिका हुन थाल्दछ
  • प्रत्येक ४-५ दिनमा दिसा गर्ने बच्चालाई बढि पिडादायक हुन्छ
  • सामान्यता दिसा गर्दा पिडा हुनु हुदैन
  • बच्चाले पिडाको गुनासो गर्ने बित्तिकै उपचार शुरु गर्नु पर्दछ।
  • १ महिना माथिको स्तनपान गर्ने बच्चाले ४-७ दिनमा दिसा गर्छ र दिसा गर्ने बेला कुनै दुखाइ बिना कमलो र धेरै मात्रामा दिसा निकाल्छ भने त्यो सामान्य मान्नु पर्दछ।
  • सुतेर दिसा गर्दा बच्चाले कन्नु सामान्य हो।  बसेर गर्दा जति सजिलो हुन्छ सुतेर त्येतिनै गाह्रो हुन्छ।
  • पिडा बिनाको कसिलो र सुक्खा दिसा पनि सामान्य मानिन्छ।

कब्जियतको कारण के हो  ?

प्रयाजसो बच्चालाई खाना नमिलेर र दैनिकी नमिलेर कब्जियत हुने गर्दछ। प्रमुख कारणहरु निम्न हुन:

  • दुधको बढी प्रयोग  : दुध वा दुध बाट बनेको चीज बढी मात्रामा खानाले कब्जियत गर्दछ। दुधले दिसालाई कसिलो र कडा बनाउदछ।
  • फाइबर युक्त खानाको कम प्रयोग : फाइबर तरकारी, फलफुल, अन्नमा पाईन्छ। फाइबरले दिसालाई कमलो, धेरै मात्राको र सजिलै बाहिर निस्कन सक्ने बनाउदछ। फाइबर कम भएको खण्डमा दिसा साह्रो र कम मात्राको बन्दछ।
  • खानामा पौस्टिक मात्राको असन्तुलन : माछा मासु, अण्डा र चिनीजन्य पदार्थको बढी प्रयोग र प्राकृतिक खानाको कम प्रयोग भएमा कब्जियत हुन्छ।
  • तयारी खानाको बढी प्रयोग : अभिभावकको वेस्तता वा बजारिया खानाको मिठासले आजकल बच्चाहरुमा बाहिरी तयारी खाना बढी प्रयोग गर्न थालेका छन। कहिलेकाही यस्तो खाना खादा त केहि नहोला तर प्राय सधै खानेलाई  भने पेटको दुखाई  साथै कब्जियतले दुख दिन थाल्दछ।
  • तरल पदार्थको कम खुवाई : तरल पदार्थ कम खानाले दिसा सुक्खा र साह्रो बन्दछ।
  • कम ब्यायाम : पहिलेको तुलनामा अचेलका बच्चाहरु बाहिर गएर खेल्न छाडेका छन्।  ब्यायाम कम गर्ने वा घर बाहिरको खेलकुद कम खेल्ने बच्चामा कब्जियत बढी पाईएको छ।
  • दिसा नगर्ने बानी : यदि कुनै कारण (खेलकुद , पढाई , डर ) बच्चाको दिसा रोकेर राख्ने बानि परेको छ भने यसले कालान्तरमा कब्जियतको रुप लिन्छ।
  • दिसा च्यापेर राख्ने अवस्था : बिद्यालय वा कुनै सार्बजनिक सौचालयमा बानि नपरेको वा फोहोर कारणले दिसा गर्न गारो भएको अवस्थामा बच्चाले दिसा च्यापेर राख्ने गर्दछ र दिसा साह्रो हुदै गोटा पर्दै जान्छ। १-२-३ दिन गर्दा गर्दै यो कब्जियतमा परिणत हुन्छ।
  • आन्द्राको कम गतिसिलता : कुनै बच्चाको शरीरमा आन्द्राको गति ज्यादै कम हुन्छ।  यो बंग्शानुगत हुन सक्दछ।
  • अन्य :
    • पास्नी पछि स्तनपानबाट अरु दुध वा ठोस पदार्थमा खान सुरु गराउदा केहि दिन कब्जियत देखिन्छ।
    • बच्चा बिरामी भई बान्ता,ज्वरो ,पखाला लागी शरीर निर्जलिकरण भएमा
    • कुनै औषधिको प्रयोग भएमा जस्तै : मर्फिन
    • कुनै रोग लागेमा जस्तै : हाइपोथाइरोइडिजम , हर्सप्रंग
    • १ बर्ष भन्दा मुनिको बच्चाले मह खाएमा

उपचार बिधि :

लक्ष :  

  • थुप्रिएर बसेको दिसालाई पूर्ण रुपमा बाहिर निकाल्ने
  • दिनहु पेट खलास पारेर दिसा बाहिर निकाल्ने
  • दिनहु शौच बस्ने बानि लगाउने
  • फाइबर युक्त आहारको र तरल पदार्थ सेवन गर्ने बानि बसाल्ने

प्राय बच्चामा खाना र दैनिक जिबनशैली परिबर्तन गर्दैमा कब्जियत ठिक हुन्छ। एक पटक कब्जियत सुरु भएपछि यो निको हुन लामो समय लाग्ने भएकोले  यसको उपचार गर्न परिवार र बिद्यालयबाट धैर्यता, सहकार्य र प्रतिबद्धताको आवश्यकता पर्दछ।

१ बर्ष भन्दा मुनिको बच्चालाई आहार :

२ महिना भन्दा मुनिको बच्चामा कब्जियत हुदैन, यदि छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ। २-४ महिनाको बच्चामा कब्जियत छ भने ३० मिलि स्याउ, आल्चा वा नास्पातिको जुस दिनको १-२ पटक खुवाउन सकिन्छ।४ महिना पुगेको बच्चालाई लिटोमा फाइबरयुक्त खाना घोलेर खुवाउन सकिन्छ।


१ बर्ष भन्दा माथिको बच्चालाई दिईने आहार 

बच्चालाई प्रशस्त पानी पिउन दिनु पर्दछ। दिनहु तरकारी र फलफुल पर्याप्त मात्रामा दिईनु  पर्दछ। बच्चालाई अड्किने खालको फलफुल बाट बचाउनु पर्दछ।  फाइबर युक्त खाना जस्तै गहु/मकै को चोकर बढी मात्रामा खुवाउनु पर्छ। ४ बर्ष भन्दा माथिको बच्चामा पोलेको, भुटेको वा ऊसिनेको मकै दिनहु खुवाउन सकिन्छ।

कब्जियत गराउने खानेकुराहरु जस्तै भात, पाउरोटी, बजारको तयारी खाना बच्चालाई कम खुवाउनु पर्दछ।  बच्चाको खाना परिबर्तन गर्दा परिवारमा सबैले खाने खाना नै परिवर्तन गर्नु जरुरि छ।

शौचको तालिम :

बच्चालाई हरेकपल्ट खाना खाए पछि दिनको २-३ पटक शौचालय जाने तालिम दिनु पर्दछ। दिसा गरे पनि नगरेपनि ५-७ मिनेट शौचालय वा दिसा गर्ने कोपारामा राख्नु पर्दछ जसले गर्दा दिसा गर्ने बानि बस्दछ।

शौचालयमा प्रयोग हुने आधुनिक कमबोट भन्दा प्राचिन शैलीको थुचूक्क बस्न मिल्ने प्यानमा बसाल्दा दिसा खलास हुन्छ। शौचको लागि बस्दा जहिले पनि घुडालाई खुम्च्याइ छातीमा छुवाउनु पर्दछ र कम्मर भन्दा घुडा माथि हुन पर्दछ।  शौचको तालिम दिदा बच्चाले दिसा निकाल्न गाह्रो मान्छ वा दिसा अड्काएर राख्छ भने पहिले कब्जियतको उपचार गर्नु पर्दछ। एउटा भाडोमा मनतातो पानी  राखेर त्यस भित्र बच्चालाई बसाउन सकिन्छ। यसबाहेक तातोपानी कपासमा हालेर मलद्वारमा प्रयोग गर्न सकिन्छ।

औषधिको प्रयोग :

यदि खाना परिबर्तन गर्दा वा शौचको तालिम दिदा पनि कब्जियत सुधार भएन भने औषधिको प्रयोग गरिनु पर्दछ। कब्जियतको बिरामीलाई दिसा पातलो गर्ने औषधि लाभदायक हुन्छ। पहिलो पटक मुखबाट खान मिल्ने औषधि प्रयोग गर्दा राम्रो हुन्छ। मलद्वारबाट हाल्ने औषधि हाल्नु परेमा चिकित्सकको निगरानीमा हाल्नु पर्दछ। धेरै जसो बच्चामा उपचार लामो समय सम्म गर्नु पर्ने हुन्छ ।

यदि सबै प्रयोग गर्दा पनि सफल हुन सकेन भने अस्पतालमा भर्ना गरेर  मलद्वारको सफाई (rectal wash ) गर्नु पर्दछ।

चिकित्सकको सल्लाह कहिले लिने ?

  • यदि बच्चाको दिसा गर्ने समय बढ्दै गएको छ भने
  • यदि दिसामा रगत देखिएको छ भने
  • यदि ज्वरो आएको छ भने
  • यदि छिन छिनमा पिसाब लाग्छ , पिसाब गर्दा दुख्छ भने
  • लुगामा दिसा चुहाउन थालेको छ भने

तुरुन्त अस्पताल कहिले दौडाउने ?

  • यदि बच्चालाई बढीनै दुखाइ छ भने
  • बच्चाले बान्ता गर्न थालेको छ, बान्ता हरियो छ भने
  • बच्चाको पेट फुलेको छ भने
  • बच्चा २ महिना भन्दा मुनिको छ भने
  • १२ महिना भन्दा मुनिको बच्चाले चुस्न छोडेको छ भने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१