रुपन्देही । मंगलबार साँझ रेसुङ्गा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि उब्जिएको विवादमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति भएको छ। डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित बनेपछि अस्पताल प्रशासनले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र छानबिनपछि आउने प्रतिवेदनका आधारमा डाक्टरलाई कारबाही गर्नुपरे गर्ने सहमति जनाएको हो।
मृतकका आफन्त र अस्पताल सञ्चालक समितिबीचको छलफलमा १० लाख क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले मृतकको शव उठाएका छन्।
दाँत र गिजाको समस्या भएपछि बिमारी लिएर आएका गुल्मी मालिका गाउँपालिका वडा नम्वर ६, अर्जैका ५३ वर्षीय शिवलला अर्यालको गालाको शल्यक्रिया असफल हुँदा मंगलबार साँझ ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको थियो।
दिउँसो २ बजे अस्पतालमा आइपुगेका अर्यालको गिजामा जमेको पिप निकाल्न शल्यक्रिया गर्नुपर्ने भन्दै बेहोस पारिएको थियो।
शल्यक्रिया सकेपछि पनि उनको होस खुल्न नसकेर मृत्यु भएको अस्पतालले जनाएको छ। घटनापछि सामान्य अवस्थामा आएको बिरामीको मृत्यु भएको भन्दै मंगलबार साँझदेखि बुधबार बिहानसम्मै मृतकका आफन्तले अस्पतालमा नाराबाजी गर्नुका साथै प्रहरीसँग झडपसमेत भएको थियो। नाराबाजी सुरु भएपछि प्रहरीले शल्यक्रियामा संलग्न डाक्टरहरुलाई स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालयभित्र लगेको थियो। त्यस क्रममा मृतकका आफन्तले प्रहरीको गाडी समेत तोडफोड गरेका थिए।
घटनाको छानबिन हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने मागसहित मृतकका आफन्त र स्थानीयबासीले जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको रोहबरमा वार्ता भएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विवेदी, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, अस्पताल सञ्चालक समितिका पदाधिकारी र पीडित पक्षबीचको छलफलपछि क्षतिपूर्ति र छानबिन गर्ने विषयमा सहमति भएको हो।
मालिका गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीका अनुसार मृतककी पत्नी अपांग छिन्। आर्थिक अवस्था कमजोर रहेका अर्यालको एक छोरा र ५ छोरी छन्।
प्रतिक्रिया