अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनले यसपालिको फ्लुसँग सम्बन्धित श्वासप्रश्वासबाट हुनसक्ने मृत्युदर गत वर्षभन्दा बढ्ने प्रक्षेपण गरेको छ ।
फ्लुको जटिलताबाट विश्वमा हरेक वर्ष अनुमानित पाँच लाखसम्म मानिसको मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ । यसपालि भने साढे ६ लाखको हाराहारीमा मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।
यसको ठूलो हिस्सा अति कम विकसित अफ्रिकी र एसियाली देशहरु हुनसक्ने बताइएको छ । एसियामा नेपाल पनि अति कम विकशित देश हो । त्यसैले, हामी पनि कडा फ्लुको उच्च जोखिममा पर्नेछौं ।
किन कडा हुने अनुमान गरियो ?
हुन त, हरेक सिजनमा फ्लुको जिनमा परिवर्तन हुने भएकाले कति कडा हुन्छ भनेर सही भविष्यवाणी गर्न सकिने अवस्था छैन । तर, विभिन्न अवस्थाको अध्ययन गरेर अनुमान भने लगाउने गरिन्छ । यस वर्ष अस्ट्रेलियामा सिजनल फ्लु ‘एच३एन२’को कारणले ५० वर्षयताकै प्रभाव पारेको छ ।
त्यसबाट संक्रमितको संख्या गत वर्षको भन्दा अढाइ गुणा बढी रहेको तथ्यांकले देखाउँछ । यसरी गत वर्षभन्दा बढी मानिस संक्रमित हुनुको उपयुक्त कारण थाहा पाउन अझ समय लाग्छ । अमेरिकी वैज्ञानिकहरु भने कडा फ्लुको सम्भावना आगामी दिनमा अमेरिकामा पनि देखिन सक्ने बताइरहेका छन् ।
बेलायतमा पनि यस वर्ष केही समययताकै नराम्रो फ्लु देखिन सक्ने चेतावनी दिइएको छ ।
यसैबीच, फ्लुविरुद्धको खोपको प्रभावकारिता पनि यस वर्ष अहिलेसम्मकै न्यून रहेको देखिएको छ । पहिले खोपको प्रभावकारिता झण्डै ४० देखि ६० प्रतिशत रहँदै आएकामा यो वर्ष झरेर १० प्रतिशतमा पुगेको देखिएको छ ।
यो नतिजाले थप बहस निम्त्याएको छ । यो नतिजा ‘एच३एन२’ फ्लुका लागि मात्र हो या स्वाइन फ्लु भनिने ‘एच१एन१’विरुद्ध पनि उस्तै प्रभावहीन छ भनेर प्रष्ट नतिजा आएको छैन ।
भारतमा ‘एच१एन१’ फ्लु फैलिँदै गएको देखिन्छ । नेपालमा अहिले इन्फ्लुएन्जा ‘एच३एन२’, ‘एच१एन१’ तथा ‘इन्फ्लुएन्जा बी’ फ्लु भाइरस देखा परेका छन् ।
तसर्थ, नेपालमा यीमध्ये सबैभन्दा बढी कुन प्रजातिको फ्लु बढ्दै जानेछ भनेर अनुमान लगाउन अझै केही समय पर्खिनु पर्नेछ । ‘एच१एन१’अन्तर्गत् पनि भारतमा पहिलेदेखि ‘क्यालिफोर्निया स्ट्रेङ’ देखा परेको थियो । गत वर्षदेखि ‘मचिगन स्ट्रेङ’ देखा परेको छ ।
नेपालमा कुन स्ट्रेङले संक्रमण गरिरहेको छ भनेर अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन । तसर्थ, नेपालमा उपलब्ध खोप पनि के कति प्रभावकारी हुनेछ भनेर अनुमान गर्न सकिँदैन ।
यसमा कसैले अनुसन्धान गरेको भए सार्वजनिक गरेर कुन खोप प्रयोग गर्ने भन्ने स्पष्ट हुने थियो । ‘एच३एन२’ फ्लु बढी देखा परेमा अस्ट्रेलियामा देखिएको जस्तै अवस्था नेपालमा पनि सिर्जना नहोला भन्न सकिँदैन ।
सावधानीका उपायहरु ?
हालसम्मका अनुभवलाई केलाएर हेर्ने हो भने सबैभन्दा बढी दीर्घ रोग भएकाहरु खासगरी श्वासप्रश्वास र दमका बिरामीले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
गत मनसुन फ्लुको समयमा मृत्यु हुनेहरुमा अधिकांश श्वासप्रश्वाससँग सम्बन्धित बिरामी नै थिए । र, त्यसमा वृद्धवृद्धाहरु पनि थिए ।
यसर्थ, त्यस्ता मानिसमा सामान्य रुघाखोकीका लक्षण देखिएमा मात्र पनि तुरुन्त चिकित्सककोमा सम्पर्क गर्नु पर्छ । त्यस्ता व्यक्तिमा निमोनिया छिटो विकसित हुने गर्छ ।
घर बाहिर रहँदा हातलाई नाक, मुख र आँखामा घरि-घरि लग्नु हुँदैन । घरबाहिरबाट फर्केपछि घरको सरसामान छुनुअघि साबुनपानीले राम्ररी हात धुनु पर्छ । आफू संक्रमित भएमा घरमै बसेर झोलिलो खानेकुरा खाएर स्वास्थ्य लाभ लिन सकिन्छ । तर, श्वास प्रश्वासमा समस्या देखिए तुरुन्त चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
यी उपायहरु सधैं अपनाउन गाह्रो हुने र कतिपय अवस्थामा व्यावहारिक नहुन पनि सक्छ । तसर्थ, खोपको प्रभावकारिता कम देखिए पनि लगाउनु उत्तम हुन्छ ।
नेपाली समाजमा अहिले पनि रुघाखोकीलाई अति नै सामान्य रोगको दर्जा दिएको देखिन्छ । तर, गत मनसुनमा कम्तिमा १२ जनामा फ्लुबाट सिर्जित समस्याका कारण मृत्युवरण गर्नुपरेको तथ्यलाई भुल्नु हुँदैन । त्यसैले, फ्लुलाई नजरअन्दाज नगरौं ।
(डा. शेरबहादुर पुन, संयोजक-क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल)
प्रतिक्रिया