हुन्डी कारोबारमा मन्दी आएपछि ठगी धन्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७४, सोमबार ०४:५१

काठमाडौं । अवैध हुन्डी कारोबारमा मन्दी आउन थालेपछि कारोबारीले ठगी धन्दा सुरु गर्न थालेका छन् । विराटनगरमा लामो समयदेखि अवैध हुन्डी कारोबार गरिरहेका विराटनगरका अनुप सेठियाको समूह पक्राउ परेपछि ठगी धन्दाको रहस्य खुलेको हो ।

भारतमा जिएसटी लागू भएपछि हुन्डी कारोबार सुक्दै
भारतमा सरकारले जिएसटी (गुड एन्ड सर्भिस ट्याक्स) लागू गरेपछि नेपालबाट भारतमा हुन्डी कारोबार गर्नेहरू खुम्चिन बाध्य भएका थिए । जिसएटी लागू भएसँगै आफूखुसी बिल बनाएर मालबस्तु आयात गर्न नपाउने भएपछि विराटनगरमा भारतबाट आयात हुने व्यापारिक सामान आउन कम भएको थियो । जिएसटीका कारण सबै सामान बैंकमार्फत सक्कली बिल बनाएर ल्याउनुपर्ने भएपछि अवैध रूपमा हुँदै आएको हुन्डी कारोबार गर्नेहरू असमञ्जसमा परेका थिए । सोही कारण हुन्डी कारोबारमा संलग्नमध्ये कसैले अरू कारोबारमा हात हालेका थिए भने कसैले ठगी धन्दा सुरु गरेका थिए ।

भाइबरमा म्यासेज पठाएर हुन्डी कारोबार
पक्राउ परेका सेठियाले सहयोगी कर्मचारी र एजेन्ट नियुक्त गरेर अन्तर्राष्ट्रिय नेटवर्कको सहयोगमा मोबाइलमा फोन गर्दै भाइबरमा म्यासेज पठाएर ठगी गर्न सुरु गरेका थिए । विराटनगरमा भन्सार छली गरेर भारतलगायत विभिन्न देशबाट ट्रेडिङका मालबस्तु आयात गर्ने व्यापारीले हुन्डी कारोबारलाई बढावा दिएका थिए । तर, जिएसटी लागू भएपछि अनिवार्य सबै मालबस्तुको सक्कली बिल हुनैपर्ने भएकाले भन्सार छली गर्नेहरू नियन्त्रणमा आइसकेका थिए । हुन्डी कारोबार गर्नेहरूले भारुको कालोबजारी पनि चलाउने गरेका थिए । तर, जिएसटीले गर्दा हुन्डीसँगै भारु मुद्राको कालोबजारीमा पनि प्रत्यक्ष असर परेको थियो । भारतमा जिएसटी लागू भएपछि विराटनगरमा टे«डिङका मालबस्तु आयातमा ८० प्रतिशत कमी आएको छ ।

प्रहरीको फन्दामा अवैध हुन्डी कारोबारी
१ मंसिरमा विराटनगरबाट मोरङ प्रहरीले भाइबरबाट चिट्ठा परेको भनी प्रलोभन देखाएर सर्वसाधारणलाई ठगेको आरोपमा विरानगरका हुन्डी कारोबारी अनुपचन्द सेठिया, विमलकुमार चिरानीय र ललित सेठियालाई पक्राउ गरेको थियो । उनीहरूका सहयोगी विराटनगरका श्रवणकुमार विश्वास, सुनसरी दुहबी नगरपालिकाका बलराम विश्वास र भारत बिहारको दरभंगा सुन्दरपुरका पंकज कर्णलाई नगद ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका सेठियाले अवैध हुन्डी कारोबारबाट अकुत सम्पत्ति आर्जन गरेको प्रहरीको भनाइ छ । उनले विराटनगरस्थित मेनरोडमा सेठिया मार्केट निर्माण गरी त्यहीँ आफ्नो कार्यालयसमेत खोलेर हुन्डी कारोबार गर्दै आएका थिए ।

फेन्सी पसल सञ्चालन गर्दागर्दै हुन्डी कारोबार
करिब ४० वर्षअगाडि भारत राजस्थानको बिकानेरबाट विराटनगर आएका सेठियाले पहिले विराटनगरमै फेन्सी पसल सञ्चालन गरेका थिए । उनी पसल सञ्चालन गर्दागर्दै हुन्डीको अवैध कारोबारमा लागेका थिए । अवैध हुन्डीबाट प्रशस्त आम्दानी गर्दै आएका सेठियाको कारोबार भारतले जिएसटी लागू गरेपछि खुम्चिएको थियो । सोही कारण उनले भाइबरबाट म्यासेज पठाएर ठगी गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सेठिया पक्राउपछि सुस्ताउँदै अवैध हुन्डी कारोबारी
सेठिया पक्राउ परेपछि विराटनगरमा बसेर अवैध हुन्डी कारोबार गर्नेहरू त्रसित बनेका छन् । पक्राउ पर्ने डरले कसैले नेपाल छाडिसकेका छन् भने कोही कारोबार रोकेर बस्न थालेका छन् । विराटनगरमा मुन्दडा, लुनिया, जोशी, जैन र राठी थरका केही व्यक्ति अवैध मुद्रा सटही, अवैध हुन्डी र मिटर ब्याजको समेत कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । हाल मोरङका एसपी अरुण बिसीले ठगी आरोपमा हुन्डी कारोबारी सेठियाको समूहलाई पक्राउ गरेपछि अन्य कारोबारी सुस्ताएका हुन् ।

सिआइबीबाट अनुसन्धान
प्रहरीले चिट्ठा ठगी आरोपमा पक्राउ गरेका अनुपचन्द सेठियालाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा दर्ता गराइने बताएको छ । त्यसका लागि मोरङ प्रहरीले सिआइबीबाट विज्ञ झिकाएर अनुसन्धान सुरु गरेको छ । मोरङका एसपी अरुण बिसीले विज्ञ झिकाएर अनुसन्धान सुरु गरिए पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गराउने टुंगो भने लागिनसकेको बताए । उनले भने, ‘ठगी मुद्दालाई नै बलियो बनाएर अदालत जाने तयारीमा छौँ । त्यसपछि अन्य विषयमा सोच्छौँ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१