फास्ट ट्र्याक निर्माण पूर्वतयारीका कामलाई तीव्रता दिँदै सेना,आयोजना तोकिएको समयमै सम्पन्न गर्ने सेनाको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७४, आईतवार ०८:२४

नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याक आयोजना निर्माण पूर्वतयारीका कामलाई तीव्रता दिएको छ । सो आयोजनाको १० वटा आधार शिविर (बेस क्याम्प) निर्माण गर्ने योजनाअनुसार पहिलो चरणमा ४ वटाको काम सम्पन्न हुन लागेको छ । मख्खुबेँसीस्थित शिविरको काम भने सम्पन्न गरेको छ । दोभान, लेनडाँडा, बुदुने र निजगढमा निर्माण भइरहेका शिविरको काम पनि सम्पन्न हुन लागेको आयोजना प्रमुख तथा सेनाको इन्जिनियरिङ विभाग प्रमुख योगेन्द्रबहादुर खाँडले जानकारी दिए । यसबाहेक दोस्रो चरणमा सानो खोकना, महादेव टार, देद्रे गाउँ, अँधेरी र कुलेखानी गरी पाँच स्थानमा शिविर निर्माण गर्ने सेनाले जानकारी दिएको छ ।

मख्खुबेँसी शिविर सबैभन्दा अगाडि सम्पन्न

फास्ट ट्र्याक आयोजनाका लागि आवश्यक पूर्वाधार संरचना निर्माणअन्तर्गत निर्माणाधीन शिविरमध्ये मख्खुबेसी शिविरको काम सम्पन्न भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको वडा नम्बर ८ मा निर्माण भएको शिविरको मंगलबार फास्ट ट्र्याक आयोजना निर्देशक समितिका अध्यक्ष तथा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले उद्घाटन गरे । करिब १ सय १० जना क्षमताको उक्त क्याम्पमा द्रुतमार्ग निर्माणका लागि आवश्यक जनशक्तिको वासस्थानका साथै अन्य भौतिक सामाग्रीसमेत भण्डारण गर्न सकिन्छ । यो शिविर समयभन्दा १० दिनअघि सम्पन्न भएको सेनाले जानकारी दिएको छ ।

तोकिएकै समयमा सम्पन्न गर्ने सेनाको प्रतिबद्धता

फास्ट ट्र्याक आयोजना निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले आयोजना समयमै सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे । ‘आयोजनाका लागि स्थानीय जनता, जनप्रतिनिधिलगायत सबै सरोकारवालाको साथ सहयोग आवश्यक पर्नेछ,’ उनले भने । सेनाले आयोजना निर्माणको व्यवस्थापकीय नेतृत्व लिने भए पनि आयोजनासँग जोडिएर आउने अन्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

आयोजनाका प्रमुख खाँडले राष्ट्रिय गौरव, रणनीतिक महत्वको आयोजना निर्माणबाट राजधानीलाई तराईसँग भौगालिक रूपमा मात्र नभएर सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक रूपमा पनि जोड्ने बताए । ‘नेपाली निर्माण व्यवसायीले गर्न सक्ने काम नेपाली व्यवसायीलाई र नसक्ने काम विदेशीलाई दिने गरी निर्माणको तयारी भइरहेको छ,’ उनले भने ।

त्यसबाहेक चार लेनको यस सडक आयोजना काम अधिकांश नेपाली सेनाले नै गर्नेछ । जसमा स्थानीयलाई समेत सहभागी गराउने सेनाको तयारी छ । ‘उच्च प्रविधियुक्त र कठिन कामका लागि अन्तर्राष्ट्रिय निर्माणकर्तालाई अघि बढाइनेछ,’ आयोजना प्रमुख खाँडले भने । आवश्यकताअनुसार इपिसी र अन्य निर्माण मोडेलमा पनि निर्माण कार्य गर्ने सेनाको भनाइ छ । यो सडक आयोजना एसियाली मापदण्डको हुने र त्यसका लागि चाँडै निर्माण थालिने तयारीमा सेना छ ।

यसअघि २१ वैशाख २०७४ मा सरकारले आयोजना सेनालाई निर्माण गर्न दिने निर्णय गरेको थियो । यसको शिलान्यास १४ जेट २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भएको थियो । यस आयोजनाको प्रारम्भिक ट्र्याक खोल्ने काम पनि २०६६ मा सेनाले थालेर २०६९ मा सम्पन्न गरेको थियो ।

मन्त्रालयदेखि जनप्रतिनिधि सहयोगी बन्ने वाचा

मख्खुबेँसीमा आयोजित शिविर उद्घाटन कार्यक्रममा रक्षा मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले सेनाले आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकारले स्रोतको ग्यारेन्टी गरेको र कुनै किसिमको पनि अभाव हुन नदिने गरी तयारी गरिएको छ,’ उनले भने । आयोजना निर्माणका लागि बजेटको अभाव कहिल्यै पनि हुन नदिने उनले बताए । देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भएकाले पनि आयोजनालाई सबै पक्षको सहयोग रहने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जहाँ ठूला समस्या आउँछन् त्यहाँ सेनाले समाधान गर्ने गरेको बताए । विगतमा पनि सेनाले विभिन्न क्षेत्रमा विकास निर्माणका काम गरेका कारण फास्ट ट्र्याक आयोजना निर्माणमा पनि सफल हुने उनले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले समग्र देश विकासका लागि फास्ट ट्र्याक आयोजना र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनैपर्ने बताए । ‘आयोजनाले पहाड र तराईलाई जोड्नुका साथै आर्थिक विकासका लागि महत्वपूर्ण छ,’ उनले भने । आयोजनाका लागि आवश्यक पूर्वतयारी गर्नका लागि पनि सेनाले छिटो काम गरेकोमा प्रशंसा गरे ।

त्यस्तै, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले आयोजना तोकिएको समयभन्दा पहिले नै सम्पन्न हुने बताए । साथै दक्षिणकाली र यसका छिमेकी गाउँपालिका आयोजना क्षेत्रमा पर्ने कुनै समस्या परेमा कुनै सर्तविना नै सहयोग गर्ने र आयोजनालाई सफल बनाउन लागिपर्न प्रतिबद्ध रहेको बताए ।

आयोजनामा सेनाले जिम्मेवारी लिएपछिका प्रगति

सेनाले हेभी इक्विप्मेन्ट, मेसिनरी र बन्दोबस्तीका सामान व्यवस्थापन (प्राप्त गर्ने) काम गरिरहेको छ । पहिलो चरणका पाँच ठाउँमा शिविर निर्माण सम्पन्न गर्न लागेको छ । त्यस्तै, दोस्रो चरणमा थप पाँचवटा निर्माण गर्ने तयारी भइरहेको छ । सबै आधार शिविर पुग्ने पहुँच मार्ग निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै, पहुँच मार्गलाई चौडा बनाउन थप कटिङको काम गरिरहेको छ । जग्गाको मुआब्जा वितरण गर्ने काम पनि भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१