३ लाख मालासँगै पूजाका सामान र सुख्खा फलफूलको आयात बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७४, शनिबार ०५:११

काठमाडौं ।

यस वर्ष तिहारमा झण्डै ३ लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित माला भाइटीकाका लागि मात्र हो ।

तिहारमा फूलको विशेष महत्व भएकाले भाइटीकामा लगभग राजधानीमा १५ लाख वटा माला खपत हुने फ्लोरीकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।

तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुने गरेको छ सबैभन्दा धेरै सयपत्री फूलका माला ११ लाख वटा, ३ लाख वटा मखमली फूलको र १ लाख वटा गोदावरी फूलको माला खपत हुन्छ । यस करिब ३० प्रतिशत फूलको माला भारतबाट आयात गरिएको छ ।

नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन ।

नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७२–७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ ।

करिब ६७८ फूल व्यवसायी यसमा संलग्न छन् । लगभग २ हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा फूलखेतीबाट लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७२–७३ मा १ अर्ब ५२ करोडभन्दा बढी फूलको कारोबार भएको थियो ।  गत बर्ष नेपालबाट ३ करोड २५ लाख रुपैया बराबरको फूल निर्यात भएको र आयात ९ करोडको भएको एशोसिएसनले जनाएको छ ।

पूजाका सामान र सुख्खा फलफूलको आयातमा दोब्बर वृद्धि

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज नाकाबाट गत वर्षको तिहारमा भन्दा यस वर्ष पूजाका सामान तथा सुख्खा फलफूलको आयातमा दोब्बर वृद्धि भएको छ ।

तिहारलाई लक्षित गर्दै चालू आर्थिक वर्षको तिहारका लागि वीरगञ्ज भन्सारबाट ५८ करोड ६० लाख ४९ हजार मुल्य बराबरको समान नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको प्रमुख सेवन्त पोख्रेलले बताउनुभयो ।

गत आर्थिक वर्ष ०७३–०७४ मा ३२ करोड २ लाख ६८ हजार मूल्य बराबरको पूजा सामग्री, टीका तथा फलफूल नेपाल भित्रिएको थियो ।

गत वर्षभन्दा यस वर्ष सुख्खा फलफूल काजु, बदाम, ओखर, पिस्ता, सुपारी, किसमिस, दालचिनी, ल्वाङ्ग आयातमा दोब्बरले बृद्धि भएको र सप्तरंङ्गी टीकाहरुको आयातमा समेत बृद्धि भएको प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया