रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७४, आईतवार ०५:५२

रसुवा ।  यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो।

दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ।

चीनको तिब्बतस्थित ल्हासामा भेडाच्याङ्ग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायी बताउँछन्।

‘गत वर्ष करिब १३ हजार पर्ने भेडाच्याङ्ग्रा यो वर्ष २३ हजार पुगेको छ, त्यसकारण ब्यापारीले आयात गर्न नगएका हुन् रसुवास्थित टिमुरेका स्थानीय व्यापारी कोङकाङ तामाङले भने । उनले थपे ‘तिब्बतमा भाउ बढ्यो त्यसमाथी भन्सार शुल्क पनि बढेपछि आयात गर्न समस्या भयो।

चाडपर्वको समयमा हरेक वर्ष रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात हुने गरेपनि यो वर्ष भने मुस्ताङबाट ल्याउन लागिएको छ।

दसैँलाई लक्षित गरी बजारमा बिक्री–वितरणका लागि ल्याइएका भेडाच्याङ्ग्राको मूल्य समेत बढेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

२०७० मा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० ओटा भेडाच्याङ्ग्रा आयात भएको थियो। २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो ।

प्रतिक्रिया