याद गरौं, गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई मार्दैमा अपराध समाप्त हुनेवाला छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार १२:३४

ज्ञानेन्द्र खड्का – याद गरौं, गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई मार्दैमा अपराध समाप्त हुनेवाला छैन । चरीजस्ता युवाहरु मूल समस्या होइनन् । समस्या त उनीहरुलाई अपराधको बाटोमा हिँडाउनेहरु हुन् । चरीलाई ‘गुण्डा’ बन्न कसले प्रेरित गर्‍यो ? उनका गतिविधिलाई राजनीतिक मान्यता कसले दियो ? यसको लेखाजोखा हुनुपर्छ । आफ्नो बाटो गलत हो भन्ने चरीलाई पक्कै थाहा थियो । राजनीतिक संरक्षण नपाएको भए उनी अपराधी बन्ने थिएनन् । एउटै गल्तीमा उनी जेलमा सडिसकेका हुन्थे । राजनीतिक स्वार्थ पूरा गरेर चरीजस्ता युवालाई अपराधको दलदलमा फसाउने नेता नै हुन् । स्मरण रहोस् कहिल्यै नजितेको धादिङको एउटा क्षेत्रमा चरीकै अगुवाईमा एमालेले चुनाव जितेको हो । चरीलार्इ मार्ने प्रहरीले पनि ख्याल गरून्, उनी समस्याको मूल जड थिएनन् । चरीलार्इ मार्ने प्रहरी समस्याको जडसम्म पुग्न सक्ला ? यो प्रश्नको उत्तर अाउनेवाला छैन । चरीजस्ता युवाको शक्ति उपयोग गरेपछि नेताहरुले उनीहरुलाई सुधार्ने हो कि गोली हानेर मार्न लगाउने ? चरी पनि कुनै बाबुआमाका छोरा होइनन् र ? लाखौं युवालाई खाडीको तातो घाम खान पठाउने र चरीजस्ता युवालाई अपराधको दलदलमा लैजाने हाम्रो राजनीतिक नेतृत्व यो कुरामा सबैभन्दा दोषी हो । सरम र इमान गुमाएर हराम बनेका केही निकम्मा नेताहरुले चरीको हत्याको जिम्मेवारी लिनुपर्छ । चरीकी आमाले छोरो अपराधी बनेको देख्न चाहेकी थिइन् र ? चरीको ज्यान जसरी गएको छ, उनलाई त्यो अवस्थामा पुर्‍याउने दोष उनलाई प्रयोग गर्ने नेताले लिन्छन् कि लिँदैनन् ? कि पुनः अर्को चरी जन्माई स्वार्थको घोडा बनाएपछि यसैगरी सिध्याउने ? नेताका लागि एक दुर्इ चरी केही होइनन् तर एउटी आमाको कोख त सदाका लागि रित्तियो नि ? कामना गरौं चरीकै जस्तो अर्को युवाले यसैगरी गोली खाएर मर्नु नपरोस । नेता महोदय, कृपया युवालाई मर्नमार्न होइन, पढ्न र श्रम गर्न सिकाउनुस् । र, तपाईं आफू पनि सुध्रनुस । अनिमात्रै नेपाल बन्छ, होइन भने नेपाल पनि चरीको जीवन जस्तै भड्खालोमा जान्छ । तपाईं पनि त्यही भड्खालोमा परेपछि त्यो बेला तपाईंका लागि रुने पनि कोही बाँकी हुने छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१