दसैं आउन एक महिना छँदै टिकट बुकिङ प्याक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७४, सोमबार ०९:३७

काठमाडौं । दसैं आउन एक महिनाअघि नै आन्तरिक उडान गर्ने जहाज कम्पनीले टिकट बुकिङ भइसकेको जनाएका छन् । घटस्थापनादेखि टीकाको भोलिपल्टसम्मका टिकटमा ७० देखि शतप्रतिशत बुकिङ भइसकेको एयरलाइन्स कम्पनीले बताएका छन् । विगतमा एक महिनाअघि २० प्रतिशत मात्रै टिकट बुकिङ हुने भए पनि यस वर्ष सुगम र पहाडी क्षेत्रमा उडान गर्ने जहाजको टिकट बुकिङमा चाप देखिएको छ ।

नेपालीको महान् चाड र पर्यटक सिजन एकैपटक पर्ने भएकाले पनि टिकट बुकिङ ह्वात्तै बढेको यती एयरलाइन्सका बजार व्यवस्थापक भीम राईले जानकारी दिए । ‘तुम्लिङटारको टिकट सकिइसकेको छ’, राईले भने, ‘ विराटनगर, भरतपुर, जनकपुर, भद्रपुर र पोखराका लागि ३० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ ।’ धनगढी, नेपालगन्ज र भैरहवाको टिकट पाउन सहज भए पनि अन्य ठाउँको टिकट बुकिङ सकिसकेको उनले बताए । यती एयरलाइन्सले एउटा एटीआर र ६ वटा जेट स्ट्रिम विमानमार्फत आन्तरिक उडानतर्फ आठवटा गन्तव्यका सेवा दिइरहेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरलायन्सले नौवटा जहाजमार्फत सेवा दिँदै आएको छ । बुद्ध एयरलाइन्सका मार्केटिङ म्यानेजर विनीता थापाले तुम्लिङटार, भरतपुर र सिमराका लागि शतप्रतिशत टिकट बुकिङ भइसकेको बताइन् । त्यसबाहेक विराटनगर, भद्रपुर, पोखरा, नेपालगन्ज, धनगढी जाने जहाजको ३० प्रतिशत टिकट मात्रै बाँकी रहेको उनले बताइन् । बाँकी रहेका गन्तव्यका टिकट पनि केही दिनभित्रै बुकिङ भइसक्ने लक्षण देखिएको उनको भनाइ छ । एयरलाइन्सले यात्रुको चापलाई हेरेर भरतपुर, विराटनगरलगायत ठाउँमा अक्तिरिक्त उडान गर्ने योजना बनाएको छ ।

जेट विमानबाट आन्तरिक उडानमा होमिएको निजी हवाई कम्पनी सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले ३० प्रतिशत मात्र टिकट बुकिङ भएको बताए । विराटनगर र भद्रपुर गन्तव्यको उडानमा ३० प्रतिशत टिकट बुकिङ भएको खनालले जानकारी दिए । त्यसबाहेक कम्पनीले उडान गर्दै आएको भैरहवा र नेपालगन्ज गन्तव्यमा भने चाप नरहेको उनको भनाइ छ ।

‘टिकट बुकिङ दर दिनदिनै बढ्दो छ’, खनालले भने, ‘१० दिनपछि पहाडी क्षेत्रसँग जोडिएका गन्तव्यमा टिकट पाउन कठिन हुनेछ ।’ हवाई यात्रुको चाप बढ्दो छ । जहाज थपिने क्रम बढे पनि सडक सञ्जालमा देखिएको समस्याकै कारण जहाजको टिकटमा चाप देखिएको उनको भनाइ छ । कतिपय यात्रुले पहिले नै टिकट बुकिङमा सस्तो फेयर आउने भएका कारण जहाजकै टिकट बुकिङ गरेको हुन सक्ने उनको भनाइ छ ।

सिम्रिक एयरलाइन्सले पनि दसैंलाई लक्ष्य गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । टिकट खुला गरेको एक सातामै पोखरा, भैरहवा र भरतपुर उडानमा ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले बताए । एयरलाइन्सले दुईवटा जहाजमार्फत यात्रुलाई सेवा दिइरहेको छ । एयरलाइन्सले दसैंलाई लक्ष्य गरेर तुम्लिङटार उडान गर्ने योजना तय गरेको थापाले बताए ।

दुई साताअघि मात्रै आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले पनि टिकटमा विस्तारै चाप बढेको बताएको छ । एयरलाइन्सले तीनवटा जहाजमार्फत उडान गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१