अपरिभाषित प्रेम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७४, बुधबार ०७:०९

सुमधुर आवाजका साथमा पछाडिबाट बोलावट हुँदा उकुसमुकुस भएर मडारिरहेको कौतूहल एकैपटक बिस्फोट हुन्छ झैं भैरहेको थियो । जब पछाडि फर्किएँ साँच्चिकै मनले ठूलो बिस्फोट गर्‍यो । शरीरभरि बिस्फोटका ज्वालाले तरङ्ग उत्पन्न हुन थाल्यो । ताप्लेजुङको थेचम्बू हरियालीको गाउँ, सुन्दरताको प्रती क, कञ्चनजङ्घाको आँगन, त्यसभन्दा पनि सुन्दर मेरो बाल्य गाउँ जहाँ मेरा पाइला सरेका थिए पहिलोपटक, जहाँको हिमालले मेरो पहिलो मुस्कान हेरेर प्रतिबिम्बका रूपमा सेता दाँतको लहर छरेर हाँसिदिएको थियो । अझ त्यसभन्दा पनि मीठो रूपमा हाँसिदिन्थिन् सरला । फरक्क फर्केर हेरें, सुन्दर साडीमा सजिएकी थिइन्, सरला । लामो विदेश बसाइको प्रभावले होला, उनको पहिरनमा पनि विदेशी संस्कार झल्किरहेको थियो तर त्यसले उनको सुन्दरतामा अझै निखार ल्याएको थियो । यदि वरपरको वातावरण मेरो पहिचानको नहुँदो थियो त सम्भवत: उनको हातमा मेरो हात हुने थियो र म भन्ने थिएँ–‘यु आर लुकिङ गर्जियस, माई डियर सरला ।’
हजुर लामो समयको पर्खाइ खप्नुपरेकोमा क्षमा चाहन्छु । मनले त लागिराखेको थियो कि भनूँ म तिमीलाई अझ पर्खन चाहन्थें सरला । अझ वर्षौं पर्खाउँथ्यौ भने पनि । किनभने यो पर्खाइको मिठासले तिम्रो सुन्दरता बढाएझैँ लागिरहेछ । होइन, खासै समय भएको छैन, दु:ख मैले पो दिएँ तिमीलाई दु:ख यति लामो यात्रा गराएर । लामो यात्रा कसरी ? धरानबाट यहाँ कारमा आउँदा जम्मा एक घन्टा लाग्दोरहेछ । के तिम्रा लागि यति पनि नगरुँला त ? मनमनै सोच्न थालें–तिमीलाई लागिरहेछ सरला तिमी धरानबाट यहाँ आएकी छ्यौ मलाई भेट्न तर मलाई लागिरहेछ तिमी बेलायतबाटै यहाँ आएकी छ्यौ, तिम्रो जन्मस्थान नेपाल, केवल मेरा लागि, मलाई भेट्नका लागि ।

तिम्रा लागि उद्देश्य फरक छ होला यहाँ आउने तर मेरा लागि तिम्रो उद्देश्य यही छ, मसँग तिम्रो भेट । हा.. हा.. हा.. मेरा लागि यति गरिदियौ, अत्यन्त हर्षित छु । मलाई लागिराख्याथ्यो तिमी सम्भवत: आउँदिनौ कि ? आज नआएकी भए तिमीले कहिल्यै माफ गर्दैनथ्यौ होला यो बालसखीलाई, आउनु त परिगयो नि, कि कसो ? एकदम सही भन्यौ सरला म तिमीलाई माफ गर्ने थिइन। हम्म…….. अब त गर्‍यौ नि ? अँ गरें । अब माफी दिएर मात्र फर्काउँछौ ? उफ् म के भएको ? उनको सुन्दरता र लवजमा यति धेरै विचारणीय यात्रा गर्न थालेंछु कि उनलाई आफ्नो घर जाने निम्तो नै दिन बिर्सिएछु । म भित्रको स्वागत मन्तव्य त उनको सुन्दरताले थिचिरहेको रहेछ । हरे, म पनि † गफ गर्ने ध्याउन्नमा सबै भुलेछु । लागौं न त सरला मेरो सानो झुपडीतिर, मेरो दु:खलाई नजिकैबाट नियाल्न, मेरो छरपस्ट जिन्दगीको पहिचान गर्न । उनले रिसाएको भावमा भनिन्, कमल, फेरि पनि हजुर…. ।

सरी माफ गर सरला… भुलेछु तिमीलाई दिएको बचन, अब भन्ने छैन । यही वाक्य निस्किएको थियो मेरो मनबाट एक महिनाअघिको फेसबुक वार्तालापमा र सम्प्रेषण गरेको थिएँ फेसबुक म्यासेजको मद्दतबाट उनको मस्तिष्कमा । त्यति बेला उनी रिसाएर ५ दिनजति वार्तालापबाट अलग भएकी थिइन् र मेरो बारम्बारको जपपछि उनले फर्काएकी थिइन् एक जवाफ–कमल, अब तिमी त्यसो भन्छौ, मलाई लाग्छ तिमी मेरो जीवनको खिल्ली उडाउँदैछौ । मानिसको जीवन भनेकै एउटा अन्यौलको बीच निक्र्योल खोज्ने यात्रा हो जहाँ बाधा–अड्चनहरू हुन्छन् । कसैको जीवनमा थोरै हुन्छ, कसैको जीवनमा धेरै । मसँग हजारौं थिए । त्यसैले केही व्यवस्थित देख्छौ तिमी मलाई ।

तिमीसँग लाखौं थिए । त्यसैले अव्यवस्थित देख्छौ स्वयंलाई तर तिमी त्यो भाग्यमानी व्यक्ति हौ जो लाखौं समस्याको अनुभवी छौ र म त्यो ठगिएको व्यक्ति हुँ जो लाखौं समस्याबाट अञ्जान छु । अब हजारौं समस्याको बीचमा पर्‍यौ भने पनि तिमी त्यहाँबाट सजिलै निस्कने छौ तर सोच म लाखौं समस्याको भीडमा परें भने कसरी निचोरिनेछु ? कुन अवस्थामा पुग्नेछु ? त्यसैले अब यस्तो भावनाले मलाई लज्जित नबनाऊ । किनभने तिम्रो त्यस्तो भावनाले मलाई लाखौं समस्याको बीचमा निचोरिन गिज्याइरहेछ । म अकमक्क भएको थिएँ । त्यो समय उनको विचार सुन्दा, उनको जवाफ पढ्दा, लाग्यो मेरो गरिबीलाई उच्च देखाएर आफू गरिब नै छु भन्ने देखाएर वास्तवमै तिमीले आफ्नो महानता देखायौ सरला । सम्झना छ मलाई, जव म कक्षा तीनमा अकस्मात् लडेर खुट्टामा चोट लागेर रक्ताम्य हुँदा उठाउने तिमी नै थियौ र आज गरिबीमा पछारिँदा पनि उठाउने तिमी छ्यौ आफ्नो भावनाले, आफ्नो विचारले ।
तिमी सधैं यसै भन्छौ । यस्तै हो भने मित्रतामा खोट आउला है । ल, ल लागौं त सरला मेरो महलतिर ।
हा हा… ल छिर त यो मेरो खटरा कारभित्र । बाटो दस मिनेटको थियो तर मनमा दसौं लाख भावना खेलिरहेका थिए । उनी कारको अघिल्लो सीटमा थिइन्, म पछाडि । म मुखले औपचारिक प्रश्नहरू सोध्दै थिएँ–घरपरिवार, छोराछोरी…. । उनी भन्दै थिइन् सासू आरामै हुनुहुन्छ । छोरी अमेरिका, छोरो लन्डनमै छ । श्रीमान्बिनाको एक्लो जीवन । मेरा आँखाहरू उनमा नाचिरहेका थिए । कानमा लामो झुम्का, आँखामा हल्का गाजल, ओठमा रातो लिपिस्टिकको रङ्गमञ्चमा सेता दाँतहरू हाँसोको नृत्य गरिरहेका ।

कल्पना गरिरहेको थिएँ–चालीस वर्षअघिकी ती सरला जो यसरी नै कानमा फूलका गुच्छाहरू उनेर झुम्का बनाउँथिन् सकी नसकी कालो मोसोको गाजल दलेर आफ्ना नयनलाई सजाउने प्रयास गर्थिन् । हाँसो त्यही । साँच्चै सरला, तिम्रो आभूषण परिवर्तन भएछ तर तिम्रो प्रकृति उस्तै, तिम्रो मिठास उस्तै । तिम्रो सुगन्ध उस्तै । चालीस वर्ष पहिले मेरो परिवार थेचम्बु छोडेर झापा बसाइ नसरेको भए सायद तिम्रो हाँसोको दर्शक हुन पाउने थिएँ दिनहुँ । कमल… घर आइपुग्यो होला तिम्रो । यही होइन त ? मैले ठ्याम्मै चिने कि नाइँ ? हँ?

ओहो.. घर पो आइपुगेछ, उनले भनेकी थिइन्—म तिमीले भनेअनुसार तिम्रो घर पत्ता लगाउँछु आफैं, केही नभन्नू है । मैले सानो स्वरमा हुन्छ भनेको थिएँ र मनमनै सोचिरहेको थिएँ–नभनीकन घर पत्ता लगाउने तिमीले मेरो मायाको आभाष किन पत्ता लगाइनौ सरला ? किन मेरो मायाको ठेगाना खोजिनौ ? के बालापनमा तिमी र म एक–अर्काप्रति आकर्षित थिएनांै ? हामीले एक अर्कामा खुसी खोजेका थिएनौं ? घरमा मेरी श्रीमती उनको स्वागतमा बसिरहेकी थिइन् । मेरी श्रीमती विपना । मैले पूर्णरूपमा माया दिन सकिन उनलाई तर कर्तव्य पूर्णरूपमा निर्वाह गरेको छु उनीप्रति सधैं र उनी पनि त्यही कर्तव्यलाई मेरो माया सम्झेर बारम्बार भन्छिन्, जब म जिस्क्याउँछु उनलाई–हजुरको माया यति धेरै छ कि म हजुरलाई कहिल्यै पनि शङ्का गर्न सक्दिन ।

मैले भनेको थिएँ उनलाई सरलासँगको अपरिभाषित प्रेमका बारेमा । मेरो जीवनको पहिलो प्रेमका बारेमा र अझै पनि प्रेम कतै उनका लागि जीवित रहेको तर म आफ्नो कर्तव्यबाट कदाचित् पछि हट्ने छैन भनेर । आज उनै मेरी सरलालाई मेरी विपनाले आफ्नै बहिनीझैं सत्कार गरिरहेकी छिन् । मेरा सन्तानहरूसँग उनका सन्तानहरूको तस्बिर देखाउँदै तिम्रा भाइबहिनी भनिरहेकी छिन् । घरीघरी मलाई नियाल्दै मेरो निर्दोष अनुहारप्रति ख्यालठट्टा गरिरहेकी छिन् । मेरो र विपनाको तस्बिरलाई एकोहोरो हेर्दै सम्भवत: पाँच वर्षअघि बेलायती आर्मीका मृत पतिलाई सम्झँदी हुन् । आधा जीवन एक्लै बिताएकी सरला भेटघाटपछि फर्कने तयारीमा छिन् तर म अझ उनलाई नियालिरहेको छु र फेरि पनि परिभाषित गर्न खोज्दैछु आफ्नो अपरिभाषित प्रेम तर …… सम्भवत: उनको कार अघि बढ्ला मेरो बोलीअघि……।

‘कमलजी’

नारी साप्ताहिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१