वीर अस्पतालमा अख्तियारको फन्दामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७१, बुधबार ०६:०२

काठमाडौ, २१ साउन   । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा आज छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
अस्पतालमा लामो समयदेखि अनियमितता भएको र त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पनि पहल नगरिएको भन्दै आयोगमा उजुरी परेको थियो ।
download (1)
आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा पुगेको टोलीले महानिर्देशक केदारप्रसाद सेन्चुरी र लेखा प्रमुख केदारसिंह देउजाको कार्यकक्षमा रहेका सबै कागजात नियन्त्रणमा लिएको हो । अस्पतालमा व्यापक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला आयोगले आज दोस्रो पटक छापा मारेको हो । केही दिनअघि पनि आयोगले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

अस्पतालबाट ४० पोकाभन्दा बढी कागजात नियन्त्रणमा लिइएको तिम्सिनाले जानकारी दिए । केही समयपहिले लिइएको कागजातको अध्ययन गर्दा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि आयोगले पुनः छापा मारेको बताउँदै तिम्सिनाले तत्काल कोही कसैलाई नियन्त्रण नलिइने तर दोषी देखिए नछाडिने बताए ।

आयोगले यही साउन १५ गते विज्ञप्ति प्रकाशन गरी अस्पतालमा आवासीय चिकित्सकले गरेको आन्दोलनप्रति पनि आपत्ति जनाएको थियो । उपचार गर्न पाउने नागरिकको मौलिक अधिकारलाई आन्दोलनको नाममा हनन् गरिएको भन्दै आयोगले तत्काल आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन आग्रह गरेको थियो ।

चार महिनादेखि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति नभएको र एक वर्षदेखि अस्पतालमा बन्द रहेको सिटी स्क्यान पुनः सञ्चालन हुनुपर्ने माग राख्दै आवासीय चिकित्सकले आन्दोलन गरेका थिए ।

राजनीतिक हस्तक्षेपका कारण अस्पताल धरासायी भएको र सेवाग्राहीले उचित उपचार नपाएको भन्ने व्यापक जनगुनासो बढेपछि आयोगले चासो देखाएको हो । यस्तै अस्पतालको समस्या समाधान गर्न आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यसअघि नै निर्देशन दिएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१