माधव पहारी ।
अक्सर भारती आमनागरिकदेखि विशिष्ट जो कोही नेपाल आउँदा दुई मनोविज्ञान बोकेर आएको पाइन्छ । आमनागरिकहरु मामाघर आएझै गरि आउँछन् र विशिष्टहरु ससुराली । यस्तो हुनुको पछाडि आफूलाई रामका मानसपुत्र मान्नेहरु मामाघर आएझै आउँछन् र रामको पथमार्गी ठान्ने विशिष्टहरु ससुराली आए झै आउँछन् । मोदी ससुराली आएको शैलीमा आए आउँदा खाली हात आउन नहुने हिन्दु संस्कारलाई ख्याल गरी ऋणको पोको पनि लिएर आए । मोदीको राजनीतिक सुझबुझ सायदै हामीले आंकलन गर्न सक्छौ होला । उनको राजनीतिमा धर्म र अध्यात्मको मिश्रणले उनलाई कहाँबाट कहाँ पु¥यायो जगजाहेरै छ । उनको कर्णप्रिय अभिव्यक्ति र अभिव्यक्ति माथिको नियन्त्रण र चातुर्यता पनि हाँक्न सकिने खालको छैन । नेपाली नेताहरुले दुई घण्टा पछिको समयलाई नसोची बोल्छन् । मोदी अर्को पुस्तासम्मको लागि सोचेर बोल्छन् । उनलाई राम्ररी हेक्का थियो, नेपाली के सुन्न चाहन्छन् । कस्तो मन्त्र पढ्यो भने नेपाली तीन छक्क पर्छन् । आखिर त उनको नेपालीलाई तीन छक पारेरै छाडे । मानिसको मनोविज्ञान पनि गजबकै हुन्छ । भोको मान्छेको अगाडि रोटी तेर्साएर बाँकी जस्तो कुरा र व्यवहार गरे पनि पचाउँछन् भन्ने पनि साँच्चै रहेछ । मोदीले नेपालीलाई दिन आएका हुन् कि अहिले दिएझै गरेर पछि लिएर जाने हुन् । त्यो त समयकै हातमा सुम्प्यौं । कति सुन्दर तरिका अपनाए उनले कुनै पनि मानिसको मन जित्न उनीहरुको सन्तानलाई काखमा लिएर सन्तानको तारिफ गरिदियो भने मानिस सहजै खुशी हुन्छ । उनले त सन्तान र स्वयं आमाबाबुको समेत तारिफ गरिदिए । जुन सुनमा सुगन्ध छरेर गए । उनले नेपालको हित र उन्नतीको बारेमा बोले । यस्तो घटना त सामान्य नै हो । अहिले युद्धरत इजरायल र प्यालेस्टाइनका राष्ट्रप्रमुखहरुले पनि सार्वजनिक रुपमा एक अर्काको हित मै बोल्छन् । यसलाई पनि मनन गर्न छाड्नु हुँदन । उनले नेपाललाई दिने ऋणमा केही बढी प्रभावका साथ बोले तर नेपालले दिएको कुरा सायदै गर्न बिर्सेछन् क्या हो । समयको अभावले पनि होला । हामीले सीतालाई पनि उतै दिएका थियौं । बुद्धले पनि ज्ञान उतै दिएका थिए । दार्जिलिङ, सिक्किम जस्ता भूमि पनि दिएकै हो । नेपाल भारतबीचका सिमानाका स्तम्भहरु सार्छुभन्दा पनि सार्न दिएकै हो । खोला नाला बन्धक बनाउँछु भन्दा पनि बन्धन बनाउन दिएकै हो । भारतको स्वतन्त्रताको आन्दोलनमा पनि साथ दिएकै हो । धेरै भारतीय नागरिकलाई नेपाली नागरिकता पनि दिएकै हो । भारतबाट समय समयमा आउने सन्यासी–जोगीहरुले पैसा मागेर लैजाँदा पनि दिएकै हो । हाम्रा नेताहरुलाई जहिले पनि शरणमा आऊ भनेर बोलाउँदा जान दिएकै हो । सायद समयको कमीले होला बोल्न भ्याएनन् । नेपालीबीच अब दुईवटा प्रश्न खडा भएका छन्ः भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा जुनस्तरले हामीले स्वागत सत्कार ग¥यौं, हाम्रा नेताहरु मुसाजस्ता शरणागति परे । के त्यस्तै हुन्छ होला त नेपालका प्रधानमन्त्री भोलि भारत जाँदा ? अर्को प्रश्न मोदीले जसरी नेपालको संसदमा सम्बोधन गरे के त्यही शैली र दम्भपूर्वक दुनियाँको अर्को कुनै देशमा बोल्ने र पाठ सिकाउने साहस राख्दछन् ? जे–जस्तो परिस्थिति भए पनि मोदीले आफ्नो साख बढाएरै गए । हाम्रा नेताहरुको साख गिराएरै गए । उनको व्यवहारले प्रष्ट हुन्छ, हाम्रा नेताहरु उनले दैलोमा माग्न जाने जोगीसरी रहेछन् । बलियोसँग बलियोले प्रतिष्पर्धा गर्नु प¥यो भने निर्बलियोको झिनो साथमात्र काफी हुन्छ । भद्रगोल र बेथितीमा प्रभावशाली नेता जन्मन सक्छ । आखिर मोदी पनि त गुजरातको बेथितीको उपज नै त हुन् । मोदीले यसकारण पनि नेपालको हित र उन्नतीमा भारत निर्भर र भारतको करुणामा विकासहोस् भन्ने चाहेका होलान् । कुनै पनि व्यक्तिले सुन्दर र बासनादार फूल आफ्नो बगैँचामा रोप्यो भने त्यसको सुगन्धले छिमेकी पनि लाभान्वित हुन्छन् । मोदीले त्यही चाहेको कुरा व्यक्त गरे । मोदी भारतका प्रधानमन्त्री हुन् र उनको पहिलो प्राथमिकता भनेकै भारतको विकास हो । भारतको विकासका खातिर छिमेकी राष्ट्रहरुसँगको भाइचाराको सम्बन्धले पनि ठूलो भूमिका निर्वाह गर्ने बुझेरै होला उनले छिमेकीसँगको सम्बन्धलाई नयाँ उचाइ दिन खोजेको देखिन्छ । सँगसँगै नेपालको विकास र उन्नतीको लागि भारतको प्रमुख भूमिका छ है भनेर पनि जनाउ दिए । खैर जे–जस्तो भए पनि राम्रै भयो । उनले नेपालमा नेता छैनन् भन्ने कुरा नेपालीलाई स्पष्ट पारिदिए । जे भए पनि विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरु जिवितै भैदिएको भए मोदीको आँखामा आँखा मिलाएर कुरा गर्न त सक्थे होलान् । त्यति कुराको अभाव भने सधैँ खट्किने भो । अन्त्यमा मोदी आएर लिएर गए कि दिएर गए ? समयले नै बताउने छ ।
प्रतिक्रिया