देशकै ठूलो रारा ताल घुम्ने नेपालीको संख्या ह्वात्तै भएको छ। ताल नजिकसम्म सडक ट्र्याक खुलेपछि घुम्न सजिलो भएको हो। यतिबेला मुगुको रारामा दिनहुँ सयभन्दा बढी आन्तरिक पर्यटक घुमिरहेका छन्। रारा राष्ट्रिय निकुञ्जका अनुसार दसैंअघि दैनिक ५० हाराहारी नेपाली त्यहाँ पुग्थे। ‘रारामा नेपाली ह्वात्तै बढेका छन्’, निकुञ्जका वार्डेन मोहनचन्द्र विश्वकर्मा भन्छन्, ‘दसैंको टीकायता दिनमै सयजना भन्दा बढी रारा आइरहेका छन्।’
जुम्लादेखि मुगु सदरमुकाम गमगढीसम्म ०६९ माघमा सडक ट्र्याक खुलेको हो। धेरैजसो जिप र मोटरसाइकलमा पुग्छन्। काठमाडौंबाट जुम्लाबजारसम्म मिनिबसमा गएर पदयात्रा गर्नेको संख्या पनि उल्लेख्य छ। बजारबाट हिँडेर रारा पुग्न तीन दिन लाग्छ। नेपालगन्जबाट ताल्चा विमानस्थलमा ३५ मिनेट उडान भरेर दुई घन्टा हिँडे पनि रारा पुगिन्छ।
हवाई उडान भने भरपर्दो छैन। पहिले हुनेखाने मात्र हवाइजहाज र हेलिकप्टरमा रारा पुग्थे। सडक सञ्जाल जोडिएपछि मध्यम वर्गका नेपाली पनि रारा घुम्न थालेका छन्। ०७२ चैतदेखि नेपालीको संख्या बढ्दै गएको निकुञ्ज प्रशासनले जनायो। जुम्लाबजारदेखि पदयात्रा गर्ने हिसाबले ललितपुरको प्रकृतिप्रेमी समूहका ४६ सदस्य आइतबार बसबाट त्यता निस्केका छन्। दसैंलगत्तै बहुदिने पदयात्रामा निस्कने समूहको यो भ्रमणमा डा. उमेश श्रेष्ठ अगुवा छन्।
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ उपमा दिएको ताल मनमोहक छ। त्यहाँ छिनछिनमा पानीको रङ बदलिन्छ। आकाशको रङसँगै राराको रङ फेरिन्छ। आकाशमा बादल लाग्दा पानी कालो देखिन्छ भने आकाश खुल्दा निलो। तालको पूर्वमा छायानाथ र ऋणमोक्ष चुली छन्। जंगलबीचको उपत्यकामा राराताल (३ हजार मिटर ) छ। रारा १ सय ६७ मिटर गहिरो, ५.१ किमी लम्बाइ र २.७ किमी चौडा छ। किनारको लम्बाइ १४.६ किमि छ। हिँडेर तालको फन्को मार्न चार घन्टा लाग्छ।
सरकारले विसं २०३२ सालमा बनाइएको रारा निकुञ्जको क्षेत्रफल १ सय ६ वर्ग किमी छ। तालबाट पश्चिम–उत्तरको मूर्माटप (३,७२६ मिटर) बाट तालसहित बाजुरा, जुम्ला, हुम्ला, डोल्पा र मुगुका गाउँ देखिन्छ। त्यहाँ पुग्न तालकिनाराबाट तीन घन्टा हिँड्नुपर्छ। पर्यटक बढेसँगै व्यवसायी उत्साही छन्। ‘रारा जाने र फर्कनेको भिडले जुम्ला गुल्जार छ’, जुम्लामा होटल स्नो ल्यान्ड चलाउँदै आएका क्षेत्रीय होटल संघ, जुम्लाका वरिष्ठ उपाध्यक्ष ललित महत भन्छन्, ‘अचेल हाम्रा होटल भरिभराउ हुन थालेका छन्।’
नेपालगन्जदेखि जुम्ला बजारसम्म २ सय ३३ किमी सडक पक्की छ। जुम्लाबजारदेखि नाग्म सिन्जा हुँदै ताल्चा १ सय २४ किमी कच्ची सडकमा मोटरसाइकल र जिप चल्छन्। काठमाडौंबाट जिप यात्रा गर्दा पहिलो दिन सुर्खेत, दोस्रो दिन जुम्लाबजार वा गोठीज्युला वा कालिकोटको नाग्ममा बास बसेर तेस्रो दिन रारा पुग्न सकिन्छ। मुगु सदरमुकाम गमगढी जोड्ने सडकको तोप्लासम्म मोटरमा गएर त्यहाँबाट डेढ घन्टा हिँडे रारा किनार पुगिन्छ।
मोटरबाटो जोडिएपछि राम्रो प्रचार भएकाले नेपाली बढेका हुन्। वार्डेन विश्वकर्माका अनुसार विदेशीको संख्यामा भने उल्लेख्य वृद्धि भएको छैन। पोहोर १ सय ३२ जना विदेशी घुमेका थिए। राराकिनारमा जम्मा दुइटा होटल छन्, डाँफे होटल र भिलेज हेरिटेज रिसोर्ट। दुवैका कोठामा सजिलोसँग ४० जना अटाउँछन्। टेन्टसमेत प्रयोग गरे एकै रात सयभन्दा बढी अटाउन सक्छन्।
लामो समयदेखि ‘वाइल्ड वेस्ट ट्र्यांगल’ नामक रारा, बर्दिया र शुक्लाफाँटाको प्याकेज बेच्दै आएको रैका ट्राभल्सका प्रबन्धनिर्देशक एवं पर्यटनविज्ञ अमरबहादुर शाहीले राराको पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने देखेका छन्। ‘रारामा राम्रा होटल खोल्ने वातावरण सरकारले मिलाउनुपर्छ’, उनी भन्छन्, ‘जुम्लादेखि गमगढी पुग्ने सडक छिट्टै कालोपत्रे गरिनुपर्छ। तब मात्र यात्रा सहज र सुरक्षित बन्छ।’ सरकार निकुञ्जमा होटल सञ्चालन गर्नेबारे कार्यविधि बनाएर छलफल गर्दै छ। कार्यविधि स्वीकृत भएपछि मात्र रारामा होटलको संख्या थपिने वार्डेन विश्वकर्माले जानकारी दिए।
प्रतिक्रिया