अनौपचारिक शिक्षा कार्यक्रमबाट बाइस हजार एक सय बाह्रजना साक्षर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार १२:४६

रौतहट,  १६ साउन   । साक्षर नेपाल अभियानअन्तर्गत गत आर्थिक वर्षमा जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमबाट २२ हजार ११२ जना साक्षर भएका छन् ।

जिल्ला शिक्षा कार्यालय रौतहटले सञ्चालन गरेको अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत प्रौढ कक्षा लिएकामध्ये १७ हजार ८२६ महिला तथा चार हजार २८६ पुरुष साक्षर भएको, जसमध्ये दलिततर्फ ९८६ महिला तथा १३५ पुरुष रहेको कार्यालयका शाखा अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार गौर नगरपालिका, मत्सरी, औरैया, राजपुरफरहद्वा, धरहरी, पतौरा, गरुडा, गढो, फतुवाहर्षाहा, विर्तिप्रस्टोका, चन्द्रनिगाहपुर, जुडिवेला र पौराई क्षेत्रमा ९१० वटा अनौपचारिक शिक्षाका कक्षा सञ्चालन भएका थिए ।
साक्षर नेपाल अभियानअन्तर्गत ९१ स्वयम्सेवक तथा ९७ निरीक्षक परिचालन गरी सञ्चालन गरिएको उक्त कार्यक्रमका लागि सरकारले रु एक करोड ५६७ लाख ६२ हजार विनियोजन गरेको थियो ।

द्वन्द्वपीडित विद्यार्थीका लागि छात्रवृत्ति वितरण

जिल्ला शिक्षा कार्यालय रौतहटले आव २०७०÷०७१ को द्वन्द्वपीडित विद्यार्थीका लागि छात्रवृत्ति वितरण सुरु गरेको छ ।

यो वर्ष रौतहटमा २४९ जना विभिन्न प्रकृतिका द्वन्द्वपीडितका लागि छात्रवृति रकम प्राप्त भएअनुसार हालसम्म २३५ जनाको मात्र निवेदन परेको जिल्ला शिक्षा अधिकारी अरविन्दकुमार लाल कर्णले जानकारी दिनुभयो ।

उहाँले १८ वर्षभन्दा मुनिका सहिद परिवारका छात्रछात्राका लागि प्रतिविद्यार्थी रु २० हजार  तथा अन्य द्वन्द्वपीडितका हकमा प्राथमिक, निमावि, माध्यामिक तह तथा उच्चमावि तहका छात्रछात्राका लागि रकम प्राप्त भइसकेको छ ।

जिल्ला शिक्षा कार्यालयमा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेअनुसार गत साउन ११ गतेबाट द्वन्द्वपीडित छात्रछात्राका लागि छात्रवृत्ति रकम वितरण सुरु गरेको सो कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया