विराटनगर । प्रिमियर वायर ब्रान्डका बिजुलीका तारको उत्पादनमा सफलता हासिल गरेको शारडा ग्रुपले पूर्वाञ्चलमै प्रिमियर ब्रान्डमा सबैभन्दा ठूलो फलामे डन्डी उद्योग ल्याउने भएका छन्।
सुनसरीको दुहबी नगरपालिकामा एक अर्ब पाँच करोडको लगानीमा स्थापना भइरहेको प्रिमियर स्टिलमा शारडा ग्रुपसँगै एके राठी ग्रुपलाई पनि साझेदार बनेको छ।शारडा ग्रुप र एके राठी ग्रुपका साझेदारीमा साबुन, मैदा, वनस्पति घिउ, अक्सिजन, राइस ब्रान, सोलभेन्ट लगायतका उद्योग र व्यापार तीन दशकदेखि सञ्चालित छन् ।
उद्योगका सञ्चालक अनुपम राठीका अनुसार अहिलेसम्मकै सबैभन्दा आधुनिक भारतीय मेसिनबाट दैनिक ५ सय मेट्रिक टन फलामे डन्डी उत्पादन गर्ने क्षमताको कारखाना स्थापना भइरहेको छ । ‘उत्पादन सुरु भएपछि कम्तीमा ३ महिनाको उधारोमा माल नबेची सुख छैन’, सञ्चालक राठीले भने, ‘त्यसैले चालु पुँजीलाई पनि १ सय ५ करोड नै छुट्याउनु परेको छ ।’
आगामी २०१८ को मार्चदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखिएको प्रिमियर स्टिलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, झारखण्डस्थित जमसेदपुर र पश्चिम बङ्गालस्थित दुर्गापुरबाट कच्चा पदार्थ ल्याइनेछ ।फलामे डन्डीको मुख्य कच्चा पदार्थ बिलेट हो । यस उद्योगमा ठूलो आकारको बिलेट प्रयोग हुने भएकाले खेर जाने सामग्री कम र उत्पादनको गुणस्तर बढी हुने राठीको भनाइ थियो ।
उद्योगलाई ६ मेगावाट विद्युत् आवश्यक पर्ने र दुहबी सब स्टेसनकै नजिक उद्योग स्थापना गरिएको हुँदा सजिलै प्राप्त गर्न उनले बताए।राठीका अनुसार उद्योगको मुख्य बजार पूर्वाञ्चल नै हो । तर उत्पादनलाई मुलुकभरि नै पुयाउने लक्ष्य राखिएको छ ।दुई वर्षभित्र नेपालभरिमा सिमेन्ट र फलामे डन्डी उद्योगको उत्पादन अहिलेको तुलनामा दोब्बर हुने राठीको दाबी छ ।
‘लोडसेडिङ क्रमशः अन्त्य हुँदैछ र हाइड्रो पावर पनि धमाधम सुरु हुँदैछन्’, उनले भने, ‘यही गतिमा अगाडि बढ्ने हो भने मुलुकमा पूर्वाधारको विकास तीव्र गतिमा हुने कुरामा शङ्का छैन । त्यसैले पूर्वाधार विकासका उद्योगहरूको सम्भावना बढेर गएको छ ।’
पूर्वाञ्चलमा सबैभन्दा पहिलो फलामे डन्डीको उद्योग शारडा ग्रुपले नै मोरङको टङ्कीसिनवारीमा स्थापना गरेको थियो । यही ग्रुपको अग्रसरतामा ४० को दशकमा खुलेका एभरेस्ट आइरन र हेटौँडा आइरन नामका उद्योग हाल बन्द भइसकेका छन् । ५० को दशकको सुरुवातमा अरुण तेस्रो आउने खबरसँगसँगै मोरङ र सुनसरीमा गरी १२ वटा फलामे डन्डीका कारखाना खुलेका थिए । तीमध्ये १० वटा बन्द भए ।‘हामी अहिले पुनर्निर्माण र पुनरुत्थानको अवस्थामा छौँ’, प्रिमियरका सञ्चालक अनुपमले भने, ‘यो अवस्थामा अब हामीले उद्योग बन्द गर्नुपर्ने छैन । मुलुकका अन्य भागमा छड र सिमेन्टका अरू उद्योग पनि खुल्दैछन् । दुबै उद्योगको भविष्य उज्ज्वल छ।’
प्रतिक्रिया