यसरि गर्नुस खरायोको स्याहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार १९:५५

व्यस्त सहरिया जीवनमा हिजोआज कुकुर–बिरालो सँगै अन्य घरपालुवा जनावर पाल्ने चलन पनि बढेको छ । कम स्याहार गर्नुपर्ने, धेरै समय दिनु नपर्ने तर पाल्दा आनन्द आउने हुँदा खरायो पाल्ने चलन बढिरहेको पाइन्छ । बालबालिकाहरू भएको घरमा खरायो पाल्दा धेरै रमाइलो हुन्छ ।
नेपालमा पाइने खरायोका जातमध्ये अंगोरा, चिनचिला, क्यालिफोरनियन आदि प्रमुख छन् । खरायोको सरदर उमेर ८ देखि १२ वर्ष हुन्छ । खरायोले ३० दिनमै बच्चा जन्माउँछ । घर भाले र पोथी दुवै खरायो पाले धेरै छिटोछिटो बच्चा पाएर कठिनाइ उत्पन्न हुन्छ । तसर्थ खरायो पाल्नुअघि पशु चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ । नेपालमा अझै पनि खरायोको बन्ध्याकरण गर्न कठिन मानिन्छ ।
खरायोको वासस्थान
खरायोका लागि जाडो तथा गर्मी दुवै मौसम अनुकूल हुने काठ तथा फलामबाट निर्मित खोर बनाउनुपर्छ । खोरभित्र नरम परालको व्यवस्था गर्नुपर्छ । हावाको आवतजावत राम्रोसँग हुनुपर्छ । खाना तथा पानी राख्ने व्यवस्था हुनुपर्छ । हल्ला हुने तथा चर्को आवाज आउने ठाउँमा खोर राख्नुहुँदैन । खरायोमा ठूलो आवाज सहन सक्ने क्षमता कम हुन्छ ।
खरायोको खानपान
–खरायोलाई प्रायस् हरियो सागसब्जी, गेडागुडी, बढी फाइवरयुक्त खाना दिनु आवश्यक हुन्छ । गाजर, काउली, मुला, कलिला घाँसपात, साग आदि दिन सकिन्छ । अहिले बजारमा विदेशबाट झिकाइएको तयारी खाना पनि उपलब्ध छ ।

स्वास्थ्य समस्या
–खरायोको खानपिन नमिल्दा पेटमा ग्यास भरिने, खाना नखाने, झोक्राउने आदि समस्या हुन्छन् । बढी फाइवरयुक्त खानाले यस्ता समस्या आउन दिँदैन ।
–गर्मीमा ‘हिट स्ट्रोक’ हुने सम्भावना धेरै हुने भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ ।
–गर्मीमा उपियाँको समस्या पनि देखा पर्छ ।
–आँखा पाक्ने रोगको सम्भावना हुन्छ ।
–कहिलेकाहीँ दिसा गर्ने ठाउँमा दिसा अड्किएर ठूलै समस्या देखा पर्छ । बेलाबेलामा दिसा सफा गरिरहनुपर्छ ।

–भ्याक्सिनेसनजस्तै ‘म्याक्सोमाटोसिस’ गर्नुपर्ने हुन्छ, जुन अहिले नेपालमा उपलब्ध छैन ।
–बेलाबेलामा पशुचिकित्सकको सल्लाहमा जुकाको औषधि दिनुपर्ने हुन्छ । खरायोको वजन सन्तुलित राख्नुपर्छ, वजन बढेपछि यिनीहरूको स्वास्थ्यमा समस्या देखा पर्छ । बेलाबेलामा केशमा ब्रस गर्नुपर्छ जसले गर्दा खरायो सफा देखिनुका साथै केश लट्टामुक्त हुन्छ ।
स–साना कुरामा ध्यान दिन सके खरायोलाई विभिन्न रोगबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१