टीबीआईका अध्यक्ष भट्टले १ सय ४० नयाँ रेष्टुराँ थप गरे जापानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७४, मंगलवार १४:५१

काठमाडौं,१९ बैशाख ।  टीबीआई समूहले जापानमा एकैपटक १४० रेष्टुराँ खरिद गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं व्यवसायी भवन भट्टले जापानमा सुरु गरेको रेष्टुराँ व्यवसायलाई एकैपटक दोब्बर बनाएका हुन् ।

टीबीआईका अध्यक्ष भट्टले एक दशक अघिदेखि जापानमा सानो व्यवसायका रूपमा सेवा क्षेत्रमा लगानी सुरु गरेका थिए । भट्टले आफ्नो रेष्टुराँ व्यवसायलाई पब्लिक लिमिटेड बनाएका छन् । जापानमा लगानी गर्ने विदेशी लगानीकर्तामध्ये नेपालीको यो लगानीलाई ठूलो मानिएको छ ।

जापानमा रेष्टुराँ व्यवसायमा ख्याति कमाएका भट्टले १ सय ४० नयाँ रेष्टुराँ थप गर्दै जापानमा नेपालीको लगानीलाई उचाइमा पु¥याएका हुन् । भट्टले गत महिना रेष्टुराँ थप गरी २ सय ७० पुर्याएका छन् ।

नयाँ रेष्टुराँहरू खरिद गर्नुअघि १ सय ५० रेष्टुराँ सञ्चालनमा रहेकोमा वित्तीय अवस्था कमजोर भएका कारण २० रेष्टुराँ बन्द भएका थिए । भट्टले जापानका प्रमुख सहरमा आफ्नो एकछत्र व्यवसाय जमाउँदै नयाँ १ सय ४० रेष्टुराँ थप गर्न सफल भएका हुन् । टीबीआई होल्डिङ्स अन्तर्गतको होरी फुड होल्डिङ्स कम्पनीअन्तर्गत २ सय ७० रेष्टुराँ सञ्चालन हुने जनाइएको छ । होरी फुड होल्डिङ्स हालै जापानमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको कम्पनी हो ।

यसअघि रेष्टुराँतर्पm मात्र २२ अर्ब जापानी येनको कारोबार गदै आएको टीबीआई होल्डिङ्सले नयाँ संख्या थपिएसँगै अब ३० अर्बको कारोबार गर्ने भट्टको अनुमान छ । टीबीआई होल्डिङ्स भट्टले नै स्थापना गरेको समूह हो । यो समूहअन्तर्गत रेष्टुराँ, रियलइस्टेट, आयातनिर्यात र फुड एन्ड बेभरेज कम्पनी संचालनमा छन् । यसअन्तर्गत करिब ३ सय नेपालीसहित ४ हजार जापानी नागरिकले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

निरन्तर लगाव र मेहनतका कारण व्यवसायमा सफलता मिलेको प्रतिक्रिया दिँदै अध्यक्ष भट्टले व्यवसायसँगै समाजसेवालाई समेत निरन्तरता दिने बताएका छन् । उनी विश्वमा धेरै रेष्टुराँको सञ्चालक बन्ने पहिलो नेपाली हुन् ।  एनआरएनए जापानको संस्थापक सदस्य रही अध्यक्ष हुँदै अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) केन्द्रिय समितिमा प्रवेश गरेका उनी यस अभियानका अनुभवी मानिन्छन् ।

नेपाललगायत विदेशमा पनि व्यापार व्यवसाय तथा लगानीका हिसाबले भट्ट अग्रस्थानमा रहेका छन् । उनले नेपालमा समेत पर्यटन, बेभरेज, शिक्षा र सञ्चार क्षेत्रमा लगानी विस्तार गरिसकेका छन् ।

एनआरएनएको पर्यटन प्रवद्र्धन समितिको संयोजक रहेका भट्टले हालै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा अथिति देवो भवः कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले ५० भन्दा बढी देशमा नेपालीहरूसँग भेट गरी नेपालको पर्यटन प्रवद्र्धन अभियान र नेपालीका समस्याबारे छलफल गरेका छन् ।

२० वर्षअघि भाषा अध्ययन गर्ने विद्यार्थीका रूपमा जापान प्रवेश गरेका भट्ट जापानको मात्र नभइ विश्वभरका नेपालीहरूवीच सफलताको प्रतीक बनेका छन् ।

व्यवसाय सुरु गरेको १० बर्षको अवधिमा उनले जापानमा व्यावसायिक साम्राज्य खडा गरेका छन् भने संसारका विभिन्न मुलुकमा उनको व्यावसायिक दायरा फैलिएको छ । भट्टले ‘शेर्पा’ नेपाली रेष्टुराँबाट आफ्नो व्यावसायीक करियर सुरु गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१