नृपेशको मुसाफिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०७४, आईतवार १३:०६

‘म त अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला’
चलचित्र प्रेमगीतमा समावेश यो गजल निक्कै फिल्मी अवार्डहरुमा नोमिनेसनमा पर्यो । बरिष्ठ गजलकार डा. कृष्णहरी बरालले उत्कृष्ठ गीतकारको अवार्ड पनि हात पारे यहि गजलबाट । तर, कुनै पनि अवार्ड आयोजकले यो गजललाई गजल हो भनेर बुझेनन् अथवा गजल मान्न तयार भएनन्, गजल भनेर सम्बोधन गरेनन् ।
यो गजलको परिचय नै फेरिदिए र वर्षको उत्कृष्ठ गीत भन्दै सम्बोधन गरे । यो कुराले गीत र गजलमा राम्रो भेद सिकाउन सक्ने डा. कृष्णहरी बराललाई छोयो की छोएन थाहा भएन्, तर यहि गजलमा संगीत गरेका संगीतकार अर्जुन पोख्रेललाई भने घोचिरहेको रहेछ । उनले त्यो दुखाई शनिबार राजधानीमा भएको ‘मुसाफिर’ गजल संग्रह विमोचन कार्यक्रममा व्यक्त गरे । उनले रेडियोबाट पनि गीत भनेर गजल बजेकोप्रति गुनासो गर्दै सञ्चारकर्मीलाई पनि गीत र गजलका बारेमा सिकाउनु उल्लेख गरे ।
नेपाली सञ्चारका क्षेत्रमा स्थापित भएपछि बेलायत भासिएका गजलकार नृपेश उप्रेतीले आफ्नो गजलकृती सार्वजनिक समारोहमा बोल्दै आफूले लेखेका गजल आफूजस्तै भएको बताए । उनले गजल संग्रह विमोचन मात्रै गरेनन् आफ्ना आमा र बाबुको नाममा वार्षिक पुरस्कार समेत घोषणा गरे ।
उनले स्वं पिता योगराज उप्रेतीका र आमा नन्दकुमारी उप्रेतीका नाममा समान १२ हजार ५ सयको गजल सम्मान घोषणा गरेका हुन् । अघिल्लो वर्ष नेपाल आउँदा ‘आहान अर्को खुशी’ नामक एल्वम सार्वजनिक गरेका थिए । त्यो एल्वमबाट आएको रोयल्टी वापतको २५ हजार रकम पनि उनले चितवनका चेपाङ बालबालिकाका लागि हस्तान्तरण गरे । ‘मुसाफिर’ बिक्रीबाट आएको रकम पनि सामाजिक क्षेत्रमा नै खर्च गर्ने उनले बताए ।
बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले उप्रेतीका गजलमा काव्यिकता भटेको भन्दै उनको गजल लेखनीको निक्कै प्रशंसा गरे । गजलकार रुपक बनबासीले नृपेशका गजल माथि समिक्षा गरेका थिए ।
सर्वनाम थिएटरमा करिव २ घण्टा चलेको कार्यक्रममा ४ स्रष्टाले नृपेशका गजल वाचन गरेका थिए । नृपेशले गजल वाचन गर्दा दर्शक दिर्घाबाट वान्स मोरको बर्षा भएको थियो । आयोजकले समय नभएको बताउँदा नृपेश फेरि बेलायत जाने र आफूहरुले उनका गजल सुन्न नपाउने भन्दै आक्रोसित बनेका थिए । कार्यक्रममा पुग्ने सबैलाई ‘मुसाफिर’ गजल संग्रह भारी छुटसहित ५० रुपैयाँमा उपलब्ध गराईएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१