देशको विकासका लागि पर्यटनको विकास मुख्य आधार : राष्ट्रपति भण्डारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७४, शनिबार ०६:३७

ओखलढुंगा । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासका लागि पर्यटनको विकास मुख्य आधार भएको बताएकी छन् ।

खलढुंगाको सबैभन्दा अग्लो स्थानमा रहेको देम्बा डाँडामा प्रथम थोलेदेम्बा पर्यटन महोत्सव उदघाटन गर्दै राष्ट्रपति भण्डारीले देशको समृद्धि पर्यटन, कृषि र जलविद्युतबाट मात्र सम्भव रहेको बताइन् ।

पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । भूकम्पले क्षति पुर्‍याएको पर्यटकीय संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले धारणा राखिन् ।

‘पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन समेत दुई वर्षअघि आएको भूकम्पले क्षति पुगेका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा प्राथमिकता दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘ऊर्जाशील युवाको जोश जाागर ऊर्जा भाषा सीप आतिथ्यता कुशलता समेत समेटेर पर्यटनमैत्री तालिम दिई अवसर सिर्जना गर्नु आजको आवश्यकता हो ।’

जिल्लाको समग्र विकासका लागि सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटनमा ठोस मद्दत पुग्ने भएकाले सबैले ध्यान दिनुपर्ने भण्डारीले जोड दिइन् । बढ्दो सहरी करण औद्योगिकरण र प्रदुषणले गर्दा पर्यटकीय पदमार्ग प्रमुख आकर्षण बन्न थालेको बताउँदै भण्डारीले कृषि, पर्यटन र ऊर्जाको प्रचूर सम्भावना बोकेको नेपालमा पर्यटकीय पदमार्गहरुको विकास गर्नुपर्ने धारणा राखिन् ।

‘अथाह प्राकृतिक तथा सांस्कृतिक सम्पदाले युक्त यस क्षेत्रका जडीबुटीको प्रवर्द्धन गरी स्थानीय विकास गर्नुपर्ने खाँचो रहेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले अर्गानिक कृषि पर्यटनको प्रवर्द्धन गर्नुपर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१