भिजिट भिसामा खाडी देशहरु जान नेपालले लगायो रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७३, बुधबार ०७:४१

काठमाडौं,२३ चैत्र  । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरु जान रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

मानवतस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।

खाडीमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिमले अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलेमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले एक वर्षदेखि नै महिलालाई भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको दाबी गर्दै आएका छन् ।विमानस्थल अध्यागमनमा भिजिट भिसामा कडाइ हुन थालेपछि मानवतस्करहरूले श्रीलंका र भारत हुँदै खाडी मुलुक लैजान थालेका थिए । मानवतस्करले खाडी मुलुक लैजान तयार पारेका नेपाली महिलालाई महिनौंसम्म श्रीलंकामा बन्धक बनाएर राख्ने गरेका थिए ।पछिल्लोपटक खाडी मुलुकका कामदारको अवस्था अध्ययन गरी फर्किएको संसदीय समितिले अध्यागमन कर्मचारीको मिलोमतोमा महिलाको तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेपछि गृहले भिजिट भिसामा थप कडाइ गरेको हो ।

नेपाली कामदारको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक प्रभु शाहको टोली चैत ५ मा खाडी मुलुक गएको थियो । खाडीमा रहेका नेपाली कामदारको अवस्था बुझ्न गएको संसदीय टोलीले साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत महिलासँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

गैरकानुनी रूपमा खाडी मुलुक गएका महिलाको अवस्था अत्यन्तै नाजुक र दयनीय भएको भन्दै अध्यागमनले भिजिट भिसामा कडाइ गरेको हो । विशेष गरेर महिलालाई लक्षित गरी खाडी मुलुक साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट भिसामा जान रोक लगाइएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार चैत १ देखि २२ गतेसम्म भिजिट भिसामा जान लागेका ४ सय ३ महिला÷पुरुषलाई अफलोड (फिर्ता) गरेको छ । अध्यागमन कार्यालयले आइतबार २१, सोमबार १९ र मंगलबार साँझसम्म २४ जना भिजिट भिसा भएकालाई अफलोड गरेको हो ।

नेपालबाट भिजिट भिसामा गएका अधिकांश महिला नेपाल फर्कंदैनन् । त्यस्ता महिलाले कुनै समस्या आए नेपाली दूतावास पुगी शरण माग्ने क्रम बढेको छ । संसदीय समितिसँगको छलफलमा ती महिलाले विमानस्थलस्थित अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा खाडी मुलुक आएको बताएका थिए।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले महिलाले खाडी मुलुकमा पाएको दुःखलाई लक्षित गरी भिजिट भिसामा खाडी मुलुक जान रोक लगाइएको बताए । उनले अवैध ढंगले खाडी मुलुक गएका महिलाको अवस्था दयनीय पाइएकाले भिजिट भिसामा रोक लगाएको जानकारी दिए ।

कानुनी रूपमा खाडी मुलुकमा रहेका व्यक्तिले पत्नी-आमा वा दिदीबहिनीलाई बोलाए उनीहरूले भिजिट भिसा पाउने कि नपाउने भन्ने प्रश्नमा महानिर्देशक गेलालले अन्नपूर्णसँग भने, ‘अहिलेलाई त्यो पनि सम्भव छैन । भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन विमानस्थलस्थित अध्यागमन कार्यालयलाई निर्देशन दिइसकेको छु ।’विमानस्थल अध्यागमन कार्यालयका प्रमुख उद्धव भट्टराईले भिजिट भिसा भएका कसैलाई पनि खाडी मुलुक जान प्रस्थान अनुमति नदिइने बताए ।

खाडी मुलुक जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाईटिकट र होटेल बुकिङ भएको कागजपत्र देखाउँदा अध्यागमनका कर्मचारीले भिजिट भिसा दिने गरेका थिए। साउदी अरबमा मात्रै झन्डै ४० हजार हाराहारीमा नेपाली महिला अवैध रूपमा कार्यरत छन् । कुवेत, कतार र यूएईमा समेत नेपाली महिलाको संख्या उल्लेख्य छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१