स्वस्थ जीवनका लागि थर्मल थेरापी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७३, आईतवार १८:३६

भरत श्रेष्ठ । मानिस चेतनशील प्राणी हो भन्ने कुरा हामी सबैलाई सर्वविद्वितै भएकै कुरा हो। र पनि, हामी नेपालीहरुमाझ स्वास्थ्यप्रतिको कम चेतनशीलताले आज दिन प्रतिदिन अस्पतालहरुका बेड रिजर्भ गर्न बाध्य भइरहेका छौँ। विगत १५ वर्षदेखि आध्यात्मिक जीवन र १० वर्षदेखि योगी दिनचर्या बिताइराख्दा मलाई पनि स्वास्थ्यभन्दा ठूलो वास्तविक सम्पत्ति अर्को हुन सक्दैन भन्ने मानसपटलमा आउन थाल्यो । यही सोचले अघि बढ्ने क्रममा र विगतका केही वर्षदेखि आफूमात्र स्वस्थ नभई सिङ्गो समाजलाई नै स्वस्थ गराउने सोचका साथ थर्मल थेरापी उद्योगमा स्थापित हुन मन लाग्यो। हुन त हामी नेपाली अन्य देशको तुलनामा धेरै कुरामा पछि नै छौँ। तर, नेपालको भौगोलिक वातावरण र पुर्खाहरुले बिताउँदै आइरहेको जीवनचर्यालाई हेर्दा यस्तो लाग्छ अन्य देशका नागरिकहरुभन्दा हामी नेपालीहरु धेरै नै स्वस्थ र लामो आयू बाँच्नुपर्ने हो । हुन त विश्व स्वास्थ्य सङ्गठनकै तथ्याङ्कलाई आधार मान्ने हो भने पनि विश्वमा स्वस्थ भई जिउने मानिसहरु दिन–प्रतिदिन घट्दै गइरहेको कुरा भनिराख्नु नपर्ला । र पनि नेपालकै तथ्याङ्कमा दिन–प्रतिदिन मृत्युदर बढ्दै जाँदा कता–कता कहाली लागेर आउँछ । रोगी भएर ठूला–ठूला अस्पताल खोज्नुको सट्टा रोग नै नलागोस् भन्ने सोच ल्याउन नसक्नु नै आजको यो विडम्बना हो जस्तो मलाई तब लाग्यो, जब म केही समयअघि दक्षिण कोरियाको भ्रमण गर्ने सिलसिलामा त्यहाँका नागरिकमा देखिएको स्वास्थ्यप्रतिको जनचेतना र थर्मल थेरापीप्रतिको विश्वासबाट अझ प्रष्ट हुने अवसर मिल्यो ।
थर्मल थेरापी के हो ? र यसका विशेषता के हुन् ? साथै। आजको व्यस्त जीवनमा यसको आवश्यकताः
सामान्यतयाः थेरापी भन्नेबित्तिकै शारीरिक व्यायामलाई नै बुझ्ने गरिन्छ । शरीरका अङ्गहरुलाई विभिन्न ढाँचाहरुमा लगी तातो गराउने माध्यम नै थेरापी हो । तर, शरीरलाई यथास्थितिमा राखी प्रविधिको माध्यमबाट तातो प्रदान गर्ने प्रक्रिया नै थर्मल थेरापी हो । हामी सबैलाई सर्वविद्वितै भएको कुरा हो, सानो बच्चालाई स्वस्थ राख्नका लागि एउटी आमाले आफ्नो सन्तानलाई दिनरात ताप–सेक गरिरहेकी हुन्छिन् किनकि शरीरमा तापक्रम कम भयो भने विभिन्न प्रकारका रोग लाग्न थाल्छन् । हिजोका दिनमा हाम्रा पुर्खाहरुले पनि गरेको त्यही नै हो– तातो खानेकुरा खानु, दैनिक जीवनमा शरीरबाट पसिना निस्कने गरी काम गर्नु, अत्याधिक मात्रामा हिँड्डुल गर्नु, ताजा र स्वस्थवद्र्धक खानेकुरा खानु, समयमा खानु, समयमै उठ्नु, जुन कुरा आज हामी दिनप्रतिदिन कम गर्दै गइरहेका छौँ ।

जसका कारण पुर्खाहरुभन्दा कम स्वस्थ र छोटो आयू जीवन जिउन बाध्य भइरहेका छौँ । हिजोका दिनमा जसरी शरीरलाई तातो राख्ने काम नै हुने गर्दथ्यो, आज हामी प्रविधिका कारण शरीरको तामक्रम कम गर्ने कार्य गर्दै गइरहेका छौँ । हाम्रो शरीरको तापक्रम कम हुनासाथ पाचन प्रक्रिया समयमा नभई नशाहरु खुम्चनेदेखि शरीरका विभिन्न भित्री अङ्गहरुको कार्य गर्ने क्षमतामा समेत कमी आउने गर्दछ । सामान्यतया देख्न सक्छौँ, चिसोले हामीलाई खुम्च्याउने र तातोले हामीलाई फैलाउने गर्दछ । यही तातोको मह्त्वलाई बुझेर आज कोरियनहरु तातो खानेकुराहरु खाने, तातोमा सुत्ने गर्दछन् । आज कोरियाका हरेक अस्पतालदेखि सार्वजनिक स्थलहरुमा शरीरलाई तातो प्रदान गर्ने प्रविधि प्रशस्त मात्रामा देख्न सकिन्छ ।
जो व्यक्ति दैनिक हिँड्डुल गरी पसिना निकाल्ने काम गर्दछ, अन्य सामान्य व्यक्तिको तुलनामा त्यो व्यक्ति स्वस्थ भएको हामी देख्न सक्दछौँ । यसको प्रमुख कारण भनेको नै शरीरको तापक्रम सही भएको कारणले गर्दा नै हो । जुन थर्मल थेरापीद्वारा सदा हामीलाई ताप प्रदान गरी स्वस्थ राख्ने गर्दछ । सदियौँदेखि तातोको सहाराले जसरी पुर्खाहरु स्वस्थ रहनुभयो, त्यसैगरी आजको व्यस्त जीवनमा हामी सकेसम्म तातो खाने र शरीरलाई तातो राख्ने कार्य गरौँ । अन्यथा, विकल्पको रुपमा अहिले आइरहेको प्रविधि ‘थर्मल थेरापी’ लाई आत्मसात गरी शरीरलाई तातो राखौँ ।

प्रतिक्रिया