राजधानीमा कथा दिवसका अवसरमा चार स्रष्टा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७३, आईतवार १८:३२

काठमाडौं,२० चैत  । नेपाली आधुनिक कथासाहित्यका प्रणेता कथाकार गुरुप्रसाद मैनालीको स्मृति दिवस तथा कथा दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा चार स्रष्टा पुरस्कृत भएका छन् । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले कथाकार धनमान श्रेष्ठलाई कथाकार मैनालीको स्मृतिमा स्थापित ‘मैनाली कथा सम्मान’, कवि सन्ध्या पहाडी र पत्रकार तथा लेखक शेखर ढुङ्गेललाई कवि केदारमान व्यथितको स्मृतिमा स्थापित ‘व्यथित काव्य सम्मान’द्वारा सम्मानित गर्नुभयो । यसै गरी सङ्गीततर्फको सम्मान गायिका सुजाता उपाध्ययलाई प्रदान गरियो । सोही अवसरमा उपकुलपतिले साझा प्रकाशनबाट प्रकाशित कथाकार नरेन्द्रराज पौडेलको कथासङ्ग्रह ‘रोबोटको आँखा’ विमोचन गर्नुभएको थियो ।

समालोचक डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित स्रष्टा श्रेष्ठका साथै विमोचित कथासङ्ग्रहबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कथाकार माया ठकुरी, संस्कृतिविद् तेजेस्वरबाबु ग्वंग, साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

समारोहमा साझा प्रकासनले प्रकाशित गरेको कथाकार कथाकार नरेन्द्रराज पौडेलको नविनतम कथासङ्ग्रह ‘रोबोटका आँखा’ र कवि राधेश्याम लेकालीको नविनतम कविताकृति ‘आउँदै छ एउटा मान्छे’ को विमोचन पनि भएको थियो ।
समारोहमा भारतबाट आएका स्रष्टाहरु क्रमशः मुक्तिप्रसाद उपाध्याय, चन्द्रप्रकाश गिरी, युवराज काफ्ले, लोकनाथ उपाध्याय चापागाईं, तुलसी भट्टराई, सुदर्शन अम्बटे, लतिका जोशी र उषा शर्मालाई स्वागत सम्मान गरिएको थियो ।

साहित्यिक पत्रकार सङ्घ विशेष कार्यसमितिका सयोजक राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१