काठमाडौँ । बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ।
घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् । साना टुक्रादेखि ठूला प्लटसम्म नपुग रकम बैंकको भरमा बैनाबट्टा गर्नेहरु अहिले समस्यामा परेका हुन् ।
बिहान ९ देखि बेलुका ६ बजेसम्म भरिभराउ हुने मालपोत कार्यालयमा सेवाग्राही घटेका छन् । व्यवसायीका अनुसार एक देखि छ महिनासम्मको भाकामा घर जग्गाको कारोबार हुने हुँदा पहिले बैना गरिएका जग्गाको काम भइरहेको भए पनि आउँदो महिनाबाट यसको प्रत्यक्ष प्रभाव देखिने भएको छ ।
ब्याज तिर्नका लागि जग्गा सस्तोमा बेच्ने अवस्था क्रमशः आउने देखिएको छ । जग्गाको कारोबार बढ्दै जाँदा सर्वसाधारण जो कोहीले नगद हात पार्नासाथ जग्गामा लगानी गरेकाले बैंक वित्तीय संस्थाबाहेक व्यक्ति विशेषसँग पैसा नभएको भनाई आउन थालेको छ ।
प्रतिक्रिया