काठमाडौं । दुई साताअघिमात्र नेपाल राष्ट्र बैकको निर्देशनपछि कर्जामा ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले अघिल्लोपटक ब्याज बढाएको एक महिना हुँदानहुँदै फेरि कर्जाको ब्याज बढाउन थालेका छन्। निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर बढाउनुपरेको भन्दै बैंकरहरुले धमाधम फागुन मसान्तदेखि लागू हुने गरी कर्जाको ब्याज बढ्ने ऋणीलाई फोन गरेर जानकारी गराउन थालेका छन्।
लगानीयोग्य पुँजीको अभाव भएको भन्दै छोटो समयको मुद्दती खातामा १२ प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका बैंकहरुले उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकाले तुरुन्तै एकपछि अर्को गर्दै कर्जाको ब्याज बढाउन थालेको दाबी गरेका छन्। केही बैंकले फागुनदेखि लागू हुने गरी न्यूनतम ब्याज ११ प्रतिशत पुग्ने जानकारी आफ्ना ऋणीहरुलाई दिइसकेका छन्।
यसैगरी, ३–४ प्रतिशत ब्याजदर मै सर्वसाधारणले रकम संकलन गर्दै आएको कल बचत खाताको ब्याजदर बढाएर बैंकहरुले १०–१२ प्रतिशत दिन थालेपछि बचतकर्ताले बचत खाताको रकम उच्च ब्याज आउने खातामा सार्न थालेको बैंकरहरु बताउँछन्।
बैंकहरुले पहिले नै सम्झौता भइसकेका उद्योगलाई समेत पत्र पठाएर कर्जाको ब्याजदर बढाएको जानकारी उद्योग व्यवसायीलाई दिन थालेका छन्।
जसका कारण ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था आएको भन्दै उद्योग व्यवसायीले यसबाट लगानी घट्ने, रोजगारीका अवसर संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने चेतावनीसमेत दिन थालेका छन्।
प्रतिक्रिया