काठमाडौं । उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन डीपीआर अन्तिम स्वीकृतिका लागि एक साताभित्रै मन्त्रिपरिषदमा पठाउन लागेको छ ।
पछिल्लो पटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन गरेको छ । ‘रोपनीका जग्गा कित्ताकाट भएर घडेरीमा परिणत भएका छन्,’ आयोजनाका निमित्त प्रमुख ध्रुव सापकोटाले भने, ‘अब केही समस्या छैन । ठूला आयोजना भएकाले मन्त्रिपरिषदबाट अन्तिम स्वीकृत चाहिन्छ, साता दिनभित्रै हुन्छ होला ।
पहिलो चरणमा सतुंगल–चोभार खण्डको करिब ६ किमिमा काम गर्ने उनले बताए । पुरै बाहिरी चक्रपथ निर्माण गर्दा ८० हजारदेखि १ लाख रोपनीसम्म जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताए ।
निर्माण क्रममा भत्काइने घरको मुआब्जा दिने र जग्गाको साटो जग्गै दिने उनले बताए । ‘५० मिटर चौडाइ सडक वरपरै व्यवस्था गर्छौं, कोही विस्थापित हुनु पर्दैन,’ उनले भने, ‘२५० मिटर दायाँबायाँ परेका घर भत्काउँदैनौं, खाली जग्गालाई जग्गा विकास कार्यक्रममार्फत घडेरीमा परिणत गर्छौं ।’–कान्तिपुर दैनिकबाट
प्रतिक्रिया