मेरो विवाह भएको सात वर्ष भयो। एउटी छोरी पनि छिन्। हामी दम्पतीबीच प्रेम त छ, तर यौनसम्बन्ध सन्तोषजनक छैन। मेरा श्रीमान् तीव्र यौनइच्छा भए पनि शीघ्रस्खलनको समस्या भएका व्यक्ति हुनुहुन्छ। त्यसको ठीक विपरीत सम्बन्ध कम राख्नुपर्छ तर त्यो सन्तोषजनक हुनुपर्छ भन्ने मेरो मान्यता छ। यौनसम्बन्धी यही फरक मान्यताका कारण अरू समस्या पनि बल्झन थालेका छन्। मैले के गर्नुपर्ला ?
यौनका लागि धेरै कुरा आवश्यक पर्छन। जस्तो कि यौनका लागि वातावरण र परिवेश आवश्यक हुन्छ। यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ। आपसमा माया र भावना साटासाट गर्ने अवसर उपलब्ध हुनुपर्छ, अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ। यी सम्पूर्ण कुराको अभावमा मानिसहरूमा केही न केही त्रास, डर वा शंका उपशंकाहरू हुन्छन् र त्यसले गर्दा यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित छन्। उल्लेखित सबै परिवेश उपलब्ध भए पनि दुई जनाबीच यौनको सन्तुष्टिसँग सम्वन्धित केही समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक उपचार गर्नुपर्ने हुन्छ।
यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ। सामान्य रूपमा भन्दा दुवै यौनसन्तुष्टिको चरम अवस्थामा पुग्दा कुनै समस्या पनि आउँदैन। धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ। त्यतिबेला भने महिलालाई केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो। खासमा शीघ्रस्खलनले महिलालाईमात्र होइन, पुरुषलाई पनि यौन असन्तुष्टि भैरहेको हुन्छ।
यसका परम्परागत, मनोवैज्ञानिक एवं जैविक कारणहरू छन्। यौन एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन्। स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावधि औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ। यद्यपि चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र बिभिन्न किसिमका डर त्रासजन्य कुराहरू जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौनसम्बन्ध, परस्त्रीगमन,
केही क्षणअगाडिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौनअंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर(त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्रस्खलन हुन सक्छ। अर्को जैविक कारण के छ भने यौन अंग बढी नै संवेदनशील भए पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन। अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्रस्खलन हुने गरेको अध्ययनहरूले देखाएका छन। हाइपरथाइरोइडिज्म तथा शीघ्रस्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित हुने गरेको अध्ययनहरूले देखाएका छन। यसका लागि भने चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्रस्खलन केही समय रोक्न केही क्षण सम्पर्क नै रोक्नुपर्ने हुन्छ। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ। अर्को लिंग उत्तेजनाको क्रम पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्रस्खलन रोक्न सकिन्छ। यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ। यही क्रमलाई दोहोर्याइरहनुपर्छ। यसलाई सबैभन्दा प्रभावकारी बिधि मानिन्छ। यसका साथै डर, तथा त्रास पैदा हुने गतिविधिमा संलग्न हुनु हुँदैन। डर, चिन्ता तथा त्रास भएको खण्डमा मनोविद् वा मनोचिकित्सकसँग सम्पर्क राख्न सकिन्छ। साप्ताहिकबाट
प्रतिक्रिया