काठमाडौँ। मेलम्चीको पानी काठमाडौँ ल्याउन खनिएको सुरुङको ९ दशमलब ४ किमी सुन्दरीजल–सिन्धुखण्ड जोडिएको छ ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्म खन्न सुरु गरिएको २७ किमी लामो सुरुङमध्ये ९ दशमलब ४ किमी पुस १३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सो सुरुङको खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सुरुङको बीचमा रिबन काटेर उद्घाटन गरे ।
मेलम्ची खानेपानी विकास समितिले आज सुन्दरीजलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री खड्काले बिना कुनै जोखिम र दुर्घटना सुन्दरीजल–सिन्धुखण्ड ‘ब्रेक थ्रु’ भएको बताए ।
मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले विसं २०७४ को दसैँको उपहारका रुपमा काठमाडौँवासीलाई पानी दिन लागिएको सुनाउनुभयो । “नेपालमा ठूला आयोजना तीव्रगतिमा भएको पहिलो उदाहरण यो हो, अन्य राष्ट्रिय गौरवका आयोजना पनि यही गतिमा अघि बढ्नुपर्छ”– उनले भने ।
प्रतिक्रिया