चिया किसान तथा मजदुरको समस्या स्थायी रुपमा समाधान गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०७३, सोमबार १५:०७
बिर्तामोड । लामो समयदेखि झापामा वल्झिदै आएको चिया किसान तथा मजदुरको समस्या स्थायी रुपमा समाधान हुनुपर्नेमा झापाका सांसद तथा राजनीतिक दलका नेताहरुले जोड दिएका छन् ।
कृषि विभाग र मन्त्रालयका उच्च पदस्त अधिकारीसहित सांसद र दलका नेताहरुवीच आज सोमवार बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा भएको छलफलमा चिया नीतिमा आवश्यक परिर्वतनसहित किसान , मजदुर र उद्योगीका समस्या समाधानमा जोड दिइएको हो । 
चिया विवादको दीगो समाधानका लागि छलफलमा चिया पत्तीको मूल्य निर्धारण गर्न अक्सन वजारको स्थापना गरिनुपर्ने , चियाको नेपाली ट्रेडमार्क विकास गरिनुपर्ने, चियाको अन्तराष्ट्रिय वजार खोज्नु पर्ने , मजदुर किसान र उद्योगीलाई ऋण, मल, शिक्षा र स्वास्थ्यमा सहुलीयत प्रदान गर्नुपर्नेमा झापाका सांसद तथा नेताको सुझाव छ ।
 छलफलमा कृषि विभागका उपमहानिर्देशक तथा चिया विवाद समाधानको विषयमा छलफल गर्न गठित समितिका संयोजक सूर्यप्रसाद पौडेलले चिया विवादको दीगो समाधानका लागि नीति निर्माण तहसम्म भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समितिका सदस्य सचिव तथा राष्ट्रिय चिया तथा कफी विकास वोर्डका निर्देशक दीपक खनालले विभिन्न सरोकारवालासंग छलफल तथा स्थलगत भ्रमण गरी चिया क्षेत्रमा देखिएको समस्याको दीगो समधानमा समिति क्रियाशील रहेको बताउनुभयो ।
सांसद सुधीरकुमार शिवाकोटीले मजदुर, किसान र उद्योगीका सामस्या सुक्ष्म ढंगले अध्ययन गरी अब नबल्झिने गरी समाधान गर्न सुझाव दिनुभयो । उहाँले नेपालमा नै चिया पत्तीको मूल्य निर्धारण गर्ने ‘मेकानिजम’ तयार गर्न र अक्सन वजार खोल्न आग्रह गर्नुभयो ।
नेपाली काग्रेस झापाका सभापति उद्धव थापा र निर्वतमान उप सभापति देउमान थेवेले चियाको ट्रेड मार्क , अक्सन वजार स्थापना, मजदुर किसान र उद्योगीलाई सहुलीयत र हरियो पत्तीको मूल्य कायम गर्ने वैज्ञानिक संयन्त्र खडा गरिए चिया क्षेत्रको समस्याको दीगो समाधान हुने बताउनुभयो ।
नेकपा एमालेका सचिव मदन अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिपी कडरिया, स्थानीय शान्ति समिति संयोजक तथा सद्भावना पार्टी अध्यक्ष सूर्यनारायण गणेश, नेकपा मालेका सचिव नवराज खरेल, तमलोपाका अध्यक्ष त्रिनारायाण  राजवंशी, राप्रपाका इश्वरी दाहाल, संघीय समाजवादी फोरम नेपालका रमेश लिम्बूले समायनुकुल नीति परिर्वतन आवश्यक रहेको तथा  सहकारी मार्फत कृषकको उद्योगलाई चैतसम्ममा  सञ्चालन हुनेगरी तत्काल वजेट निकासा गर्न सके तत्कालका लागि समस्या हल हुने बताउनुभएको थियो । झापामा सहकारी मार्फत एउटा चिया उद्योग सञ्चालनमा छ भने तीनवटा निर्माणधिन छन् । तर समयमा बजेट निकासा नहुदा निर्माणले गति लिन नसकेको बताइएको छ ।
  छलफलमा संवाद समूह केन्द्रीय टिमकी सुमिना राई कार्की, चिया तथा कफी विकास वोर्डका उपाध्यक्ष रोमनाथ ओली लगायतको  उपस्थिति रहेको थियो । छलफलको सहजीकरण सम्वाद समूह सचिवालयका संयोजक अधिवत्ता दीपेन्द्र भट्टराई र अधिवत्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१