काठमाडौं । काठमाडौं–हेटौडा सुरुङ मार्ग बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा स्थापनाको ५ वर्षमा ३ वटा अध्यक्ष परिवर्तन भएका छन्। निवर्तमान अध्यक्ष भवन भट्टले दिएको राजिनामा कम्पनीको बोर्डले स्वीकृति गरेर कम्पनीका सहअध्यक्षमा लालकृष्ण केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरेपछि स्थापनाको पाँचवर्षमा तीनजना अध्यक्ष परिवर्तन हुनुबाहेक केही भएको छैन।
केही समयअघि नियुक्त भएका अध्यक्ष भवन भट्टले पनि अहिलेसम्म लगानी जुटाउन सकेका छैनन्। कम्पनीले अहिलेसम्म कुनै पनि निर्माणका काम अघि बढाउन सकेको छैन। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको तर्फबाट नवनियुक्त अध्यक्ष केसीले तयार पारेको इन्जिनियरिङ रिपोर्टका आधारमा नेपाल सरकारले पुर्वाधार विकास कम्पनीलाई सुरुङमार्ग निर्माणको लागि लगानी जुटाउनको लागि २०६९ वैशाखमा अनुमति दिएको थियो।
अनुमति २ वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्न निर्देशन दिएपनि अझैसम्म पनि उक्त प्रतिवेदन पेश हुन सकेको छैन। देशको राजनीतिक अवस्था,बन्द हडताल,भूकम्प तथा कम्पनीकै आन्तरिक कारणले पनि तोकिएको मितिमा काम हुननसकेको नवनियुक्त अध्यक्ष केसी स्वीकार गर्छन्।
कम्पीनीमा स्थानिय राजनीति पसेको भन्दै काम गर्ने वातावरण नभएको भन्दै विगतमा बोर्डका सदस्यहरुले गुनासो गर्ने गरेका थिए। कम्पनीभित्रकै राजनीतिक खिचातानी तथा देशको पनि स्थिति त्यस्तै भएकोले समयमै काम गर्न नसकिएको बताउँछन् एक संचालक।
पहिलोचरणमा प्राविधिक अध्ययन तयार पारेको कम्पनीले त्यसैको आधारमा लागनी,सम्भाव्यता र त्यसका आधारसहितको आर्थिक प्रतिवेदन सरकारसमक्ष पेश गरेपछि त्यसैको आधारमा सरकारले निर्माणको जिम्मा दिने छ। तीसवर्षसम्म कम्पनीले संचालन गर्ने सम्झौता यसअघि नै सरकारसँग भइसकेको छ।
आयोजनामा २८ अर्ब विदेशी र ७ अर्ब पूर्वाधार विकास कम्पनी आफैंले लगानी गर्ने गरी योजना बनाएकोमा स्वदेशीमा कम्पनीका प्रवद्र्धकबाट ६० प्रतिशत रकम जुटाउने कम्पनीले बताएको थियो । तर हालसम्म स्थानियको तर्फबाट उठाइएको ३० करोडबाहेक अन्य एक सुक्का पैसा पनि उठ्न सकेको छैन।
यसअघिका अध्यक्ष भवन भट्टले ५ अर्ब लगानी आफै गर्ने र विदेशी लगानी जुटाउने प्रतिबद्धतासहित अध्यक्ष भएपनि उनले प्रतिबद्धता पुरा नै नगरी अध्यक्षबाट बिँदा लिइसकेका छन्।
काठमाडौंदेखि हेटौंडासम्म सडकखण्ड २ सय २७ किलोमिटर छ। सुरुङ मार्गको लम्बाइ ५८ किलोमिटर मात्र हुनेछ। निर्माणपछि एक घन्टामै काठमाडौंबाट हेटौंडा पुगिने कम्पनीको दाबी छ।
चार लेनको यो मार्गमा तीनवटा सुरुङ हुने डिजाइनमा छ। सुरुङको लम्बाइ ४ हजार ५ सय ५२ मिटर हुनेछ।
आयोजनाले अब खाँदिले सेप लिन्छः अध्यक्ष केसी
कम्पनीमा हिजोमात्र अध्यक्षमा नियुक्त भएका कृष्णलाल केसीले भने अव आयोजना चुनौतिपुर्ण अवस्थामा प्रवेस गरेको र अब कि वार पारको अवस्थामा रहेको बताएका छन्।
अध्यक्ष केसीले विगतमा विभिन्न कारणबाट ढिला भएपनि अव त्यसैगरी अगाडि बढ्न सम्भव नभएको र जसरी पनि अगाडि बढ्नुको बिकल्प नभएको बताएका छन्।
यसअघि नै सरकारसँग ३० वर्षेसम्झौता भएको र सरकारले आर्थिक प्रतिवेदन पेश गर्न दिएको समय गुज्रेपनि अब यी सबै समस्यालाई सुल्झाएर आयोजनालाई नयाँ शिलाबाट शुरु गरिने केसीले उल्लेख गरे।
‘कम्पनीको सुरुवातदेखिमात्र होइन यस्तै चुनौतिपुर्ण आयोजनाको व्यवस्थापन गरेको मेरो स्वदेश तथा विदेशको पनि अनुभव छ’केसीले सेतोपाटीसँग भने,‘यत्तिको लाभदायक र सम्भाव्य आयोजनालाई कुनै पनि हालतमा फुत्किन नदिनेगरी हामी का सुरु गर्छौ।’
लगानी,प्राविधिक समस्याहरु समाधानको लागि नीतिगत स्पष्टता,कुसल व्यवस्थापन तथा टिमवर्कलाई समायोजन गरेर समाधान गर्ने केसीको प्रतिबद्धता छ।
‘यसबीचमा हामीले विभिन्न विदेशी लगानीकर्ता तथा सम्भाव्य अन्य सबै लगानीका बिकल्पहरुको बारेमा छलफल गरिरहेका छौं’केसीले सेतोपाटीसँग भने,‘केही कम्पनीहरुसँग सहमति पनि गरेका छौं।’
उचित व्यवस्थापन र सबैलाई समायोजन गरेर काम गर्ने वातावरण सिर्जना भएमा लागनीको समस्या नहुने केसीको भनाई छ। यो समाचार हामीले सेतोपाटी बाट लिगेका हौ ।
प्रतिक्रिया