पाँच सय पशुलाई नगद सुत्केरी भत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७३, शुक्रबार ०६:४७

मकवानपुर। जिल्ला पशुसेवा कार्यालय मकवानपुरले पशुलाई नगद सुत्केरी स्याहार भत्ता वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ मा सुत्केरी स्याहारको लागि ५ सय पशुलाई नगद भत्ता वितरण गर्ने कार्यालयले जनाएको छ ।
सुुत्केरी स्याहारको लागि कार्यालयले अघिल्ला वर्षमा पशु स्याहार आहार वितरण गरेपनि कार्यविधि परिवर्तन भएपछि दुग्ध सहकारी संस्थामार्फत् नगद रकम वितरण गरिने कार्यालय प्रमुख डा।रामप्रकाश प्रधानले जानकारी दिए । उनका अनुसार पशु पालन गर्ने किसान दुग्ध सहकारी संस्थामा आवद्ध, कृत्तिम गर्भाधान गरेकोे र पशु बीमा गरिएको मापदण्ड पुरा गर्ने किसानलाई पशु सुत्केरी खर्च उपलब्ध गराइने छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षभित्र हटियामा ७५, आमभञ्ज्याङमा ५० र चौघडामा ७५ गरी ५ सय पशुलाई भत्ता दिने योजना पारित भएको छ ।
‘किसानलाई भत्ता वितरण गरिसकेपछि कार्यालयले दिएको निर्देशन पुरा गरे वा नगरेको निरीक्षण गरिने छ’ कार्यालय प्रमुख प्रधानले भने ‘सुत्केरी स्याहार भत्ता लिने किसानले पशुलाई क्याल्सियम, खनिज पदार्थ नखुवाएको र थुनेलो नभएमा पछिल्ला सुविधाहरु कटौती गरिने छ ।’
कार्यालयले पहिलो चरणमा ४५ जना किसानलाई स्याहार खर्च दिने भएको छ । दुग्ध सहकारी संस्था मार्फत सहकारीमा आबद्ध ३५ जनालाई नगद १ हजार रुपैयाँ वितरण गरेपनि बाँकी १० जनालाई सहकारीले निर्णय गरेर उपलब्ध गराउने जनाइएको छ । कार्यालयले चौघडामा रहेको जनचेतना दुग्ध उत्पादक सहकारीमा आबद्ध रहेका सदस्यलाई सहकारी भवनमै कार्यक्रममा आयोजना गरेर रकम वितरण गरेको हो । जिल्लामै पहिलो पटक नगद भत्ता वितरण गरिएको बताउँदै कार्यालय प्रमुख प्रधानले सहकारीमार्फत रकम वितरण गरेमा पारदर्शी हुने दाबी गरे ।
भत्ता लिइसकेपछि किसानहरुले मकवानपुर कृषि क्षेत्रमा अग्रसर भइरहेको अवस्थामा जम्मा ५ सय पशुलाईमात्र भत्ता दिइनु जायज नभएको बताएका थिए । उनीहरुले कार्यालयको पहलमा जिल्लाको सबै गाविस समेट्नेगरी भत्ता वितरण गर्न आग्रह गरेका छन् । कार्यालयले चरणबद्ध रुपमा भत्ता वितरण गरेर निर्देशन र नियमन गर्ने जनाएको छ । नया पत्रिका बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१