बैतडी । जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो ।
कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ । कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । सहरीकरणसँगै मान्छेमा अल्छिपना बढ्दै गएको छ ।
जिल्लाको चौखाम, थलाकडा, कुवाकोटलगायत क्षेत्रमा कोदोको खेती गरिँदै आएको छ । उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने कृषकको भनाइ छ ।
मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ । परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ ।
कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाको लागि सबैभन्दा उत्तम मानिन्छ ।
प्रतिक्रिया