काठमाडौँ ,१९ मङ्सिर । बौद्ध प्रहरीले अवैध रुपमा काठमाडौैं भित्रिएको १० किलो सुन बरामद गरेको छ। बौद्ध ६ फूलवारीमा चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाइराखेको अवस्थामा १ किलोका १० वटा सुनको बिस्कुट बरामद गरिएको हो।
शुक्रबारराती ९ बजे तिर चेकजाँचका क्रममा प्रहरी देखेपछि मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति भागेका थिए। त्यसपछि बा ५५ प १७७२ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा १० किलो सुन भेटिएको हो।
सुन मोटरसाइकलको इन्जिन रहने क्षेत्रमा लुकाइएको डिएसपी विपिन रेग्मीले बताए। मोटरसाइकल धनीको नाम, ठेगाना पत्ता लगाउन प्रहरीले यातायत कार्यालयमा लेखि पठाएको छ। पछिल्लो समय प्रहरीले बरामद गरेको यो सुन सुन ठूलो परिमाणको हो। यसअघि ३ वर्षअघि प्रहरीले कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो।
बौद्धबाट बरामद भएको सुनको मूल्य ४ करोड २८ लाख बराबरको रहेको अनुमान गरिएको छ।पछिल्लो समय चीनबाट नेपाल सुनको तस्करी हुदैँ आएको छ। चीनबाट नेपालमा तस्करी भएको सुन भारतीय बजारमा लगिन्छ।
बरामद भएका सुन प्रहरीले राजस्व अनुसन्धान विभाग पठाउँछ। विभागले सुन राष्ट्र बैंकमा जम्मा गर्छ । राष्ट्र बैंकले सुनको प्रचलित मूल्यअनुसारको रकम सरकारको खातामा जम्मा गर्छ ।
प्रतिक्रिया