रहस्यमयी जीवन बाँचेका फिडेल क्यास्ट्रोका पारिवारिक जीवनदेखि सम्पत्तिसम्मका १० रोचक तथ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७३, सोमबार १२:४१

fiedel-castroक्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा गत शनिबार मृत्यु भएको छ ।

क्यूबामा कम्युनिष्ट क्रान्तिका जनक मानिने फिडेल आफ्नो जीवनकालमा सुरक्षाको निकै ठूलो घेरबिच बस्ने गर्दथे जसका कारण उनी बारे बाहिरी दुनियाँलाई केही पनि थाहा हुँदैन थियो । उनको बारेमा केही जानकारी सार्वजनिक भएपनि निकै लामो समयपछि मात्र थाहा हुन्थ्यो ।

उनी आफैले एक पटक बेलायती प्रेससँग कुराकानीको क्रममा भनेका थिए, ‘हामीले कहिले पनि थाहा पाउन सक्दैनौं कि फिडेल क्यास्ट्रोले कति रहस्यहरु आफूसँग चिहानमा लिएर जानेछन् ।’

क्यूबामा उनको नीजि जीवनबारे केही कुराकानी हुँदैनथ्यो । उनको जीवनबारे न कसैले मिडियासँग कुराकानी नै गर्दथे । यतिसम्म कि उनको तस्बिर खिच्नसमेत कसैलाई अनुमती थिएन ।

क्यास्ट्रो चुस्त सुरक्षाको गोलघेरा बस्नुका कारण उनी अमेरिकी गुप्तचर एजेन्सी सीआइएको निशानामा थिए । यसबारे उनले सन् २००० मा हवानामा आयोजित एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘उनीहरु म शौचालय गए नगएकोदेखि मेरो प्रोस्टेट ग्रन्थीको आकार कत्रो छ भनेरसमेत थाहा पाउन खोज्छन् ।’

तर उनी सार्वजनिक नहुनुको पछाडि सुरक्षा मात्र थिएन । नेताहरुको सार्वजनिक र नीजि जीवन गरी दुई भिन्न प्रकारको जीवन हुन्छ जसलाई मिश्रित हुन दिनुहुन्न भन्ने मान्यता राख्थे, फिडेल ।

चर्चित लेखक ग्याब्रियल गार्सिया मार्केजले उनी बारे भनेका थिए, ‘मलाई लाग्छ, म फिडेललाई राम्रोसँग चिन्दछु । कतिले त उनी मेरा सबैभन्दा राम्रा साथी सम्झन्छन् तर नीजि रुपमा फिडेल को हुन् ? वास्तविक रुपमा फिडेल कस्ता छन् ? यो विषयमा कसैलाई पनि थाहा छैन ।’

क्यूबा र क्यास्ट्रोमाथि नजर राख्ने मुख्य विश्लेषक ब्रायन लाटेलले भनेका थिए, ‘संसारका जतिपनि कुराहरु छन्, ती मध्ये सबैभन्दा थोरै जानकारी कसको छ भन्दा फिडेल क्यास्ट्रोको नाम आउँछ ।’

यस्तो जीवन जिउने फिडेल क्यास्ट्रोको १० रहस्यबारे थाहा पाऔंः

१. क्यास्ट्रोको जन्मः
क्यास्ट्रोको जन्म कहिले भएको थियो, यो विषयमा पनि मानिसहरुले आ–आफ्नो धारणा राखेका छन् । यद्यपी, दस्तावेजका अनुसार उनको जन्म सन् १९२६ मा भएको थियो । तर अनुसन्धानकर्ताहरु भने उनको जन्म सन् १९२७ मा भएको दाबी गर्छन् ।

क्यास्ट्रोमाथि एउटा किताब लेखिसकेका मारियो बेयराका अनुसार क्यास्ट्रोका बुवाले उनको जन्ममिति बढाएका थिए ता कि उनले माथिल्लो कक्षामा भर्ना हुन सकून् । यसबारे क्यूबेली क्रान्तिको सुरुवाती वर्षहरुमा उनकी आमा लिना रुजले बताउने गरेकी थिइन् ।

२. क्यास्ट्रोको नामः
उनको आधिकारिक नाम फिडेल एलेजान्द्रो हो । अनुसन्धानकर्ताहरुका अनुसार क्यास्ट्रोले आफ्नो नाम परिवर्तन गरेका थिए । यस विषयमा अनुसन्धान गर्ने ब्राजिलकी अनुसन्धानकर्ता फारियाटीले कास्त्राको सुरुवाती दिनको दस्तावेजका अनुसार उनको वास्तविक नाम फिदेल हिपोलिटी रुज गोन्जालेज भएको बताएकी छिन् ।

सन् १९३८ देखि १९४१ को उनको एक दस्तावेज अनुसार उनको वास्तविक नाम पछि फिडेल अलेजान्द्रो कास्त्रो रुज भयो । अलेक्जेन्डर द ग्रेटको नामबाट प्रभावित भएर कास्त्रोले आफ्नो नाम अलेजान्द्रो जोडेको अनुसन्धानकर्ता दाबी गर्ने गर्दछन् ।

३. क्यास्ट्रोको घरः
कास्त्रो जुन घरमा बस्दथे, त्यसलाई क्यूबेली गुप्तचर सर्भिसले जिरो प्वाइन्ट नाम दिएको थियो । यो घरको बारेमा संसारलाई पहिलो पटक त्यतिबेला थाहा भयो जब क्यास्ट्रोका छोराकी पूर्व प्रेमिकाले उनको घरको भिडियो अमेरिकी ब्रोडकास्टर यूनिभिजनलाई दिइन् ।

उक्त भिडियोमा एउटा लामो करिडोर, खेलकूदको उपकरण, स्टेन्लेस स्टिल भएको किचन र डाइनिङ टेबलको साथै आठवटा टेलिभिजन स्टेशन देखिएको छ ।

क्यास्ट्रोको घरको बारे आजसम्म पनि रहस्य नै छ । यो हवानामा गोल्फ कोर्स मैदानमा घोडाको आकृतिमा बनेको भवन हो ।

४. क्यास्ट्रोको सम्पत्तिः
फिडेल क्यास्ट्रोको कति सम्पत्ति छ यस विषयमा पनि मानिसहरुले आ–आफ्नो धारणा राखेका छन् । फोर्ब्स म्यागजिनले क्यास्ट्रोलाई पहिलो पटक सन् १९९७ मा आफ्नो सबैभन्दा धनी मानिसहरुको सूचीमा समावेश गर्यो । सन् २००६ मा म्यागजिनले क्यास्ट्रोको सम्पत्तिको आंकलन ९० करोड डलर गरेको थियो । यद्यपी, क्यास्ट्रोले यसलाई झुटो बताएका छन् ।

५. क्यास्ट्राको पहिरनः
५० को दशकका सुरुवाती वर्षमा क्यास्ट्रो सधैं सैन्य ड्रेसमा देखिन्थे । उनले एक पटक भनेका थिए युनिफर्म लगाउँदा सधैं टाई लगाउनुपर्ने झन्झट हुँदैन । सन् १९९४ मा साथी लेखक ग्याब्रियल गार्सिया मार्केजको सल्लाहअनुसार उनले क्याजुयल शर्ट लगाउन सुरु गरेका थिए ।

सन् २००६ मा उनको शल्यक्रिया भयो र त्यसपछि उनी ‘स्पोर्टी लुक’ मा पनि देखिए । टाइम पत्रिकाले उनलाई सबैभन्दा खराब पहिरन लगाउने नेताको रुपमा समावेश गर्यो ।

६. क्यास्ट्राको पारिवारिक जीवनः
क्यास्ट्रोको पहिचान यस्तो नेताको रुपमा भयो जसको थुप्रै महिलासँग सम्बन्ध रह्यो । उनकी श्रीमती र बच्चाको संख्याको विषयमा पनि अड्कलबाजी गर्नेहरुको कमी छैन ।

पत्रकार एन लुइस बारडेकले सन् २००९ मा ‘विदाउट फिडेल’ नामक पुस्तक लेखे जसमा क्यास्ट्रोको कम्तीमा पनि ६ महिलासँगको सम्बन्धले ११ जना सन्तान रहेको बताइएको छ ।

उनको पहिलो विवाह सन् १९४८ मा मिर्टा डियाज बालार्टसँग भएको थियो जसलाई उनले छात्र जीवनमा भेटेका थिए । उनको यो विवाह सन् १९५५ सम्म टिक्यो । तीन भिन्न भिन्न महिलाबाट फिडेलको एकै वर्ष तीन सन्तान जन्मिए । डालिया सोटो डेल वालेसँगको सम्बन्ध पछि उनका पाँच सन्तान भए यद्यपी क्यास्ट्रोले उनलाई सन् १९८० सम्म विवाह गरेनन् ।

७. खेलसँग लगावः
फिडेल क्यास्ट्रोलाई बेसबल निकै मनपर्दथ्यो । यसका साथै उनी बास्केटबलमा पनि निकै रुची राख्दथे ।

८. चुरोटको लतः
चुरोटको सुरुवात फिडेलका एक बडिगार्डका साथीले विशेषरुपमा उनका लागि चुरोट बनाएका थिए – कोहिबा ब्रान्ड । ६० को दशकमा उनको लागि बनाइएको यो चुरोट पछि ब्रान्डको रुपमा स्थापित भयो । यद्यपी, स्वास्थ्यका कारणले सन् १९८५ देखि उनले चुरोट पिउन बन्द गरे ।

९. क्यास्ट्रोको गुड लकः
क्यास्ट्रो भाग्यमानी भएको धेरैले टिका टिप्पणी गर्ने गरेका छन् । यस बारे क्यास्ट्रोले भनेका थिए, ‘ओलम्पिकमा ज्यानमारा हमलाबाट बच्ने कुनै प्रतियोगिता भए, मैले स्वर्ण पदक जित्थें ।’

उनका वरिपरिका मानिसहरुका अनुसार उनमा केही अलौकिक गुण थियो ।

१०. कलाकार क्यास्ट्रोः
क्यास्ट्रो जम्मा ४८ फिल्म र डकुमेन्ट्रीमा संलग्न भए । यसमा विशेष के छ भने यीमध्ये दुई फिल्म हलिउड प्रोडक्सनको हो ।

वेबसाइट आइएमडीबीका अनुसार आफ्नो कलेजको दिनमा क्यास्ट्रोले कम्तिमा पनि दुई फिल्म – द होलिडे इन मेक्सिको (सन् १९४६) र द कमेडी इजी टु वेड (सन् १९४६) मा अभिनय गरेका थिए । यद्यपी, विश्लेषकका अनुसार कास्त्रो न त नृत्य नै गर्न सक्छन् न गीत गाउन सक्छन् । ratopati

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१