लमजुङ । टेलिभिजन र फिल्मका पर्दामा सधैंजसो देखिने नायिका रेखा थापालाई आफ्नै घरआँगनमा देखिएपछि स्थानीयले एकाएक घेरे ।
शनिबार दिउँसो तार्कुघाटस्थित जेष्ठ नागरिक आश्राममा आएका उनलाई हेर्न पारीपट्टी सुन्दरबजार नगरपालिकाको पाउँदीबजारदेखि स्थानीयको भीड लागेको थियो । उनलाई पछ्याउँदै करीब आधा घण्टाको बाटो उनीसँगै स्थानीय जेष्ठ नागरिक आश्राममा आइपुगे । नायिका थापा आश्राममा आइपुग्दा वरपरका स्थानीयले घेरिएको थियो । उनीसँगै गायिका शर्मिला गुरुङ, गायक प्रकाश कटुवाल, सिमान्त सन्तोष, कलाकार रमेश दुलाल लगायतलाई दर्शकले अघिपछि घेरे ।
अनलाइन पत्रिका फिल्मीजुम डटकमले आयोजना गरेको कार्यक्रममा रेखा थापा लगायत कलाकारहरु लमजुङ आएका हुन् । संस्थाको पाचौं बार्षिक उत्सव तथा बृद्धाश्रमको सहयोगका लागि आश्रामस्थलमै कार्यक्रम गरेको फिल्मीजुम डटकमकी सम्पादक स्वस्तिका चिलुवाले बताइन् ।
उनले हरेक वर्ष बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई सम्मान गर्दै आएको र आउँदा दिनमा पनि सम्मान गर्ने बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नायिका रेखा थापाले बालबालिका र बृद्धबृद्धालाई माया गरेमा मात्र सम्मुन्नत समाजको निर्माण हुने बताइन् ।
बृद्धबृद्धा जिउँदा इतिहास र बालबालिका भविष्यको कर्णधार भएकाले उनीहरुलाई सधैं माया र सम्मान गर्नुपर्नेमा उनले जोड दिइन् । उनले स्टेजमै उभिएर गीत पनि गाइन् । नायिका थापाले बृद्धबृद्धालाई दोसल्ला, पछ्यौरा ओढाउनुका साथै लत्तकपडा वितरण गरिन् ।
सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाका अनुसार आश्राममा अहिले १५ जना जेष्ठ नागरिक छन् । विभिन्न नागरिक र संघसंस्थाको सहयोगले जेष्ठ नागरिकलाई नि:शुल्क व्यवस्थापन गर्दै आएको बताए ।
प्रतिक्रिया