भारतीय राष्ट्रपतिका लागि बुद्ध एयरको विमान चार्टर गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७३, बुधबार १३:१४

काठमाडौं, १० कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म गर्ने नेपाल भ्रमणका क्रममा काठमाडौंबाट जनकपुर र पोखरा जाँदा बुद्ध एयरले चार्टर सेवा दिने भएको छ । मुखर्जी कात्तिक १७ गते बुधबार भारतीय वायुसेवाबाट काठमाडौं आउँदैछन् । उनले काठमाडौंका अतिरिक्त जनकपुर र पोखरा भ्रमण गर्ने तालिका सार्वजनिक भइसकेको छ ।
राष्ट्रपति मुखर्जी १९ गते बिहान काठमाडौंबाट बुद्ध एयरको जहाज चार्टर गरेर जनकपुर जाने भएका छन् । जनकपुरमा एक घन्टाको कार्यक्रम सकेर उनी पोखरा जानेछन् । पोखराबाट सोही दिन काठमाडौं फर्कने र भारत प्रस्थान गर्ने भ्रमण तालिका छ ।

बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले ४२ सिट क्षमतका एटीआर ४२ नामक दुईवटा जहाज एक दिनका लागि चार्टरमा प्रयोग हुने जानकारी दिए । एक दिनका लागि दुईवटा जहाज प्रयोग गर्ने भए पनि भीभीआईपीको सेवा भएकाले अर्को एउटा एटीआरलाई पनि भैपरी आउने सेवाका लागि तयारी अवस्थामा राखिनेछ ।

उनका अनुसार एक दिने चार्टरका लागि बुद्धले ३३ हजार डलर प्रस्ताव गरेकामा पर्यटन मन्त्रालयले १५ प्रतिशत छुट मागेकोले पाँच हजार डलर घटाएर २८ हजार डलरमा सेवा दिन लागिएको छ । राष्ट्रपतिलाई सेवा दिन पाउनु बुद्ध एयरका लागि ब्रान्डिङ पनि हो ।

पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रमोद नेपालले निजी क्षेत्रले भारतीय राष्ट्रपतिको सेवामा जहाज प्रदान गर्ने अवसर पाउनुले यसको निकै ठूलो ब्रान्डिङ हुने बताए । राष्ट्रपतिको सेवाका लागि सबैजसो देशमा सेनाले नै जहाज व्यवस्था गर्ने प्रचलन छ । अन्नपूर्ण पोष्टबाट ।
राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवासँग पर्याप्त जहाज नभएकाले पनि निजी क्षेत्रले भारतीय राष्ट्रपतिको सेवाका लागि अवसर पाएको हो । वायुसेवा निगमसँग आन्तरिक उडानमा जम्मा दुईवटा मात्रै जहाज छन् । चिनियाँ जहाज दुईवटा भए पनि भरपर्दो उडान सेवा छैन ।

बुद्ध एयर आन्तरिक उडानको अगुवा कम्पनी हो । यो वायुसेवासँग नियमित उडानका ७२ सिट क्षमताका तीनवटा एटीआर, ४२ सिट क्षमताका तीनवटा एटीआर र १९ सिट क्षमताका दुईवटा विचक्राफ्ट जहाज छन् । बुद्ध एयरले आन्तरिक उडानमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । यो वायुसेवाले सुगम क्षेत्र अर्थात सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने गरेको छ । बुद्धले काठमाडौं विमानस्थलाई आधार बनाएर पोखरा, विराटनगर, भैरहवा, भरतपुर, धनगढी, नेपालगन्ज, भद्रपुरसहितका गन्तव्यमा उडान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१