सन् १९७६ मा अस्ट्रेलियाको सरकारी टेलिभिजन र अस्ट्रेलियाली क्रिकेट बोर्ड (एसिबी) बीच लामो समयदेखि जारी टेलिभिजन प्रसारण अधिकार समाप्त हुन लागेको खबरले अस्ट्रेलियाकै चिरपरिचित टेलिभिजन स्टेसन च्यानल–९ का मालिक केरी प्याकर निकै दंग थिए।
कारण, उनी अर्को वर्ष अस्ट्रेलिया भ्रमणमा निस्किन लागेको इङ्ल्यान्डविरुद्ध एसेस शृंखलाको अधिकार हत्याउन चाहन्थे। यसका लागि उनले एसिबीस“ग राम्रै पैसाको प्रस्ताव अघि सारे, तीन वर्षका लागि १५ लाख अस्ट्रेलियन डलरको।
यो प्रस्ताव पहिलेभन्दा आठ गुणा बढी थियो। त्यसैले होला, उनी उत्साहित थिए। तर, उनको उत्साह धेरै दिन टिक्न सकेन। एसिबीले केही दिनमै प्याकरको प्रस्ताव ठाडै अस्वीकार गर्यो। र, सरकारी टेलिभिजनलाई नै अधिकार दिने घोषणा गर्यो।
यो घटनाबाट प्याकर यति क्रोधित भए, उनले तत्कालै विश्व क्रिकेटका सम्पूर्ण स्टार खेलाडी जम्मा पारेर आफ्नो छुट्टै क्रिकेट शृंखला गर्ने घोषणा गरे। उनले आयोजना गरेको त्यो शृंखला अहिले विश्व क्रिकेटमा ‘वल्र्ड सिरिज क्रिकेट’ को नामले चर्चित छ।
प्याकर क्रिकेटका ठूला प्रशंसक थिए। वास्तवमा उनी क्रिकेटलाई नया“ आयाम दिन चाहन्थे। आजभोलि एकदिवसीय क्रिकेट ‘फर्ड लाइट’ मा खेलेको देखिन्छ। यसका जन्मदाता उनै हुन्। अस्ट्रेलियन बोर्डको टेलिभिजन प्रसारण अधिकार आफूलाई नदिने निर्णयबाट आगो भएका प्याकरले सन् १९७७ मा त्यतिबेला टेस्ट खेल्ने सबै राष्ट्रबाट ३५ स्टार खेलाडीलाई मंहगो मूल्यमा अनुबन्धित गर्दै ‘वल्र्ड सिरिज क्रिकेट’ नै आयोजना गरे। उनको त्यो अभियानमा भारतमात्र समावेश भएन। उनले भारतका सुनिल गावस्कर र किरमानीलाई मंहगो प्रस्ताव सारेका थिए। तर, दुवैले प्याकरको वल्र्ड सिरिज विवादास्पद भएको भन्दै खेल्न मानेनन्।
यति हुँदा हुँदै पनि उनी अस्ट्रेलियाका २८ खेलाडीलाई गोप्य रूपमा अनुबन्धित गर्न सफल भए। अन्य देशका १७ स्टार खेलाडी अनुबन्धित गर्ने क्रममा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) लाई नै ठूलो चुनौति दिए।
सन् १९७७ बाट सुरु भएको उनको वल्र्ड सिरिजमा अस्ट्रेलिया–११ बाट इयान च्यापल (कप्तान), ग्रेग च्यापल, इयान डेभिस, गुस गिलमोर, मार्टिन केन्ट, रोब लाङ्गर, रिकी म्याककोस्कर, आस्ले मालेट, रोड मार्स, लेन पास्को, इयान रेडपाथ, जेफ थोम्सन, डग वाल्टर्स, केप्लर वेसेल्स (पछि दक्षिण अफ्रिकाबाट खेले), रे ब्राइट, टेभोर च्यापल, रोस इडवार्डस, डेभिड हुक्स, ब्रुस लायर्ड, डेनिस लिली, गार्थ म्याकेन्जी, मिक मालोनी, केरी ओ’किफे, वायने प्रियोर, रिची रोबिन्सन, म्याक्स वाल्कर, ग्राहम वाट्सन र डेनिस यागमिच अनुबन्धित थिए।
त्यस्तै, विश्व–११ मा इङ्ल्यान्डका टोनी ग्रेग (कप्तान), डेरेक अन्डरउड, डेनिस एमिस, जोन स्नो, त्यतिबेलाका स्टार विकेटकिपर एलन नट, पाकिस्तानका आसिफ इकबाल, इमरान खान, माजिद खान, मुस्ताक मोहम्मद (जाहिर अब्बासपछि अनुबन्धित), दक्षिण अफ्रिकाबाट बेरी रिचर्डस, गारेथ ले रोक्स, माइक प्रोक्टर, ग्राहम पोलक, वेष्ट इन्डिजका क्लाइभ लोयड, भिभियन रिचर्डस, एन्डी रोबर्टस र न्युजिल्यान्डबाट रिचर्ड हयाड्ली अनुबन्धित थिए।
सुरुमा अस्ट्रेलियाका जेफ थोम्सन र वेष्ट इन्डिजका एल्विन कालिचरण पनि अनुबन्धित थिए। तर, विवादबीच उनीहरूले नाम फिर्ता लिए। सुरुका वर्ष प्याकरलाई वल्र्ड सिरिज सञ्चालन गर्न सोचेजस्तो सजिलो भएन। अस्ट्रेलियन बोर्डले कुनै प्रकारको सहयोग गरेन उनलाई। यतिसम्म कि, प्रतियोगिता आयोजनाका लागि भाडामा क्रिकेट मैदान दिनसमेत असहयोग गर्यो बोर्डले। त्यतिबेला प्याकरलाई सबैले पागल भन्थे।
तर, प्याकरले भिक्टोरिया र मेलबर्नको रग्बी मैदान भाडामै लिएर पनि सन् १९७७ को पहिलो ‘वल्र्ड सिरिज क्रिकेट’ फर्ड लाइटमा गराएर देखाइदिए।
त्यतिबेला पहिलोपल्ट क्रिकेट खेलाडी रंगीचंगी पोसाकमा देखिए। खेल सेतो बलबाट खेलिएको थियो। र, साइड स्क्रिन कालो। ड्रिंक्सको समय मिनी स्कर्ट लगाएका केटीहरू मैदानमा खेलाडीलाई पानी ख्वाउँदै गरेको रमाइलो दुश्यका बीच डान्सको कार्यक्रम पनि राखिएको थियो। तर, पहिलो वर्षको ‘वल्र्ड सिरिज क्रिकेट’ हेर्न त्यति मान्छे रंगशाला गएनन्। टेलिभिजनमा भने यसले व्यापकता पायो।
अर्को वर्ष, सिड्नी क्रिकेट ग्राउन्डको ट्रस्टले एउटा महŒवपूर्ण निर्णय गर्यो। प्याकरलाई प्रतियोगिता आयोजना गर्न मैदान भाडामा दिने। यसबाट उत्साहित प्याकरले सन् १९७८ को प्रतियोगितामै अस्ट्रेलिया र वेष्ट इन्डिजबीच गराए। त्यतिबेला उनले वेष्ट इन्डिजका २० खेलाडी अनुबन्धित गरिसकेका थिए। दोस्रो वर्ष प्याकरको ‘वल्र्ड सिरिज क्रिकेट’ मा अनुबन्धित हुने अन्य खेलाडी थिए, कोलिस किङ, बनार्ड जुलियन, गोर्डन ग्रिनिज र जोए गार्नर।
अस्ट्रेलिया र वेष्ट इन्डिजबीच खेलको व्यापक प्रचार भयो। यो खेल हेर्न २० हजार दर्शक आउने अनुमान गरिएको थियो। तर, ४४ हजार दर्शक टिकट काटेर मैदानमा आइपुगे। फर्ड लाइटमा खेलिएको यो खेलमा सुरक्षा दिन प्रहरीलाई हम्मेहम्मे पर्यो। रंगशालाको गेट बन्द गर्दै बीचैमा हस्तक्षेप गर्नुपर्यो। दर्शकको उपस्थितिले प्याकर भने निकै खुसी थिए। उनले प्रहरीलाई गेट खोल्न आदेश दिए। त्यतिबेला उनको उद्देश्य थियो, आफूले आविष्कार गरेको दिवा÷रात्री क्रिकेटलाई सबैमाझ पस्किने। पछि टिकट नहुने दर्शकले पनि रंगशालामै उभिएर खेल हेरे।
यो घटनाले अस्ट्रेलियाली बोर्डमात्र होइन, आइसिसी पनि हल्लिन पुग्यो।
फेरि उनको ‘वल्र्ड सिरिज क्रिकेट’ उत्कर्षमा हु“दा सन् १९७७–७८ मा भारतले बिसन सिंह बेदीको नेतृत्वमा अस्ट्रेलिया भ्रमण गर्यो। त्यतिबेला स्टार खेलाडीको अनुपस्थितिमा अस्ट्रेलियन बोर्डले १० वर्षअघि नै टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका बब सिम्सनलाई बोलाउनुपरेको मात्र थिएन, नेतृत्वसमेत सुम्पिनुपरेको थियो। त्यतिमात्र होइन, अस्ट्रेलिया र भारतबीच टेस्ट हु“दा स्थानीय दर्शकले खासै चासो राखेनन्, ‘वल्र्ड सिरिज क्रिकेट’ को तुलनामा।
सन् १९७८ को अन्त्यसम्म प्याकर र आइसिसीबीच शीतयुद्धको सुरुवात भइसकेको थियो। अझ सम्बन्धित देशका क्रिकेट संघले प्याकरको ‘वल्र्ड सिरिज क्रिकेट’ मा अनुबन्धित हुने आफ्ना खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउने घोषणै गर्यो।
आइसिसीले प्याकरमाथि मुद्धा चलायो, इङ्ल्यान्डको अदालतमा। तर, वल्र्ड सिरिजमा जोडिएका सबै खेलाडीले प्याकरलाई साथ दिए। उनीहरूले उल्टै आफ्नो देशको संघलाई अदालतसम्म घसिटे। यसैबीच सन् १९७९ को जुनमा इङ्ल्यान्डमा दोस्रो एकदिवसीय क्रिकेट आयोजना हुने भयो। यसैलाई ध्यानमा राखेर पाकिस्तानले वल्र्ड सिरिज खेल्ने आफ्ना खेलाडीलाई घरेलुमात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नसमेत फुकुवा गर्यो। लगत्तै वेष्ट इन्डिजले पनि आफ्ना स्टार खेलाडीलाई टोलीमा बोलायो। अरू देशले पनि त्यस्तै गरे।
अस्ट्रेलिया अन्तिमसम्म आफ्नो निर्णयमा अडिक रहयो। तर, यो देशले दोस्रो विश्वकपमा यसको नराम्रो नतिजा भोग्नुपर्यो। पहिलो विश्वकपको फाइनलमा पुगेको अस्ट्रेलिया पाकिस्तान र इङ्ल्यान्डबाट पराजित हुँदै समूह चरणबाटै बाहिरियो। बोर्डको व्यापक आलोचना भयो, अस्ट्रेलियामा।
अन्ततः हार खाएर सन् १९७९ मा अस्ट्रेलियाली क्रिकेट बोर्डले वार्ताका लागि प्याकरलाई बोलायो। र, टेलिभिजन प्रसारणको अधिकार बेच्ने अनुमति दियो। यसबापत् उनले सबै खेलाडीको अनुबन्धन रद्द गरे। पछि आइसिसीले पनि मुद्दा फिर्ता लियो। करिब ३ वर्ष ‘वल्र्ड सिरिज क्रिकेट’ आयोजना गरेर अन्तर्राष्ट्रिय क्रिकेटलाई नयाँ उचाइमा पु¥याएका यिनै प्याकरको ६८ वर्षको उमेरमा सन् २००५ मा सिड्नीस्थित आफ्नै घरमा निधन भयो।साभार – सेतोपाटी बाट
प्रतिक्रिया