काठमाडौँ, १ कार्तिक । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्र सबै प्रकारका गरी कूल रु एक खर्ब ३४ अर्बको खाद्य वस्तु आयात भएको छ ।
खाद्यान्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा पनि चामालको आयातदर वृद्धि हुँदै आएको छ भने गहुँको खपत दर न्यून छ । नेपालमा यसवर्ष १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएको छ भने रु २५ अर्बको चामल आयात भएको छ ।
अक्टोबर १६ का दिन विश्वभर खाद्य दिवस मनाइन्छ, नेपालमा भने परिणाम खोज्ने भन्दा औपचारिक भाषणमा मात्रै यो दिवस मनाइएको छ । ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ । ’ ३६ औँ विश्व खाद्य दिवसको नारा हो यो । नारामा गोलवद्ध भएका वक्ताले खाद्य अधिकार र कर्तब्यका बारेमा सिंहदरबार भित्र र बाहिर आ–आफ्ना अभिव्यक्ति सार्वजनिक गरे ।
नेपालका अधिकांश भागमा खानै नपाएर कोही व्यक्ति मरेको औपचारिक तथ्याङ्क अहिलेसम्म बाहिर आएको छैन तर कर्णली अञ्चलका केही जिल्लामा भोकमरी बढेको भन्ने समाचार सम्प्रेषण हुने क्रम जारी छ ।
सो क्षेत्रमा पाइने स्थानीय उवा, कोदो, जौँ, कागुनो, जुनेलोजस्ता अतिपौष्टिक खाद्यन्न विस्थापित भएका छन् । त्यहाँका मानिसको खानेबानीमा समेत परिवर्तन आएको छ । स्थानीयस्तरमा पाइने अन्नको सट्टा खरिद गरेको चामलमा परनिर्भर भएका कारण स्थानीय खाद्यन्न अभाव भएको हो ।
नेपालमा भने जलवायु परिवर्तन भन्दा पनि जग्गाको खण्डीकरण र खेतीपाती नगर्ने अर्थात बाझै राख्ने चलनले खाद्य सङ्कट निम्तीनसक्ने विज्ञवर्गले चिन्ता व्यक्त गरेका छन् । कृषि गणना २०६८ लाई आधार मान्दा विगत एक लाख २९ हजार हेक्टर जमिन बाझै छ । जस्मा ३० लाख ९० हजार हेक्टर जमिनमा खेती भएको छ ।
सो अवधिमा धान ९ प्रतिशत, गहुँ ६, मकै १२ कोदो १९, जौ ३५, फापर ४०, कोसेबाली २१, तोरीबालीमा १३ प्रतिशतले उत्पादन घटेको छ ।
प्रतिक्रिया