म्याग्दी, २९ असोज । म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा विप्रेषण पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी विप्रेषण भुक्तानी गरेको जनाएका छन् ।
एउटा कम्पनी तथा शाखाले न्यूनतम् रु एक करोड ५० लाखदेखि बढीमा रु पाँच करोडसम्म विप्रेषण भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पोखरास्थित क्षेत्रीय कार्यालयका अनुसार २०७१ को माघदेखि २०७२ को पुस महिनाको अवधिमा म्याग्दीमा रु पाँच अर्ब ८० करोड विप्रेषण भित्रिएको थियो । चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ । विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन् ।
म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् ।
प्रतिक्रिया