काठमाडौँ, २७ असोज । विदेशी दाताले सरकार समक्ष भूकम्पपीडितलाई घर बनाउन दिने भनेको थप एक लाख रुपैयाँ कसरी वितरण गर्ने भनेर प्रश्न गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई दाताले उक्त प्रश्न सोधेका हुन्।
प्रचण्ड नेतृत्वमा सरकार बनेपछि भूकम्प पिडितलाई घर बनाउन थप एक लाख रुपैयाँ देखि घोषणा गरिएको थियो। बैठकमा भाग लिएर मन्त्री महरा सहित नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदीको टोली सोमबार साँझ काठमाडौँ आइ पुगेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका क्षेत्रका सहयोग जुटाउने बारे आफूले सम्बोधन गरेको बताए।
उनले भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई थप सहयोगका लागि आह्वान गरिएको जानकारी दिए।
वार्षिक बैठकमा विश्वका एक सय ७९ मुलुकका प्रतिनिधि सहभागी थिए। सो क्रममा अर्थमन्त्री नेतृत्वको नेपाली टोलीले विश्व बैंक, एसियाली विकास बैंक र अन्य आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता गरेको थियो। भविष्यमा ती संस्थासँग द्विपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिए। साभार बिजमांडू
प्रतिक्रिया