काठमाडौ । आफ्ना आवश्यकताहरु कटौती गरेर हरेक वस्तुमा तपाईले तिरेको करबाट जम्मा भएको रकम कहाँ खर्च भइरहेको होला ? तपाईलाई लाग्न सक्छ, देशको आर्थिक विकास, समृद्धि वा विपन्न नागरिकको हितमा खर्च भइरहेको छ । यदि यस्तो सोच्नुभएको छ भने तपाई गलत हुनुहुन्छ ।
लोकतन्त्र स्थापनापछि बनेका हरेक सरकारले पहुँचवाला व्यक्तिहरुलाई विभिन्न नाममा राज्यकोषको पैसा मनलाग्दी बाँडिरहेको छ । यसरी सरकारी ढुकुटी हात पार्नेहरुमा विभिन्न बाहना बनाएर सगरमाथा आरोहण गर्नेहरु पनि पर्छन् ।
यसको पछिल्लो उदाहरण हुन्, विभिन्न हिमाल चढेर चर्चामा आएका सञ्जय पण्डित । जसलाई सरकारले एउटा हिमाल चढ्नका लागि ७८ लाख दिने तयारी गरेको छ । अन्टार्टिकाको एउटा हिमाल चढ्न पण्डितले सरकारसँग ७० हजार अमेरिकी डलर अर्थात ७८ लाख माग गरेका छन् ।
पण्डितले पर्यटन मन्त्रालयमा दिएको निवेदनका आधारमा मन्त्रालयले यसबा लागि अर्थ मन्त्रालयसँग सहमति मागेको छ । स्रोतका अनुसार अर्थ मन्त्रालयले पण्डितले मागे अनुसारको बजेट दिन सहमति दिइसकेको छ ।
अब हिमाल आरोही सञ्जय पण्डितको मागअनुसार पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदैछ ।
यसबारे अनलाइनखबरको जिज्ञासामा पण्डितले भने, ‘मेरो प्रस्ताव अर्थ मन्त्रालयमा पुगिसक्यो रे, मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ, काम अलिअलि पोजेटिभ भइरहेको छ । मैले घरखेत बन्धक राखेर हिमाल चढिरहेको छु । अफ्रिकामा उल्टो हिँडेर हिमाल चढेको छु । शेर्पाहरुमात्रै हिमाल चढिरहेकोमा म बाहुनको छोरो भएर पनि विभिन्न हिमाल चढिरहेको छु ।’
पण्डितले अहिलेसम्मको आरोहणमा एक करोड ८६ लाख खर्च गरिसकेका छन् । यसमध्ये सरकारले थोरैमात्रै सहयोग गरेको उनको गुनासो छ । उनले सन् २०१२ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । तर, पहिलो प्रयास असफल भएपछि सन् २०१३ मा फेरि सगरमाथा चढे । त्यसक्रमका लागेको खर्च कांग्रेस नेता रामशरण महतले मिलाइदिएको पण्डितले अनलाइनखबरलाई बताए ।
सगरमाथा अघि पण्डितले सन् २०१२ मा प्राण घातक हिमाल भनेर चिनिने मनास्लु हिमाल चढेका थिए । र, सन् २०१५ मा जापानको सर्वोच्च शिखर फुजी माउन्टेन चढेका थिए । जापानको फुजी माउण्टेन जम्मा ३८ सय मिटर मात्र अग्लो छ । यस्तै उनले अफि्रकाको सर्वोच्च शिखर भनिने ५ हजार ८ सय ९५ मिटर अग्लो हिमाल उल्टो हिँडेर चढेका थिए । यति हिमाल चढ्नका लागि १ करोड ८६ लाख खर्च भएको पण्डितले बताए ।
त्यसमध्ये करिब २२ लाख रुपैयाँ मात्रै मन्त्रिपरिषदले निर्णय गरेर आफूलाई दिएको र बाँकी जिल्लास्थित सरकारी संघ संस्था, उद्योग व्यवसायी र व्यक्तिगत सहयोग संकलन गरेको पण्डितको भनाइ छ । उनले अनलाइनखबरसँग भने, ‘नेता ज्यूहरुकै सहयोग हो, प्युठानका नेताहरुले धेरै सहयोग गर्नुभयो ।’
नेताहरुप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, ‘सगरमाथा चढ्न रामशरण महतले धेरै सहयोग गर्नुभयो, बाँकी हिमालका लागि बामदेव गौतम, टोपबहादुर रायमाझीले पनि सहयोग गर्नुभयो ।’
कुराकानीका क्रममा उनले कसरी पैसा संकलन गरियो भन्नेकुरा समेत सुनाए । उनले अघि भने, नेताज्यूहरुले फोन गर्दिनुहुन्थ्यो, म फलो गथेर्ं ।’ व्यक्तिगत रुपमा नेताहरुले त एक रुपैँया पनि दिनुभएन, उनले थपे, उहाँहरुले हाइक्वालिटीका व्यापारीहरुलाई फोन गरेर भन्दिनुहुन्थ्यो अनि म गएर पैसा लिन्थेँ ।
राज्यकोषबाट करोडौं खर्चिदा के पायो देशले ?
पण्डितले तीन करोड नेपालीले गर्न नसकेको हिमाल चढेर गौरबपूर्ण काम गरेको दावी गरे । ‘मैले विश्वभरि हिमाल चढ्दै हिँड्दा नेपालको पर्यटन विकासलाई सहयोग पुग्छ । उनले थपे, अब बाँकी हिमाल चढ्न सरकारले थप सहयोग गर्नुपर्छ ।’
तपाईलाई पैसा दिएर देशले के पाउँछ भन्ने प्रश्नमा पण्डितले प्रतिप्रश्न गरे, ‘गुगल ब्वाइलाई एक करोड दिन हुने, विश्वका हिमाल चढेर देशको नाम राख्न मैले किन नपाउने ?’
सरकारले निजामति कर्मचारी र अन्य व्यक्तिलाई पनि हिमाल आरोहणमा पैसा दिने गरेकाले आफूले पनि पाउनुपर्ने पण्डितको भनाइ छ । आफूले आमाबुबालाई भनेर घरखेत समेत बन्धक राखेको उनले जानकारी दिए ।
अब हामीले किन कर तिर्ने ?
केपी ओली नेतृत्वको सरकारले एक सातामै पहुँचवाला कार्यकर्तालाई १ करोड बाँडेको थियो । यस्तै ओली सरकारले ९ महिनामा कार्यकर्तालाई मात्र राज्यकोषबाट १५ करोड बाँडेको थियो । गुगल व्वाइका नाममा मात्रै एक करोड बाँडियो । त्यसपछि गठन भएको पुष्पकमल दाहाल प्रचण्ड सरकारले समेत करिब ३ करोड रुपैँया राज्यकोषबाट बाँडिसकेको छ ।
सजिलै दुई छाक खान नसक्नेहरुले आफ्नो गाँस कटाएर राज्यलाई कर तिरिरहेका छन्, देशको समृद्धि र विकासका लागि । तर, प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव र सचिवहरुले विभिन्न नामका प्रस्ताव बनाउँदै राज्यकोषको पैसा यसैगरी जथाभावी बाँड्दै जाने हो भने सरकारलाई जनताले किन कर तिर्ने ?
सगरमाथा आरोहणका नाममा मानिसहरुको व्यक्तिगत ईच्छा र लहडलाई पूरा गरिदिन राज्यकोषबाट रकम प्रदान गर्ने प्रचलन सही छ कि गलत ? यसबारेमा बहस गरौं । साभार अनलाइन खबर
प्रतिक्रिया