काठमाडौं,६ असोज । काठमाडौं महनगरपालिकाले करमा कडाई गरेपनि केही होटलले भने अझै कर नबुझाएको पाइएको छ । अझै पनि दरवारमार्गस्थित याक एण्ड यती होटलले कर तिर्न अटेर गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरका अनुसार याक एण्ड यतीले आफ्नो भवन भाडामा दिएकोले बहाल कर बुझाउनु पर्छ । त्यस्तै सो होटलले केही जग्गाहरु समेत भाडामा लिएकोले सो को पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ । महानगरले ती सवै कर निर्देशन दिएपनि अटेरी गर्दै आएकोछ ।
त्यस्तै हायात होटल र एभरेष्ट होटलले पनि हालसम्म कर तिरेका छैंनन् । तर यी होटल महानगरपालिकाको सम्पर्कमा रहनुका साथै कर विवरण तथा अन्य डकुमेन्ट भने बुझाइसकेका छन् । यता अन्नपूर्ण, सोल्टि, द्धारिका होटल, र्याडिशनलगायत अन्यले भने कर तिरिसकेका छन् ।
काठमाडौं महानगरपालिकाले घरजग्गा, सवारी तथा वहालकरमा करमा कडाई गरेसँगै तारे होटलहरु क्रमशः करको दायरामा आएका हुन् ।
समयमा कर नबुझाउने होटललाई महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिका अन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्न सक्नेछ ।
प्रतिक्रिया