छुट्टिए ब्राड पिट र एन्जेलिना जोली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार १३:१२

काठमाडौं,हलिउडको सबैभन्दा चर्चित जोडी ब्राड पिट र एन्जेलिना जोली एक–अर्कासँग छुट्टिने भएका छन् । अभिनेत्री एन्जेलिना जोलीले सम्बन्धविच्छेदका लागि निवेदन दिइसकेकी छिन् । यी दुईले दुई वर्षअघि फ्रान्समा विवाह गरेका थिए । दुईका ६ बच्चा छन् । तीमध्ये तीन ‘एडप्ट’ गरिएका हुन् ।
केही समययता ब्राड पिटको नाम अन्य दुई अभिनेत्रीसँग जोडिँदै आएको छ । यही कारणले उनीहरू छुट्टिने निर्णय गरेको हलिउडमा चर्चा छ । तर, एन्जेलिनाले ब्राडसँग छुट्टिनुमा ६ बच्चाहरूको भविष्यलाई कारण बनाएकी छिन् । ब्राडको ‘अफेयर’बारे भने दुवै मौन रहँदै आएका छन् । त्यसो त केही महिनाअघि यी दुईले संयुक्त विज्ञप्ति निकाल्दै आफ्नो सम्बन्ध सुमधुर रहेको बताएका थिए । त्यति वेला चलेका विभिन्न अड्कलबाजीको खण्डन गर्न उनीहरूले विज्ञप्ति निकालेका थिए ।angelina-past-2
मंगलबार एन्जेलिनाका वकिलले सम्बन्धविच्छेदका लागि निवेदन दिएको खुलासा गरेपछि विश्वभरका अनलाइनमा यी दुईको चर्चा चुलियो । सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा यी दुई नै चर्चामा रहे । यी दुईलाई संयुक्त रूपमा ब्रान्जेलिना भनेर चिनिन्थ्यो । यही शब्द ट्विटरको अत्यन्त चर्चित ह्यासट्याग पनि बन्यो । कतिले प्रश्न सोधे– अब उनीहरूले यो ह्यासट्यागलाई कसरी छुट्याएर लिन्छन् होला रु
सेलेब्रिटी म्यागेजिन टिएमजेडका अनुसार एन्जेलिनाले मंगलबार सम्बन्धविच्छेदका लागि निवेदन फाइल गर्दा आफू र पिटबीचको मतभेद अब सुल्झाउन नसकिने बताइन् । त्यसैले सम्बन्धविच्छेद नै अन्तिम विकल्प भएको उनको भनाइ थियो । तर, यस विषयमा पिटले केही भनेका छैनन् ।

बरु पिटनिकट स्रोतले यो विषयमा आफूहरूलाई थाहा नभएको र पिट अहिले एउटा फिल्मको सुटिङमा व्यस्त भएको जनाएको छ । ५३ वर्षीय पिटको एन्जेलिनासँग दोस्रो विवाह थियो । उनले पहिली पत्नी अभिनेत्री जेनिफर एनिस्टनसँग सम्बन्धविच्छेद गरेपछि अभिनेत्री एन्जेलिनासँग ‘डेट’ गर्न थालेका थिए । यी दुईको भेट फिल्म ‘मिस्टर एन्ड मिसेस स्मिथ’को सेटमा भएको थियो । ४१ वर्षीया एन्जेलिनाको पिटसँगको विवाह तेस्रो थियो ।

अगस्ट २०१४ मा विवाह गरेका यी दुई सन् २००४ देखि ‘लिभ इन रिलेसनसिप’मा थिए । रिपोर्टका अनुसार एन्जेलिनाले दिएको निवेदनमा भनेकी छिन्– उनी ६ बच्चा नै आफूसँग राख्न चाहन्छिन् । तर, पिट यसमा मन्जुर नहुन सक्छन् । उनले यसअघि बारम्बार बच्चाहरूलाई आफूले राख्ने बताउँदै आएका छन् । तर, सम्बन्धविच्छेदका लागि दिएको आवेदनमा जोलीले पिटले बाबुको कर्तव्य निर्वाह नगरेको आरोप लगाएकी छिन् ।

जोलीले यही आरोपलाई मुख्य विषय बनाएर सम्बन्धविच्छेदका लागि आवेदन दिए पनि हलिउड यसलाई स्वीकार गर्न तयार छैन । हलिउडमा अरू विभिन्न खालका अड्कलबाजी गरिएका छन् । पिटको बाहिर महिलाहरूसँग सम्बन्ध भएकाले ब्रान्जेलिना छुट्टिन लागेको अनुमान गर्ने धेरै छन् । यो क्रममा ब्राडपिटको नाम अन्य दुई अभिनेत्री ग्वैनेथ पाल्ट्रो र म्यारियन कोटिलर्डसँग जोडिएको छ ।
यति मात्र होइन, केहीले त पिट आजभोलि ‘गे रिलेसन’मा रहेको पनि अनुमान गरेका छन् । यस्तो अनुमान किन गरिएको हो भने केही समययता उनी बारम्बार कोलिम्बियाका एक नागरिकसँग देखिँदै आएका छन् । नयाँ पत्रिकाले छापेको छ ।

एक मिडिया रिपोर्टका अनुसार अब यी दुईको सम्बन्धविच्छेद चार सय मिलियन डलरमा ‘सेटल’ हुन सक्छ । रिपोर्टका अनुसार गत जुलाईदेखि नै एन्जेलिना अत्यन्त चिन्तित थिइन् र अत्यधिक धूमपान गर्दै आएकी थिइन् । त्यसो त केही दिनअघि मात्र पनि उनले ब्राड पिटकी पूर्वपत्नी जेनिफर एनिस्टनस“ग भेटघाट गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१