काठमाडौँ ,६ असोज। बैंकिङ क्षेत्रमा लगानी भएको १६ अर्ब रुपैयाँ डुब्ने खतरामा रहेको राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले खुलासा गरेका छन् । पोखरामा गरिमा विकास बैंक र चितवनको शुभेच्छा विकास बैंकको एकीकृत कारोबारको उद्घाटन गर्दै गभर्नर नेपालले समस्याग्रस्त बनेका ११ बैंकबाट सो रकम डुब्ने खतरामा रहेको बताएका हुन् । बढी नाफाको आशामा कम प्रतिफल हुने क्षेत्रमा लगानी बढ्दा बैंक धराशयीको अवस्थामा जाने पनि उनको भनाइ थियो । बैंकहरू नाफा कमाउने भन्दा पनि विश्वास कमाउने काममा लाग्न पनि उनले अनरोध गरे । उनले भने, ‘नाफा कमाउने भए व्यक्तिगत रूपमा व्यवसाय गर्नुहोस्, सर्वसाधारणको लगानीमा व्यक्तिगत नाफा आउने काम गर्न पाइँदैन ।’ बैंकको सञ्चालक र कर्मचारीमा योग्यताको कमीका कारण पनि वित्तीय अनुशासनको कमी हुँदा बैँकमा समस्या आउने गरेको धारणा उनको थियो । उनले बैंकको सञ्चालक समितिको अध्यक्ष हुन कम्तीमा पनि वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने नियम ल्याउन लागेको पनि उनको भनाइ थियो । उनले भने, ‘बैंकहरू अब अन्तर्राष्ट्रिय मान्यताअनुसार चल्नुपर्छ, त्यसैले कमजोर र औँठा छापहरू बैंकको अध्यक्ष हुन पाउँदैनन् ।’ डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले मर्जरबाट पुँजी बढाउँदैमा बैक सबल नहुने भन्दै नयाँ क्षेत्रको पहिचान गरी लगानी गर्न अनुरोध गरे । उनले भने– ‘नाफा हुन बैंकका कर्मचारी र व्यवस्थापकीय पक्षको क्षमता आवश्यक पर्छ ।’ सानो लगानीमा काम गरेका कर्मचारीलाई ठूलो लगानीमा काम गर्ने वातावरणका बारेमा जानकारी दिन उपयुक्त तालिमबाट क्षमता वृद्धि नगर्ने हो भने बैंकहरू झन् समस्याग्रस्त हुने पनि अध्यक्ष लामिछानेको भनाइ थियो । कास्की जिल्ला बैंकहरूको ऋण लगानीका हिसाबले नेपालकै दोस्रो ठूलो र बचत संकलनका हिसाबले नेपालकै तेस्रो जिल्ला भएकाले यो क्षेत्र बंैकहरूको आर्थिक सबलीकरणमा पनि उत्कृष्ट रहेकोसमेत अध्यक्ष लामिछानेको भनाइ थियो । गरिमा र शुभेच्छाको एकीकृत कारोबार गरिमा विकास बैंक र शुभेच्छा विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुभेच्छा विकास बैंकसँग मर्जरपछि पनि बैंकको नाम गरिमा विकास बैंक नै रहने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए । गरिमा विकास बैंकले एक वर्षअगाडि मात्रै म्याग्दीको नीलगिरि विकास बैकसँग मर्जर गरेको थियो । बैकको मर्जरपछि चुक्ता पुँजी १ अर्ब पाँच करोड पुगेको पनि प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए । मर्जरपछि बैंकले ३७ वटा शाखामार्फत कारोबार गर्नेछ । बैंकमा ११ अर्ब ६० करोड निक्षेप र १० अर्ब ६० करोड ऋण लगानी भएको पनि प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । लगानी बढेपछिको लगानीका क्षेत्रहरूबारेमा रणनीति पनि तयार गरिसकेको समेत उनको भनाइ थियो । विष्णु गौतम/नयाँ पत्रिका बाट
प्रतिक्रिया