तिम्रो म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७३, शनिबार ०७:१६

‘मामु….मामु’ अस्मु समीलाई बोलाउँदै दगुर्दै छेउमा आई । 

अस्मु समीकी एक्ली छोरी । भर्खर एसएलसी सकेर घरमै बसेकी छ । यौवनले ढकमक्क ढाकेको छ अस्मुलाई । चञ्चले छे, सुन्दर छे, स्वच्छन्द छे अनि निष्कपट छे । टोलभरका नवयुवकहरूको मुटुको स्पन्दन भएकी छ ऊ । सबैले मनमनै मन पराएका छन् । कति जनाले त आफ्नो ऊप्रतिको आकर्षण व्यक्त पनि गरेका छन् । उसको गोरो अनुहारमा एउटा नजानिँदो आकर्षण छ । गठिलो शरीरका हरेक अवयवले कुनै पनि पुरुषलाई पगाल्न सक्छ ।

timro
छोरीले आफूलाई सम्बोधन गर्दै कुदेर आएको परैबाट देखी समीले । आइप्याड हातमा बोकेकी छोरी छेउमा आई । ‘मामु आज फेरि त्यसले मलाई म्यासेज गरेछ ।’ उनीहरू आमाछोरी मात्र होइनन् साथीजस्ता पनि छन् । अस्मु आफ्ना सबै कुरा समीलाई सुनाउँछे । साथीहरूसँगको कुरादेखि स्कुलको सबै कुरा समीलाई पनि थाहा छ । यसपालिको भ्यालेन्टाइन डेमा क–कसले उसलाई प्रेम प्रस्ताव गरे, रेड रोज गिफ्ट दिए त्यो सबै समीलाई अस्मुले भनेकी थिई । पन्ध्र दिनअघि ‘ट्रु लभर’ नामबाट अस्मुलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । त्यसको प्रोफाइलमा हेर्दा फोटोको ठाउँमा ‘पागल प्रेमी’ लेखिएको रातो मुटुको प्रतीक ‘पाना’ मात्र थियो । त्यो कुरा अस्मुले समीलाई पनि भनेकी थिई । उसले त्यतिबेला सबै कुरा मामुलाई सुनाउँदै  सोधेकी थिई : ‘फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नु कि नगर्नु मामु ?’

 

‘गद्र्यौ न छोरी, के हुन्छ र ?’ समीले सहजै स्वीकृति दिएकी थिई ।  त्यसपछि ‘ट्रु लभर’ ले लगातार अस्मुलाई म्यासेजमार्फत प्रेम प्रस्ताव राख्दै आएको छ । उसको लेखाइबाट थाहा हुन्छ कि ऊ अस्मुलाई ज्यादै मन पराउँछ तर सामुन्ने पर्न डराउँछ । ‘ट्रु लभर’ नाममा म्यासेज पठाउने केटा आफूहरूले चिनेकै व्यक्ति हुने निष्कर्षमा दुवै आमाछोरी पुगेका छन् । सम्भवत: अस्मुको स्कुलको कुनै केटा हुन सक्छ वा छिमेकको कुनै किशोर हुनसक्छ भन्ने दुवैलाई लागेको छ । धेरैलाई त्यो युवक हुन सक्ने अनुमान अस्मुले गरी तर यही नै हो भन्ने पुष्टि हुने कुनै आधार फेला पार्न सकिन । आजको म्यासेज हेर्न भनेर अस्मुले आइप्याड समीको हातमा राखिदिई । लेखेको रहेछ : ‘प्रिय तिमीलाई बिर्सूं भन्छु तर बिर्सन सक्दिनँ, आँखा खोल्दा जसलाई पनि तिमी देख्छु बन्द गरे झन् संसारमा नै तिमी नै तिमी देख्छु खै के गरूँ ? मलाई बाँच्ने आधार देऊ, तिमीलाई ज्यादै चाहने उही तिम्रो म ….’

 
‘उही तिम्रो म….’ यी शब्दहरू देख्नेबित्तिकै समी झसंग भई । आइप्याड झन्डै हातबाट छुट्यो ।
‘यो मामुलाई पनि सामान जतनले समाउन आउँदैन, अहिले झरेको भए के हुन्थ्यो कुन्नी’ भन्दै आइप्याड बोकेर अस्मु आफ्नो कोठातिर लागी । समी भने आफूलाई ४० वर्षअगाडि पुर्‍याएर एकोहोरो भई । समय टक्क अडिएजस्तो अनुभूति भयो ।

 

००००
समीको ब्यागभित्र राखेको पुस्तकभित्र एउटा पोस्टकार्ड भेटियो । टिफिन टाइम सकिएर पाँचौं घण्टी सुरु हुन लाग्दा उक्त पिरियडमा पढ्नुपर्ने पुस्तक झिक्न लाग्दा त्यस भित्रबाट हिरोले हिरोइनलाई चुम्बन गर्न खोजेको हिन्दी चलचित्रकी नायिकाको तस्बिर फुत्त भुइँमा झरेको थियो । समीले अरूले नदेखून् भन्दाभन्दै पनि छेउमा बस्ने रिसभले देखिहाल्यो । भर्खर आठ कक्षामा अध्ययन गरिरहेका दुवैको मुहारमा लाजसहितको कौतूहलता देखिन्थ्यो । रिसभले थाहा पाएको कुराले समी अझ रातो–पिरो भई । त्यो पोस्ट कार्ड उसलाई मन पराउने कुनै केटाले नै त्यहाँ राखिदिएको स्पष्ट थियो । समी कक्षाकी सबैभन्दा आकर्षक केटी  थिई ।

 
घर पुग्नेबित्तिकै उसले आफ्नो कोठाभित्र प्रवेश गरेर ढोका लगाई । ब्यागबाट त्यो पोस्ट कार्ड झिकेर हेरी । पोस्टकार्डको फोटो हेर्दा उसलाई पठाउने केटासँग रिस उठेर आयो । के सोचेर यस्तो फोटो पठाएको त्यसले भन्ने कुराले आगोमा घिउ थप्ने काम गर्‍यो । सायद केटाले पनि फोटोमा जसरी नै समीलाई चुम्ने आफ्नो इच्छा प्रकट गरेको हुनुपर्छ । उसले कार्ड फर्काएर हेरी, जहाँ लेखिएको थियो : ‘प्रिय समी, म तिमीलाई धेरै माया गर्छु, तिमीबिना बाँच्न सक्दिन । तिमी मेरो मायाको जवाफ देऊ, उही तिम्रो म …’
पठाउनेको नाम लेखिएको थिएन । समीलाई यसरी बेनामे प्रेम प्रस्ताव दोस्रो पल्ट आएको हो । लगभग एक महिनाअघि पनि उसले हुलाकमार्फत उसलाई सम्बोधन गरी पुरुष मनोभावना समेटिएर लेखिएको प्रेमपत्र स्कुलमै प्राप्त गरेकी थिई । त्यसमा पनि उसलाई उही ‘तिम्रो म…’ भन्ने केटाले सोधेको थियो :
‘म तिमीलाई धेरै माया गर्छु तिमी मलाई माया गर्छौ कि गर्दैनौ ? जवाफ देऊ ।’

 
उसको दिमागले यसरी प्रेम प्रस्ताव राख्ने केटा को होला भन्ने प्रश्नको उत्तर खोज्न थाल्यो । तमाम ती केटाहरू जसले उसलाई हेर्थे, जिस्क्याउँथे, नजिक हुन खोज्थे उसको स्मरणमा एक–एक गरी आउन थाले । उसले कसैलाई शंका गर्न सकिन । उसले बेनामे पहिलो चिठ्ठी प्राप्त गरेको घटना सम्झी । लेखिएको थियो :‘प्रिय समी, मीठो माया धेरै दिनको मनमा खेलेको तिम्रो मायाको उतारचढावपछि आज आँट गरेर यो पत्र लेख्दैछु । …’

‘तिम्रो म…’ भन्ने युवक को होला ?
यो प्रश्नले समीलाई पिरोलिरह्यो । घरमा पनि त्यसदिन कुनै कुरामा एकाग्र हुन सकिन ।
त्यसपछि धेरै दिनसम्म उसले कसैबाट कुनै चिठी अनि कार्ड पाइन । ऊ ‘तिम्रो म’ लाई सम्झिरहन्थी तर दसैं आयो, तिहार गयो । उसले ‘तिम्रो म…’ बाट शुभकामनाको कुनै पोस्टकार्ड पाइन । उसले एक प्रकारले त्यो पात्रलाई मस्तिष्कमा जबर्जस्ती बसेको अनुभूति गर्न थाली तर खै अहिले कता हरायो ?
धेरै पछि, समी कक्षा १० पढ्दा सरस्वती पूजाको दिन थियो । स्कुलको पूजा सकेर साथीहरूसँग उसले  घुम्न जाने सल्लाह थियो । स्कुलको गेटबाहिर ऊसँग अरू तीन जना साथी भेला भैसकेका थिए, एक जना अरू आउन बाँकी थिए । एक्कासि ठूलो आवाज आयो । सबै जना आत्तिए । सडकपारिबाट उनीहरू  उभिएर पर्खिरहेको ठाउँतिर आउने क्रममा एक जना युवकलाई धरानमा भर्खरै चल्न थालेको ल्यान्डरोभरले किचेर गएछ । युवकको वरिपरि रगतको आहाल जमिसकेको समीले पनि देखी । लगलग कामिरहेकी समीले सुनी :

 

‘स्पट डेथ ।’
युवकको रगतले लत्पतिएको दाहिने हातमा रगताम्मे अवस्थामा एउटा पोस्टकार्ड थियो । चार लाइन लेखिएको उक्त कार्डमा माथिको सम्बोधन र दुई लाइनलाई आलो रगतले छोपेको थियो भने तलको दुई लाइन स्पष्ट पढ्न सकिन्थ्यो, लेखिएको थियो :‘आज आफ्नै हातले तिमीलाई आफ्नो प्रेम प्रकट गर्दैछु, आशा छ मेरो मायाले तिमीलाई अवश्य जित्नेछ । उही तिम्रो म…’‘उही तिम्रो म…’ भन्ने देख्नासाथ समीको खुट्टाबाट जमिन खस्कियो । अँध्यारो भएर आयो । त्यसपछि कसरी, कसले घर ल्यायो केही थाहा पाइन । समी धेरै पछिसम्म सामान्य हुन सकिन ।

००००
आज ४० वर्षपछि उही शैलीमा आफ्नै छोरीलाई कसैले प्रेम प्रकट गर्दैछ भन्ने कल्पनाले समीको मस्तिष्कमा भयमिश्रित स्मृति ताजा भयो । समय बदलियो, वातावरण बदलियो, समाज बदलियो प्रेम प्रकट गर्ने माध्यम बदलियो तर युवकहरू कहिल्यै बदलिएनन् । समी उठी अनि भगवान्सामु पुगेर भनी : ‘कुनै अनिष्ट नहोस् प्रभु †’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१