गर्भवतीको मृत्यु पछि नागरिक अस्पताल तनावग्रस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७३, बुधबार १६:५३

भक्तपुर । सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि आज दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल तनावग्रस्त बनेको छ ।

अस्पताल र चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल खारेजी र चिकित्सकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै पीडित पक्षले अस्पताल घेराउ गरेकाले त्यहाँ दिनभर तनाव भएको हो ।

हिजो अपरान्ह पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई– ६ घर भई हाल लोकन्थली बस्दै आएकी २१ वर्षकी मीना विश्वकर्माको राति पौने १२ बजे मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

भक्तपुर अस्पतालमा स्थायी दरबन्दीमा काम गर्दै आएकी प्रसूति रोग विशेषज्ञ डा पौडेल ५:३० बजे पुगेर उपचार सुरु गरेर आइसियुमा राखेपछि बिरामीको राति पौने १२ बजे मृत्यु भएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । अस्पतालका सुपरिटेन्डन प्रो डा राकेश बर्माले अस्पतालमा आएको बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका चिकित्सकको कमजोरी नरहेको दाबी गर्नुभयो ।

आकस्मिक कक्षमा उपचारमा संलग्न डा बजीले प्रक्रिया अनुसार नै उपचार गरेको दाबी गर्दै एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएको र रक्तस्राव भएकाले ज्यान गएको दाबी गर्नुभयो ।

डा पौडेलले भने भक्तपुर अस्पतालको सकेर आउँदा ढिला भएको बताउँदै बिरामीले एक महिना अगाडि खाएको विषको असर र चिकित्सकको सल्लाह विपरित बिहान बाहिरबाट किनेर खाएको औषधिले असर गरेकाले बिरामीको ज्यान बचाउन नसकिएको दाबी गर्नुभयो ।

मृतकको शव नबुझी कारबाहीको माग गर्दै दिनभर अस्पताल हाताभित्र आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेकाले प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर निकै स्थिति तनाव भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१