देशभर गुरुपूर्णिमा पर्व मनाउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७१, शनिबार ०७:५८

काठमाडौं ,२८ असार ।
आफ्ना गुरुप्रति श्रद्धा गरी आज विद्यार्थीहरूले देशभर आचार्य दिवसका रूपमा गुरुपूर्णिमा पर्व मनाउँदैछन । महाभारत, श्रीमद्भागवत, अठार पुराण लगायतका ग्रन्थका रचयिता तथा बेदलाई चार भागमा बिभाजन गर्ने देवर्षी बेदव्यासको जन्म जयन्तिको अबसरमा प्रत्येक बर्षको असार शुक्ल पूर्णिमाको दिन गुरु पुर्णिमा मनाउने गरिन्छ ।guru purnima

प्राचीनकालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई आमाबावु, गुरु र अतिथिलाई देवता मान ९मातृदेव भव, पितृदेव भव, आचार्यदेव भव, अतिथिदेव भव० भनी दिने गरेको शिक्षाले गुरुलाई आमा र बावुलगत्तै उच्च सम्मान दिने गरिएको पाइन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु हो । यस्तो अन्धकार रुपी अज्ञानतालाई हटाउन ज्ञान रुपी उज्यालो शिक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर तथा परब्रह्मस्वरुप मानिन्छ ।

द्वापर युगको अन्त्यतिर आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाको पुत्रका रुपमा व्यासको जन्म भएको हिन्दुग्रन्थमा उल्लेख छ। प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यो पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र जिम्मेबारीको बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरुलाई सम्मान प्रकट गर्ने गर्छन्। आजको दिन विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दिनको रुपमा पनि लिइन्छ।

यसै दिन पशुपति क्षेत्रमा पशुपति महादेवका तर्फबाट उनका गुरु दक्षिणा मूर्तिलाई बाजागाजा आशागुरुजु समेतसहित पशुपतिनाथको मूल भट्टका साथै भण्डार तहसीलका विशेष नाइके, जयबागेश्वरी भण्डारका नाइके, पशुपति अमालकोतका द्वारे तथा रैरकमीहरू गई पूजा गर्ने गर्छन् ।
आज धर्मचक्र प्रवर्तन दिवस पनि हो । भगवान् गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएको हो ।

विद्यार्थीले गुरुलाई विभिन्न मिठाइ र फलफुल दिई खुसी पार्ने र आर्शिवाद लिने गर्छन। आजको दिनले विद्यार्थी र शिक्षकबीचको आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रमा आदर्श र सेवामूलक भई अघि बढ्न निर्देश गर्दछ भन्ने जनविश्वास रहेको छ। पछिल्लो समयमा विद्यार्थीमा बढ्दै गएको उच्छृंखलताका सन्दर्भमा गूरुपूर्णिमाबाट शिक्षा लिनुपर्ने शिक्षाविद्हरु बताउछन ।

प्रतिक्रिया