काठमाडौँ। सवारी चालक अनुमति पत्र लाइसेन्सको म्याद ५ वर्ष रहँदै आएकोमा अब १० वर्षे बनाइने भएको छ। यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन प्रस्ताव सोमबार छलफलका लागि संसदमा पेश गरेको छ।
जुन प्रस्तावित मस्यौदामा एक पटक लाइसेन्स बनाइसकेपछि त्यसको म्याद १० वर्ष राखिने उल्लेख छ। नवीकरण पनि १० वर्षकै अन्तरालमा गरे हुन्छ।
त्यस्तै प्रस्तावित मस्यौदामा लाइसेन्सको ट्रायल फेल भइसकेपछि पुनः परीक्षा दिन ३ महिना कुर्नुपर्ने व्यवस्थालाई १ महिनामा झार्ने प्रस्ताव गरिएको छ। हाल एक पटक ट्रायल फेल भइसकेपछि ३ महिना परीक्षामा सहभागिता गराइँदैन।
त्यसबाहेक लाइसेन्सका लागि उमेरहदमा संशोधन प्रस्ताव गरिएको छ। ठूलो सवारी साधनको लाइसेन्स लिन हाल २१ वर्ष भए पुग्ने व्यवस्था रहेकोमा अव २५ वर्ष बनाइने भएको छ।
त्यस्तै १८ वर्षको भएपछि मझौला तथा सानो सवारी साधनको लाइसेन्स लिन पाइने हालको व्यवस्थालाई बढाएर २१ वर्षको पुर्याइने भएको छ।
१८ वर्ष पुगेपछि मात्रै मोटरसाइकल तथा स्कुटरको लाइसेन्स लिन पाइने व्यवस्था गरिँदैछ। हाल १६ वर्षमै यस्तो लाइसेन्स लिन पाइन्छ।
अब उत्पादनको २० वर्षभन्दा बढी अवधि भइसकेको सवारी साधनको दर्ता हेरफेर तथा नामसारी नहुने भएको छ। यसले गर्दा सडकमा पुराना सवारी साधन विस्थापन हुने यातायात व्यवस्था विभागको विश्वास छ।
विभागले गरेको यो संशोधन प्रस्ताव यातायात मन्त्रालयले संसदमा छलफलका लागि लैजानेछ। संसदबाट पारित भएपछि ऐन संशोधन गराई लागू हुनेछ।
प्रतिक्रिया