आठ प्रकारका रोगको निःशुल्क उपचार गर्ने सरकारको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७३, बिहीबार १६:११
काठमाडौं । सरकारले अब मुटुरोग, मिर्गौला लगायत आठ प्रकारका रोगमा निःशुल्क उपचार गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदलाई सम्बोधन गर्दै विपन्न वर्गका विरामीलाई मुटुरोग, मिर्गौला लगायत आठ प्रकारका रोगमा निःशुल्क उपचार गरिने बताएका छन् ।

त्यसैगरी विसिजी, डिपीटी लगायत ११ प्रकारका रोगविरुद्ध निःशुल्क खोप समेत उपलब्ध गराइने उनले बताए । निजी स्वास्थ्य संस्थाहरुले विसिजी, डिपीटी लगायतका खोपको शुल्क लिने गरेका छन् ।

निजी स्वास्थ्य संस्थाहरुले विपन्नलाई छुट्याइएका निःशुल्क १० प्रतिशत सेवा निश्चित मापदण्डका आधारमा विपन्नले मात्र पाउने गरी तत्कालै जिल्लास्तरीय संयन्त्र बनाउने र त्यसको सिफारिशमा उपचार गर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए ।

बहिरंग सेवा अब ५ बजेसम्म

साथै सरकारले देशभरका स्वास्थ्य संस्थाहरुको बहिरंग सेवाको समय पनि बढाउने भएको छ ।

प्रधानमन्त्री भएपश्चात संसदलाई पहिलोपटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देशभरका स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हँुदै आएको बहिरंग सेवालाई विस्तार गरी विहान १० देखि ५ बजेसम्म बनाइने बताएका छन् ।

सिकलेसल एनिमिया पहिचानमा पहल

थारु समुदायमा देखिएको आनुवंशिक रोग सिकलसेल एनिमिया रोगको पहिचान गर्न सरकारले पहल गर्ने भएको छ । आगामी छ महिनाभित्र कम्तीमा बीस हजार व्यक्तिको डी.एन.ए परीक्षण गरी कार्डको व्यवस्थासँगै जेनेटिक काउन्सिलिङको समेत व्यवस्था गर्ने प्रधानमन्त्रीले बताए ।

यस्तै प्रत्येक स्थानीय तहमा १५ सय शैश्याको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याउने र सबै जिल्ला अस्पतालमा मेडिकल कलेजबाट दक्ष चिकित्सकको सेवा उपलव्ध गराउने उनले बताए ।

सात प्रदेशमा मेडिकल कलेज

प्रधानमन्त्री प्रचण्डले सात वटै प्रदेशमा एक-एक सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गरिने छ ।

यो घोषणा अघिल्लो सरकारले नै गरेको हो र बजेट भाषणमा पनि यो परेको छ । अब सरकारले यसको काम अघि बढाउने बताएको छ ।

अनलाइन खबर बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१